लन्डन । अल्डरसटमा बेलायती महारानी भिक्टोरियाको सम्झनामा भव्य रूपमा ‘भिक्टोरिया डे’ मनाइएको छ ।
ग्रेटर रस्मोरको आयोजनामा भएको कार्यक्रमको संयोजन ग्रेटर रस्मूर नेपाली कम्युनिटी (जीआरएनसी) ले गरेको थियो । शनिबार भएको कार्यक्रममा २० वटा नेपाली संघसंस्थाले भाग लिएका थिए । कार्यक्रम संयोजक संस्थाका उपाध्यक्ष डा. विशाल गुरुङ रहेका थिए ।
कार्यक्रममा २० वटा संघसंस्थाहरूले आ-आफ्नो सांस्कृतिक पहिचान झल्किने परेड र्याली प्रस्तुति गरेका थिए । तमु धीं यूके, सहारा यूके, बीसीसी यूके, किरात याक्थुङ चुम्लुङ रस्मूर शाखा, लमजुङ समाज यूके, मगर संघ रस्मूर शाखा, गोर्खा आमा समूहलगायत संस्थाले भाग लिएका थिए ।

यसैगरी, जीआरएनसी, प्रथम नौमती बाजा, पासा पुछ गुठी युकेको लाखे र लाठी नाच अनि धिमे बाजा साथै च्याब्रुङ, सोरठी, भजन, घाटु, कौडाको साथ नेपाली झाँकी प्रदर्शन गरिएको थियो । झाँकीमा आयोजक जीआरएनसी दोस्रो भएको थियो । अध्यक्ष लिला सेलिङले सबै झाँकी टोलीलाई प्रमाणपत्र प्रदान गरेकी थिइन् ।
जीआरएनसीको कार्यालयमा डेपुटी मेयर जित बेल्बासी, काउन्सिलर उत्तरबहादुर गुरुङ र धनबहादुर सार्की, काउन्सिलर उम्मेदवार डा. विशाल गुरुङ र अनिल थापा तथा अतिथि कलाकार शर्मिला गुरुङलाई पनि अध्यक्षले खादा र फूलको गुच्छा दिएर सम्मान गरेकी थिइन् ।
शर्मिलाले पनि नेपालबाट ल्याएको मायाको चिनोले अध्यक्षलाई सम्मान गरेकी थिइन् । महासचिव ले. रि. सुनिल रानाले कार्यक्रम सञ्चालन गरेका थिए ।

नेपाली कक्षाकी शिक्षक झरना गुरुङलाई बिदाइ गरिएको थियो । अन्त्यमा अध्यक्ष माबोले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएर समापन गरेकी थिइन् ।