स्विन्डन । स्विन्डनमा सम्पन्न विश्व नेपाली साहित्य महासंघ यूके पश्चिम शाखाको दोस्रो अधिवेशनले गोमा रानालाई नयाँ अध्यक्षमा चयन गरेको छ । ५ सेप्टेम्बर २०२६ मा द टनर रेस्टुरेन्टमा भएको उक्त अधिवेशनले रानाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा घोषणा गरेको हो।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा शान्ति लिम्बु, उपाध्यक्षमा जीत बुढाथोकी, सचिवमा गंगा भण्डारी र कोषाध्यक्षमा राजेन्द्र राई चुनिएका छन्। यस्तै सदस्यहरूमा हेम राई, कमला गुरुङ, रोजी राई, प्रिन्स राई, अन्जान किरात र होमा लिम्बू रहेका छन् भने संस्थाको संरक्षकको जिम्मेवारी डा. सुमाया राईलाई दिइएको छ। नयाँ पदाधिकारीहरूले बेलायतमा नेपाली भाषा, कला र साहित्यको विकासमा थप ऊर्जाका साथ लाग्ने अठोट व्यक्त गरे।
विश्वासदीप तिगेलाको संयोजकत्वमा बनेको निर्वाचन समितिले नयाँ नेतृत्व चयनको प्रक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो। अधिवेशनको पहिलो सत्र तत्कालीन अध्यक्ष लाल सुन्दर राईको अध्यक्षतामा सुरु भएको थियो। कार्यक्रममा मुलिबीर राई प्रमुख अतिथि र एनआरएनएका उपाध्यक्ष विश्वासदीप तिगेला विशेष अतिथिका रूपमा सहभागी थिए। सो क्रममा संस्थाको वार्षिक कार्यप्रगति र आर्थिक प्रतिवेदन प्रस्तुत गरी व्यापक छलफलपछि अनुमोदन गरिएको थियो।
साहित्यिक जमघटको सोही अवसरमा तीनवटा कृतिहरूको सामूहिक विमोचन समेत गरियो। विमोचित हुने पुस्तकहरूमा डा. सुमाया राईको ‘जिन्दगी फूल सम्झे फूलै हो’, शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ र सेमन्त राईको ‘अँधेरीमा जून’ रहेका छन्। विमोचित कृतिहरूका विषयमा नरेश काम्बाङ राई, विश्वासदीप तिगेला र मुकेश राईले समीक्षात्मक टिप्पणी राखेका थिए। समीक्षापछि कृतिकारहरूले आफ्ना सिर्जना र लेखन अनुभवबारे प्रस्ट पारे।
जीत बुढाथोकी र गंगा भण्डारीले सञ्चालन गरेको उक्त कार्यक्रममा गोमा रानाले स्वागत मन्तव्य राखेकी थिइन्। कार्यक्रममा विभिन्न साहित्यिक व्यक्तित्वहरूले आ–आफ्ना रचना वाचन गरेर माहोललाई काव्यमय बनाएका थिए। उक्त भेलामा मगर संघ यूकेका विष्णु श्रीस मगर, किरात राई यायोक्खा स्विन्डनकी अध्यक्ष कल्पना राई, रघु भण्डारी, होम किरात सुनुवार, सुनिता राई लगायतका स्थानीय साहित्यप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

