लन्डन । बेलायतस्थित नेपाली समुदायको सबैभन्दा ठूलो सांस्कृतिक जमघटमध्ये एक मानिने १७औँ नेपाली मेला आइतबार, ३० अगस्ट २०२६ मा लन्डनको केम्पटन पार्क रेसकोर्समा भव्य रूपमा सम्पन्न भएको छ। १० हजारभन्दा बढी नेपालीको सहभागिता रहेको मेलाले नेपाली कला, संस्कृति, परम्परा र सामुदायिक एकताको उत्सवसँगै नेपालमा बाढीपहिरोबाट प्रभावित नागरिकका लागि मानवीय सहयोगको बलियो सन्देश दिएको छ।
तमु धीं यूकेको आयोजना तथा नेपाली दूतावास लन्डनको सहकार्यमा आयोजित मेलामा बेलायतभरिका नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको थियो। आयोजकका अनुसार यो नेपाली मेलाको इतिहासमै सबैभन्दा ठूलो सहभागिता हो।
‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नाराका साथ आयोजना गरिएको मेलामा नेपाली समाजको विविधता, मौलिक संस्कृति, भेषभूषा, कला तथा परम्परा झल्काउने झाँकी, नृत्य र सांस्कृतिक प्रस्तुतिले केम्पटन पार्कलाई दिनभर नेपालमय बनाएको थियो।
मेलाको अध्यक्षता तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले गरेका थिए भने कार्यक्रमको संयोजन संस्थाका उपाध्यक्ष तथा मेला संयोजक कमल गुरुङले गरेका थिए। मेलालाई सफल बनाउन तमु धीं यूकेको कार्यसमिति, आमा समूहकी अध्यक्ष कमलादेवी गुरुङ तथा सदस्यहरू लगायत करिब २०० स्वयंसेवक सक्रिय रूपमा परिचालित भएका थिए।
बाढीपीडितका लागि सहयोग
यस वर्षको नेपाली मेलाको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको नेपालका बाढीपीडितका लागि आर्थिक सहयोग जुटाउनु रहेको छ।
मेलाबाट संकलित रकम तथा अरु पनि रकम थप गरी तत्कालै नेपालका बाढीपीडितको सहयोगका लागि पठाइने भएको छ।
मेला संयोजक तथा तमु धीं यूकेका उपाध्यक्ष कमल गुरुङले गोर्खा मिडियासँग कुरा गर्दै मेलाबाट उठेको रकमसँगै तमु धींको खातामा रहेको रकमसमेत प्रयोग गरी तत्काल सहयोग रकम नेपाल पठाउने जानकारी दिएका हुन्।
उनले बाढीपीडितका लागि सहयोग जुटाउने अभियान यत्तिमै नरोकिने स्पष्ट पार्दै सहयोग संकलनका लागि तमु धीं यूके निरन्तर लागिरहने बताए।
नेपालमा बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भइरहेका बेला तमु धीं यूकेले मेला आयोजना गर्नुअघि नै मेलाबाट हुने सम्पूर्ण बचत रकम विपद् प्रभावितको सहयोगमा प्रदान गर्ने घोषणा गरेको थियो। सोही प्रतिबद्धतालाई व्यवहारमा उतार्दै तत्काल ठूलो रकम नेपाल पठाउने निर्णय गरिएको हो।
मेलाकै दिनमा £५,११३.३२ रकम संकलन भएको आयोजकले जनाएको थियो। मेलाबाट हुने सम्पूर्ण नाफा बाढीपीडितको सहयोगमा प्रदान गर्ने घोषणा आयोजकले गरेको थियो।
कमल गुरुङका अनुसार नेपाली मेला केवल संस्कृति र मनोरञ्जनको उत्सव नभई विपद्का बेला मातृभूमिसँग जोडिने माध्यम पनि हो। विदेशमा रहेर पनि नेपालमा आइपरेको दुःखमा सहयोग गर्नु नेपाली समुदायको सामाजिक उत्तरदायित्व भएको उनले बताए।
४२ संस्थाको झाँकी, २१ समूहको नृत्य
मेलाको प्रमुख आकर्षण विभिन्न नेपाली संघसंस्थाले प्रस्तुत गरेका मौलिक झाँकी तथा सांस्कृतिक नृत्य बनेका थिए। बेलायतभरिका ४२ नेपाली संघसंस्थाले झाँकीमा सहभागिता जनाएका थिए भने २१ समूहले नृत्य प्रतियोगितामा भाग लिएका थिए।
विभिन्न जातजाति, समुदाय र क्षेत्रका मौलिक भेषभूषा, संस्कृति, परम्परा तथा पहिचान झल्काउने झाँकीले मेलास्थललाई नेपालकै विविध सांस्कृतिक उत्सवको स्वरूप दिएको थियो।
झाँकीको निर्णायक मण्डलमा नेपालबाट आएका राजु गुरुङ, दीप कोके गुरुङ, ओमप्रसाद गुरुङ, पशुपति राई र श्रीजना सुब्बा रहेका थिए।
नृत्य प्रतियोगिताका निर्णायकमा नेपालबाट आएका कलाकार रजनी गुरुङ (मंगली), लक्ष्मी गुरुङ तथा बेलायतका नृत्य तथा कोरियोग्राफी क्षेत्रका कविता घर्तीमगर गुरुङ र कर्म पहाडी शेर्पा रहेका थिए। झाँकी तथा नृत्य कार्यक्रमको समन्वय एकेन्द्र गुरुङले गरेका थिए।

पासा पुचः गुठी यूकेलाई तेस्रो पटक एम्बासडर कप
यस वर्षको एम्बासडर कप २०२६ झाँकी तथा नृत्य दुवै विधामा उत्कृष्ट प्रदर्शन गर्ने पासा पुचः गुठी यूकेले जितेको छ।
एम्बासडर कपतर्फ:
प्रथम – पासा पुचः गुठी यूके
द्वितीय – मगर संघ यूके
तृतीय – किरात राई यायोक्खा यूके
एम्बासडर कपको पुरस्कार राशि यस वर्ष वृद्धि गरेर £१,५०० पुर्याइएको थियो। प्रथम रनरअपले £७०० तथा द्वितीय रनरअपले £५०० प्राप्त गरेका छन्। पुरस्कारको प्रयोजक क्रमशः हर्क र जगना गुरुङ दम्पत्ती, माया बुटिक, किसन जि सीले गरेका थिए।
त्यसैगरी एनआरएनए कप पनि पासा पुचः गुठी यूकेले जितेको छ। एनआरएनए कपको पुरस्कार राशि यस वर्ष £५०० पुर्याइएको थियो।
नृत्य प्रतियोगितातर्फ:
प्रथम – तनहुँ समाज यूके
द्वितीय – पासा पुचः गुठी यूके
तृतीय – किरात राई यायोक्खा यूके
झाँकी प्रतियोगितातर्फ:
प्रथम – पासा पुचः गुठी यूके
द्वितीय – मगर संघ यूके
तृतीय – बर्न्ट ओक समाज यूके
विशिष्ट अतिथिको सहभागिता
मेलाको औपचारिक उद्घाटन बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले गरेका थिए। कार्यक्रममा विशेष अतिथिका रूपमा मिङ्मा डेभिड शेर्पा, इन्दिरा राना मगर, मंगोलियन हर्टका गायक राजु लामा तथा ब्रिगेडियर जनरल अनुप शाह लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपाली कला, संस्कृति, समाजसेवा तथा सामुदायिक क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो। तमु धीं यूकेको तर्फबाट विभिन्न क्षेत्रमा प्रेरणादायी योगदान पुर्याउने व्यक्तित्वहरूलाई ‘इन्स्पायरिङ पर्सन अफ द इयर’ सम्मान प्रदान गरिएको थियो।
कोको भए सम्मानित?
काउन्सिलर निना गुरुङ – मेडवे बरो काउन्सिलकी पूर्व मेयर
बिमला सेनी – नेपाल पत्रकार महासंघ (FNJ) यूके अध्यक्ष
डा. दूत पुन र नगेन्द्र नेम्बाङ - ऐभरेष्ट टाइम्स
ग्रान्डमास्टर तुलसीकुमार गुरुङ रहेका छन्।
नेपाली कला र संगीतले थप्यो रौनक
मेलामा दिनभर विभिन्न सांस्कृतिक कार्यक्रम, गीतसंगीत, नृत्य तथा मनोरञ्जनात्मक प्रस्तुति प्रस्तुत गरिएको थियो। नेपालबाट आएका गायक प्रिय गुरुङ र दुर्गा गुरुङले सांगीतिक प्रस्तुति दिएका थिए।
स्टेज कार्यक्रमको सञ्चालन सूर्य गुरुङ, योगेश गुरुङ, दुर्गा गुरुङ, शिवाङ्गी गुरुङ र हेलिशाले गरेका थिए। तमु धीं यूकेको औपचारिक कार्यक्रमको सञ्चालन महासचिव डा. विशाल गुरुङ र सचिव बिमल गुरुङले गरेका थिए।
संस्कृति, पहिचान र सेवाको संगम
बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन भएको मेलामा झाँकी, नृत्य तथा सांस्कृतिक कार्यक्रमसँगै नेपाली खानाका स्टल, व्यापारिक तथा च्यारिटी स्टल, स्वास्थ्य शिविर र राफल ड्रलगायतका गतिविधि सञ्चालन भएका थिए।
यस वर्षको मेला मनोरञ्जन र सांस्कृतिक प्रस्तुतिमा मात्र सीमित रहेन। नेपालमा विपद्मा परेका नागरिकका लागि सहयोग जुटाउँदै ‘विदेशमा रहे पनि मातृभूमिको दुःखमा नेपाली समुदाय एकजुट हुन्छ’ भन्ने सन्देशलाई व्यवहारमै प्रस्तुत गरेको छ।
तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ तथा मेला संयोजक कमल गुरुङले मेलालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संघसंस्था, स्वयंसेवक, कलाकार, निर्णायक, प्रायोजक, अतिथि तथा बेलायतवासी नेपाली समुदायप्रति आभार व्यक्त गरेका छन्।
१० हजारभन्दा बढी नेपालीको सहभागिता, ४२ संस्थाको झाँकी, २१ समूहको नृत्य र बाढीपीडितका लागि तत्काल विशेष सहयोग पठाउने प्रतिबद्धतासहित १७औँ नेपाली मेला संस्कृति, पहिचान, सामुदायिक एकता र मानवीय सेवाको सशक्त संगम बनेर सम्पन्न भएको छ।