मिचेट । स्वास्थ्य तथा जनचेतनामूलक संवाद कार्यक्रम ‘कुराकानी’ अनलाइन २००औँ शृङ्खलामा प्रवेश गरेको अवसरमा विशेष समारोह आयोजना गरी उत्सव मनाइएको छ।
कार्यक्रमका सञ्चालक शुष्मा गुरुङ र डा. विशाल गुरुङले शुभचिन्तक, सामाजिक अभियन्ता, विभिन्न क्षेत्रका पेशागत व्यक्तित्व तथा संस्थाका प्रतिनिधिहरूलाई आमन्त्रण गरी गत शुक्रबार, ११ सेप्टेम्बर २०२६, मिचेटस्थित तमु धीं भवनमा विशेष कार्यक्रम आयोजना गरेका हुन्।
पण्डित मधु सुदन सत्यालले वैदिक मन्त्र उच्चारण गरी कार्यक्रमको शुभारम्भ गरेका थिए। करिब ५० जनाको सहभागिता रहेको कार्यक्रममा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, तमु धीं आमा समूहकी अध्यक्ष कमलादेवी गुरुङ, ग्रेटर रश्मोर नेपाली कम्युनिटीका अध्यक्ष लीला सेलिङ माबो, शिव कल्चरल एन्ड कम्युनिटी सेन्टर अल्डरसटका अध्यक्ष हरि भट्टराई लगायत विशिष्ट महनुभावहरुको उपस्थिति थियो।

कार्यक्रममा शुष्मा गुरुङ, डा. विशाल गुरुङ तथा उपस्थित अतिथिहरूले संयुक्त रूपमा केक काटेर ‘कुराकानी’को २००औँ शृङ्खलाको सफलताको खुसी साटासाट गरेका थिए।
कार्यक्रमको अर्को आकर्षण बालबालिकाको प्रस्तुति पनि रह्यो। अञ्जनी दर्शनी गुरुङ, सुयोग दर्शन गुरुङ, प्रिसा दर्शनी गुरुङ र अभ्यान गुरुङले नेपाली राष्ट्रिय गान लाइभ प्रस्तुत गर्नुका साथै नृत्य प्रस्तुत गरेका थिए।
समारोहमा विभिन्न विधाका प्रोफेसनल तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै सञ्चालक शुष्मा गुरुङले ‘कुराकानी’को सुरुवातदेखि २००औँ शृङ्खलासम्मको यात्राबारे जानकारी दिइन्। उनले आफ्नो सोच र परिकल्पनाबाट सुरु भएको कार्यक्रमलाई निरन्तरता दिन डा. विशाल गुरुङलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूबाट प्राप्त सहयोग महत्वपूर्ण रहेको बताइन्।
त्यस्तै, डा. विशाल गुरुङ कसरी ‘कुराकानी’को टोलीमा जोडिए र कार्यक्रमलाई निरन्तर अघि बढाउन उनको भूमिका कस्तो रह्यो भन्ने विषयमा पनि कार्यक्रममा चर्चा गरिएको थियो।
कार्यक्रममा उपस्थित अतिथिहरूले पालैपालो ‘कुराकानी’ टोलीलाई २००औँ शृङ्खला पूरा गरेकोमा बधाई तथा शुभकामना दिँदै कार्यक्रमले स्वास्थ्य, सामाजिक सचेतना र जानकारीमूलक सामग्रीमार्फत समुदायमा पुर्याएको योगदानको प्रशंसा गरेका थिए।
‘कुराकानी’ टोलीलाई शुभकामना तथा बधाई दिनेहरूमा किरण मगर, हरि भट्टराई, लीला सेलिङ माबो, गोमा राना, प्रकाश गुरुङ, डा. विजय भण्डारी, शोम थापा, विशाल खनाल, डमर घले, तेजबहादुर, मिलन रोका, शोम घले, जुमकाजी गुरुङ लगायत रहेका थिए।
‘कुराकानी’को २०० शृङ्खलाको यात्रा
कार्यक्रमपछि सञ्चालक शुष्मा गुरुङले सामाजिक सञ्जालमार्फत ‘कुराकानी’को २००औँ शृङ्खलासम्मको यात्रालाई स्मरण गर्दै सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेकी छन्।
उनले भगवानको कृपा र आशीर्वादले ‘कुराकानी’ छोटो समयमै २००औँ शृङ्खलासम्म पुग्न सफल भएको उल्लेख गर्दै यो उपलब्धिले आफूलाई खुसीसँगै थप जिम्मेवारीको अनुभूति गराएको बताएकी छन्।

करिब चार वर्ष लामो यात्रामा विभिन्न क्षेत्रका विशेषज्ञ चिकित्सक, फार्मासिस्ट, नर्स, सामाजिक अगुवा, सामाजिक कार्यकर्ता, समाजसेवी तथा समुदायलाई सुसूचित गराउने उद्देश्य बोकेका व्यक्तिहरूको निरन्तर सहयोग र सद्भावले कार्यक्रम यहाँसम्म आइपुगेको उनको भनाइ छ।
शुष्मा गुरुङले डा. विशाल गुरुङलाई आफ्नो यात्राको पहिलो सहयात्रीका रूपमा उल्लेख गर्दै २००औँ शृङ्खला पूरा गर्न उनको निरन्तर साथ र सहयोग महत्वपूर्ण रहेको बताएकी छन्।
उनले लेखेकी छन्, “कुराकानीलाई यहाँसम्म ल्याउनमा मद्दत गर्नुहुने मेरा कुराकानी परिवार, विविध विषयका विशेषज्ञ डाक्टर, फार्मासिस्ट, बहुआयामिक क्षेत्रमा लाग्नुभएका नर्सहरू, सामाजिक अगुवा, सामाजिक कार्यकर्ता, समाजसेवी र समाजलाई हरेक तरिकाले सुसूचित गरौँ भन्ने पवित्र भावना हुनुभएका तपाईंहरू सबैको सहायता र सदाशयताले आज कुराकानीको २०० शृङ्खला पूरा भएको हो।”
‘कुराकानी’को परिवार अब ठूलो भइसकेको बताउँदै उनले आगामी दिनमा पनि सबैको सहकार्य र सहभागिताबाट कार्यक्रमलाई अझ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।
“यो सफलताको भागीदार तपाईंहरू सबै हुनुहुन्छ। अब कुराकानीको परिवार ठूलो भएको छ। हामी सबै मिली कुराकानीको यो यात्रामा अगाडि बढ्नुपर्ने छ। सबै जना मिली यसलाई अघि बढाउनु हामी सबैको दायित्व पनि हो,” उनले उल्लेख गरेकी छन्।
विभिन्न संस्था, संयोजक, समाजसेवी तथा सञ्चारकर्मीहरूलाई समेत ‘कुराकानी परिवार’कै सदस्यका रूपमा सम्बोधन गर्दै उनले आगामी दिनमा पनि निरन्तर सहकार्यको अपेक्षा व्यक्त गरेकी छन्।
चार वर्षको यात्रामा २००औँ शृङ्खला पार गरेको ‘कुराकानी’ले आगामी दिनमा स्वास्थ्य तथा सामाजिक जनचेतनाका विषयलाई अझ प्रभावकारी रूपमा समुदायसमक्ष पुर्याउने अपेक्षा गरिएको छ।