लन्डन । बेलायतवासी ब्रिटिस गोर्खा र उनीहरूका सन्ततिको वंशजको नेपाली नागरिकता निरन्तरताबारे वृहत् छलफल भएको छ ।
रेस्टुरेन्टमा एकताको लागि नागरिक आवाज समिति (Citizens' Voice for Unity) (CVU) को आयोजनामा शनिबार, २२ अगस्ट २०२६ का दिन अल्डरसटस्थित ठमेल रेस्टुरेन्टमा छलफल भएको हो ।
छलफल सभामा ब्रिटिस आवासीय अनुमति वा ब्रिटिस सम्मानर्थ अंगीकृत नागरिकता प्राप्त गरेका ब्रिटिस गोर्खाहरू तथा उनीहरूका सन्ततिहरूको वंशजको नेपाली नागरिकता निरन्तरता विषयमा विस्तृत छलफल भएको थियो ।
विशेषगरी यस अभियानमा क्रियाशील BGNCCC र CNCBG बीच एकता, सहकार्य र साझा समझदारी कायम गर्दै नागरिकता निरन्तरताको अभियानलाई अझ सशक्त ढङ्गले अगाडि बढाउने विषयमा बैठकमा गहन छलफल भएको थियो ।
तमु फोरम यूकेका निर्देशक क्याप्टेन राजु गुरुङको अध्यक्षतामा सम्पन्न बैठक Citizens’ Voice for Unity (CVU) का सदस्य दीर्ग गुरुङ र मनोज पुनले सञ्चालन गरेका थिए ।
कार्यक्रमका सञ्चालक दीर्ग गुरुङले Citizens’ Voice for Unity (CVU) को उद्देश्यबारे स्पष्ट पारेका थिए । “Citizens’ Voice for Unity कुनै नयाँ वा वैकल्पिक संगठन होइन । यो BGNCCC, CNCBG लगायत नागरिकता निरन्तरताको अभियानमा संलग्न सम्पूर्ण ब्रिटिस गोर्खाहरूबीच संवाद, सहकार्य, विश्वास र एकताको वातावरण निर्माण गर्ने उद्देश्यले गठन गरिएको अस्थायी, स्वतन्त्र तथा स्वयंसेवी नागरिक समन्वय समिति मात्र हो,” उनले भने ।
उनले BGNCCC र CNCBG दुवै संस्थालाई एकता बैठकमा सहभागी हुनका लागि औपचारिक निमन्त्रणा पत्र पठाइएको भए तापनि CNCBG बैठकमा उपस्थित नभएको जानकारी गराए । CNCBG को अनुपस्थितिप्रति बैठकमा सहभागी सदस्यहरूले दुःख व्यक्त गरेका थिए।
बैठक दुई चरणमा सञ्चालन गरिएको थियो। पहिलो चरणमा BGNCCC का पदाधिकारी तथा अभियन्ताहरूलाई आफ्ना धारणा राख्न पर्याप्त समय उपलब्ध गराइएको थियो भने दोस्रो चरणमा उहाँहरूले प्रस्तुत गरेका विचारमाथि उपस्थित सदस्यहरूलाई प्रतिक्रिया तथा सुझाव राख्ने अवसर दिइएको थियो ।
पहिलो चरणमा BGNCCC का प्रमुख सल्लाहकार कृष्णबहादुर राई र BGNCCC UK का प्रमुख संयोजक लेफ्टिनेन्ट हरि गुरुङले सम्बोधन गरेका थिए । उनीहरूले नागरिकता निरन्तरतासम्बन्धी अभियान सरकारको ढोकासम्म पुगिसकेको उल्लेख गर्दै CNCBG लाई एकतामा आउन आग्रह गरे । फुटेर होइन, जुटेर मात्रै अभियान सफल बनाउन सक्ने बताए । साझा उद्देश्यका लागि दुवै संस्था एकजुट हुनुपर्नेमा सबैको जोड थियो ।
-1787486683.jpg)
त्यसैगरी, BGNCCC का महासचिव होम सुनुवार किरातले ब्रिटिस गोर्खा र उनीहरूका सन्ततिको वंशजको नेपाली नागरिकता निरन्तरतासम्बन्धी एजेन्डा संविधान संशोधन समितिबाट पारित भई सरकारको बहसपत्रको १५ नम्बर बुँदामा प्रवेश गरेको जानकारी गराए ।
छलफलका क्रममा श्रम संस्कृति पार्टी यूकेका संयोजक राम इजम, सत्याग्रहका अनशनकारी धन गुरुङ, पहिलो महिला अनशनकारी पुष्पा राणा घलेलगायत धेरै सहभागीहरूले आ–आफ्ना विचार राखेका थिए । अधिकांश वक्ताले सरकारको बहसको विषय बनिसकेको नागरिकता निरन्तरताको मुद्दालाई सफल बनाउन BGNCCC र CNCBG बीच एकताको विकल्प नरहेको धारणा व्यक्त गरे ।
बैठकमा Citizens’ Voice for Unity ले CNCBG लाई एकताका लागि पुनः एकपटक अन्तिम औपचारिक पत्र पठाउनुपर्ने प्रस्ताव प्रस्तुत गरिएको थियो । उक्त प्रस्तावलाई उपस्थित सम्पूर्ण सदस्यहरूले सर्वसम्मत रूपमा पारित गरेका थिए ।
अन्त्यमा, सभाध्यक्ष क्याप्टेन राजु गुरुङले ‘एकता नै अन्तिम विकल्प हो’ भन्दै BGNCCC, CNCBG लगायत सम्पूर्ण ब्रिटिस गोर्खा समुदायलाई साझा अधिकार र उद्देश्यका लागि एकजुट हुन आह्वान गर्दै सभा समापन गरे ।