लण्डन । घान्द्रुक काम्चे कोने खलक युकेको १५औँ वार्षिक भेटघाट कार्यक्रम गत शनिबार ५ सेप्टेम्बरका दिन फानबोरोस्थित ग्रेन्ज स्कुलमा भव्यताका साथ सम्पन्न भएको छ ।
कार्यक्रममा बेलायत भ्रमणमा रहनुभएकी तिलगंगा आँखा अस्पताल काठमाडौँकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. रीता गुरुङको विशेष उपस्थिति रहेको थियो । समारोहलाई सम्बोधन गर्दै डा. गुरुङले भने “हामी सबैले पढ्नुपर्छ, नपढिकन हामी कहिँ पनि पुग्न सक्दैनौं ।” उनले युकेमा रहेका आफ्नै परिवारका नयाँ पुस्तालाई अध्ययन र सिकाइलाई पहिलो प्राथमिकतामा राख्न प्रेरणा दिईन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को बिशेष कार्यक्रममा भाग लिई बेलायतको बिशेष कार्यक्रममा समेत भाग लिन लण्डन आईपुगेकी डा. गुरुङले परिवारका सदस्यहरुसंग भेट्न पाउँदा अत्यन्त खुशी भएको बताईन् ।
सन् २०१२ मा स्थापना भएको यस खलकको वार्षिक भेटघाटको उद्घाटन संस्थापक अध्यक्ष गुणराज गुरुङ तथा ज्येष्ठ नागरिकद्वय गम प्रसाद गुरुङ र कुल बहादुर गुरुङले संयुक्त रूपमा दीप प्रज्वलन गरेका थिए ।
खलकका फुपू–पुसाइँ, छोरी–ज्वाइँ, भान्जाभान्जीहरुलाई समेत आमान्त्रण गरिएको कार्यक्रममा विशेष अतिथि डा. रीता गुरुङका साथै लामा फाउन्डेसन नेपालका अध्यक्ष एवम् चलचित्रकर्मी लामा अमृत गुरुङ र नायिका रजनी गुरुङलाई विशेष सम्मान गरियो ।
यसै गरी उच्च शिक्षा हासिल गर्ने, विभिन्न पेसागत पदोन्नति पाएका, नयाँ व्यवसाय सुरु गरेका तथा वैवाहिक बन्धनमा बाँधिएका खलकका सदस्यहरूलाई खदा ओढाएर बधाई एवम् सम्मान व्यक्त गरिएको थियो ।
बेलायतका विभिन्न स्थानमा बसोबास गर्ने सदस्यहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा हालै नेपालको भोटेकोशीमा आएको भिषण बाढीका कारण ज्यान गुमाएका विभिन्न व्यक्तिहरुका साथसाथै यसबर्ष स्वर्गारोहण भएका खलकका सदस्य र पितृहरूप्रति १०८ वटा दीप प्रज्वलन गरी १ मिनेट मौन धारणसहित श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
विषम परिस्थितिका कारण यस वर्ष कुनै पनि सांस्कृतिक वा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएन। त्यसको साटो तम्बुला खेल सञ्चालन गर्दै एकअर्कामा सुख-दुख साटेका थिए ।
कार्यक्रममा खलकका अध्यक्ष क्याप्टेन चन्द्र बहादुर गुरुङ नेपालमा रहेकाले उपाध्यक्ष ज्ञान गुरुङले स्वागत मन्तव्य दिएका थिए भने सचिव कृष्ण गुरुङले कार्यक्रम संचालन गरेका थिए ।


