बेलायत । नेपाली चलचित्र ‘पेन्सन पट्टा’ बेलायतको अल्डरसटमा पनि हाउसफूल भएको छ । प्रिन्सेस हलमा फिल्म हेर्न गएका दर्शकले फिल्म निकै राम्रो बनेको र आफूहरुको जीवनसँग मेल खाने प्रतिक्रिया दिएका छन् ।
१२ सेप्टेम्बर शनिबारका दिन भएको प्रदर्शनको सुरुआतमा औपचारिक कार्यक्रम भएको थियो । टंक मार्टिनले सञ्चालन गरेको औपचारिक कार्यक्रममा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ प्रमुख अतिथि रहेका थिए । सुरुमा कलाकारहरू गौमाया गुरुङ, पशुपति राई र गौमायाको परिवारलाई स्टेजमा बोलाएका थिए ।
उनीहरूलाई प्रमुख अतिथि तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ र तमु धीं यूके आमा समूहका अध्यक्ष कमला देवी गुरुङले खादा र फूलको गुच्छाले स्वागत गरे । त्यसपछि कलाकारहरू गौमाया गुरुङ र पशुपति राईले आफ्नो भनाइ राखेका थिए । प्रमुख अतिथि जुमकाजी गुरुङले शुभकामना मन्तव्य दिएसँगै फिल्म सुरु भयो । दर्शकको चाप बढेकाले फिल्म तोकिएभन्दा १५ मिनेट ढिला गरी सुरु भएको थियो ।
फिल्म हेरिसकेपछि फिल्मकर्मी एकेन्द्र गुरुङले फिल्म राम्रो प्रतिक्रिया दिए । यस्तै, तमु धीं यूकेका पूर्वअध्यक्ष हरि गुरुङ, वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, सल्लाहकार डेबिट गुरुङ, कुमार गुरुङ, भरत गुरुङ लगायत दर्शक सबैले फिल्मले मन जितेको प्रतिक्रिया दिए । यस फिल्मको प्रदर्शनबाट उठेको पैसामध्ये १ लाख रुपैयाँ तमु धीं यूकेमार्फत नेपालका बाढीपीडितलाई दिने निर्माताले जनाएका छन् ।
लाहुरे परिवेशमा बुनिएको कथा र विशेष पेन्सनपछिको जीवनका उतारचढाव र प्रेमको गहिराइलाई चलचित्रले निकै रोचक ढंगले प्रस्तुत गरिएको छ । फिल्ममा दयाहाङ राई, गौमाया गुरुङ, पशुपति राई, विल्सन विक्रम राई, बुद्धी तामाङ, सुरज तमु, माया गुरुङ, विश्वास गुरुङ, सोल गुरुङ, डिबी गुरुङ, सुनिल थापा र मनिता गुरुङलगायतका कलाकारको अभिनय छ ।
अन्त्यमा निर्माताद्वय मीनप्रसाद गुरुङ र भोज गुरुङले व्यस्तताका बाबजुद फिल्म हेर्न आएर नेपाली फिल्मलाई माया गरेकोमा सबैलाई धन्यवाद दिए । अर्को सो पनि अल्डरसट मै हुने छ । त्यसको समय पछि जानकारी गराइने छ । प्लमस्टिट र न्युनटनमा पनि प्रदर्शन गर्ने तयारी छ ।