कास्की पोखराको बीपीमार्गमा जन्मिनुभएकी सलोमी गुरुङ सानैदेखि गायनमा रुचि राख्नुहुन्थ्यो । उहाँ टेलिभिजन रियालिटी शो नेपाल आइडलको पाँचौं संस्करणमा उपविजेता (फस्ट रनरअप) बन्नुभयो । नेपाल आइडलको यात्रादेखि गायिकाको रुपमा चिनिन थालेकी उहाँ संगीतमै करिअर बनाउने लाइनमा हुनुहुन्छ । सांगीतिक कार्यक्रमको सिलसिलामा अहिले सलोमी बेलायत आउनुभएको छ । २१ डिसेम्बर २०२५ मा तमु धीं यूकेको निमन्त्रणामा बेलायत आउनुभएकी सलोमीसँग गोर्खा मिडियाको हिँड्दा-हिँड्दै शृंखलामा मिलन तमुले गर्नुभएको कुराकानी ।
तपाईं नेपालमा कुन ठाउँ बस्नुहुन्छ र गायन मात्र कि त्यसबाहेक केही गर्नुहुन्छ ?
म नेपालको पोखरामा बस्छु । सिंगिङको साथसाथै टिचिङ पनि गर्छु । मन्टेश्वरीमा बच्चाहरुलाई पढाउने काम । अहिले बेलायत भ्रमणमा आउँदा स्कुलमा छुट्टी लिएर आएको हुँ ।
संगीत क्षेत्रमा कहिलेदेखि लाग्नुभयो ?
म सानैदेखि गीत गाउँथे । मान्छेहरुले अलि चिन्न थालेको नेपाल आइडलबाट नै हो । त्यहाँ हामीले फेम, नेम कमाउने ठाउँ हो । आफ्नो कला देखाउने ठाउँ । नेपाल आइडलबाट चाहिँ पब्लिक फिगर भयो भनौं । त्योभन्दा अगाडि पनि पोखरामा रेस्टुरेन्ट, पबहरुमा गीत गाउँथे । रेकर्डिङहरु पनि गर्थें ।
नेपाल आइडलमा चाहिँ कसरी प्रवेश गर्नुभयो त ?
नेपाल आइडल मैले पहिल्यैदेखि हेर्दै आएको कार्यक्रम हो । ओहो !भन्ने त लाग्थ्यो तर त्यहाँ कहिल्यै पनि जान मन लागेको होइन, फ्याक्ट कुरा गर्नु पर्दा । गीतचाहिँ गाउने तर रियालिटी शोहरुमा जान चाहिँ डर लाग्ने । किनकि म्युजिक सिकेको पनि छैन । राम्रो-राम्रो सिकेकाहरु आउनुहुन्छ । म केही पनि नजान्ने मान्छे गएर के हुने हो भन्ने डर लाग्थ्यो । भन्दाभन्दै नेपाल आइडलमा गएर फस्ट रनरअप पनि भएँ । त्यहाँ जानुमा सिजन ३ की मुस्कान दिदी हुनुहुन्थ्यो । उहाँले पोखरामा अडिसन हुँदैन छ, आउ भनेर फोन गर्नुभयो । तर, म रेडी छैन भनेर दिदीलाई 'नो' नै भनेँ । तर अर्को मेरो यूकेमा दिदी हुनुहुन्छ, उहाँले 'मेरो लागि भए पनि एकचोटी गइदेउ न' भनेर एकदमै फोर्स गर्नुभयो । उहाँ त्यतिबेला पोखरामै हुनुहुन्थ्यो । मन लाग्दैन भने अर्को राउन्डमा नजाउ भनेर एकदमै कन्भिन्स गर्नुभयो । त्यसपछि अडिसन दिएँ । नम्बर टाँसेको फोटो पठाउँदा मेरो फ्यामिली पनि एकदमै खुसी हुनुभयो ।

नेपाल आइडलमा जाँदाखेरी कस्तो अनुभव भयो ?
सुरुमा अडिसनमा गीत गाइसकेपछि जजेजहरुको रियाक्सन देख्दा मैले राम्रो गाएछु जस्तो फिल हुन्थ्यो । अर्को अर्को राउन्ड पुग्दाखेरी न्ह्यू बज्राचार्य, इन्दीरा जोशी, कालीप्रसाद बास्कोटा सरले 'तिम्रो स्वर राम्रो छ । प्रोफेसनल ढंगले गाउँदारहेछौ' भनेर राम्रो राम्रो कमेन्ट गर्दा मलाई एकदमै पोजेटिभ इनर्जी आएको फिल हुन्थ्यो । त्यसपछि संगीत नसिके पनि मसँग यत्तिको क्षमताचाहिँ रहेछ है भन्ने फिल भयो ।
तपाईं नेपाल आइडलको सिजन ५ मा त्यो स्थानसम्म पुग्नुमा निर्णायक र दर्शकको पनि हात छ, उहाँहरुलाई केही भन्नुहुन्छ कि ?
कला सँगसँगै ब्याक सपोर्ट हुनुपर्छ । बलियो खम्बा बन्नका लागि सपोर्ट गर्नुहुने सम्पूर्ण दर्शक महानुभावहरुलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु । मलाई भोट गरेर अगाडि बढाइदिनुभयो । मलाई माया त्यत्तिकै दिनुभयो । मेरो गायन कलालाई त्यत्तिकै सपोर्ट गर्नुभयो । एकदमै धेरै धन्यवाद ।
बेलायतमा पनि तमु धीं यूकेलगायत संघसंस्थाले मलाई भोट गराउनुभयो । मेरो म्युजिक करिअरका लागि उहाँहरुको कमाइबाट मुठी खोलेर भोट गर्नुभयो । विशेष धन्यवाद यूकेमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई । यूकेमा थ्री सिस्टर्स आन्टिहरु हुनुहुन्छ (दिलमाया आन्टी, हेलिशा आन्टी र बिनु आन्टी) उहाँहरुले नेपाल आइडलका बेला हाम्रो सलोमीलाई अगाडि बढाउनुपर्छ भनेर यूकेमा धेरै मिहिनेत गर्नुभयो, त्यसका लागि थ्री सिस्टर्स आन्टीहरुलाई धेरै धन्यवाद दिन चाहन्छु । मलाई सपोर्ट गर्नुहुने, मलाई भोट गर्नुहुने, मलाई म्युजिकल फिल्डमा ब्याक सपोर्ट दिनुहुने महानुभावहरुलाई पर्सनली भेट्न पाउँदा एकदमै खुसी छु ।
यूके आउनुअघि अरु देश घुम्नुभएको थियो ?
म नेपाल आइडलको कन्ट्र्याकमा हुँदा अस्ट्रेलिया र दुबई गएको थिएँ ।
तमु धीं यूकेको ल्होछार कार्यक्रममा अतिथि कलाकारको रुपमा आउनुभयो, यो अवसर कसको सपोर्टमा मिलेको हो, भन्न मिल्छ ?
तमु धीं यूकेबाट सलोमीलाई ल्होछारमा बेलायत ल्याउनुपर्छ भन्ने मलाई म्यासेज आएको थियो । त्यसका लागि तमु धीं यूके र अध्यक्ष आदरणीय जुमकाजी गुरुङ मामा र आमा समूहकी अध्यक्ष कमला देवी गुरुङ माइजुलाई पनि हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु । यूके आउने, मेरो कला देखाउने र मलाई भोटिङ गर्नुहुनेहरुलाई प्रत्यक्ष रुपमा भेट्ने मौका पाएको छु ।
तपाईं २१ डिसेम्बर २०२६ मा बेलायत आउनुभयो । त्यसपछि धेरै कार्यक्रममा प्रस्तुति दिइसक्नुभएको छ । बेलायत कस्तो लागिरहेको छ ?
नेपाल छोडेर सुरुमा आउँदा के होला, कस्तो होला जस्तो लाग्थ्यो । तर आउने दिनमै एयरपोर्टमा पाएको स्वागतले सुरक्षित महसुस भयो । उहाँहरुले वेलकम गर्न आउँदा 'एउटा बच्चालाई बाआमाले कुरेर बसे जस्तो फिल भयो' । मैले त्यस्तो हुन्छ जस्तो लागेको थिएन । हामी बाहिर निस्कने बित्तिकै उहाँहरु सबैले वाम वेलकम गर्नुभयो । याज आर्टिस्ट, यूकेमा कार्यक्रम गर्दै गर्दा एकदमै रेस्पेक्ट गरेको पाएँ ।
तमु धीं यूकेको ल्होछार कार्यक्रम कस्तो भयो ?
मेरो पहिलो ल्होछार नै तमु धीं यूकेको ल्होछार हो । एकदमै रमाइलो भयो । मलाई यति माया गर्नुभयो कि त्यो मायाको त मैले वर्णन गर्नै सक्दिनँ । फस्ट ल्होछार नै मेमोरेबल थियो ।
तमु धीं यूके र इकाइहरुको ल्होछार कार्यक्रममा केही फरक पाउनुभयो कि ?
कलाकारलाई रेस्पेक्ट र माया सबै संस्थाहरुमा उत्तिकै पाएँ ।
ती कार्यक्रमहरुमा कुन र कस्ता गीतहरु गाउनुभयो त ?
गुरुङ गीतहरु र अन्य गीत गाएँ । गुरुङ गीत मेरो पहिलो थियो र च्यालेन्ज पनि थियो । गुरुङ भएपछि मैले गुरुङ भाषाका गीत गाउनुपर्छ भनेर आफैंलाई पुस गरिरहेँ । म पोखरामै जन्मे र गुरुङ भाषा त्यत्ति जानिन्थेन । तर बिस्तारै इम्प्रुभ हुँदैछ ।
परिवारभन्दा टाढा रहँदाको अनुभव ?
परिवारको याद त आउँछ नै । यहाँ बस्दा एक्लो फिल त भएको छैन । तमु धीं यूकेका अध्यक्ष मामा आफैंले फोन गर्नुभएर के छ भनेर सोध्नु हुन्छ, कहिले दाइहरुले के छ भनेर फोन गर्नुहुन्छ । अनि भेटघाटहरु पनि भइरहेको हुन्छ । त्यसैले म परिवारमै छु जस्तो लाग्छ । खाना, बसाइँ पनि एकदमै राम्रो छ ।
अन्त्यमा बेलायत भ्रमण कस्तो रह्यो र तमु धीं यूकेप्रति केही हुन्नुहुन्छ कि ?
बेलायत भ्रमण आजको दिनसम्म एकदमै राम्रो र मेमोरेबल भएको छ । बेलायत भ्रमण मेरो पहिलो हो । तमु धीं यूकेले मलाई यहाँ बोलाइदिनुभएको छ । तमु धीं यूकेका अध्यक्ष आदरणीय जुमकाजी गुरुङ मामा र आमा समूहकी अध्यक्ष कमला देवी गुरुङ माइजुसहित सम्पूर्ण तमु धीं यूके परिवारलाई धेरै धेरै धन्यवाद । मलाई यो ठाउँमा आएर कला प्रस्तुत गर्ने अवसर दिनुभएको छ ।
नेपाल आइडलको यात्रादेखि यहाँसम्म आउन सपोर्ट गर्नुहुने सम्पूर्ण नेपाली दर्शक महानुभाव र हाम्रो थ्री सिस्टर्स दिलमाया आन्टी, हेलिशा आन्टी र बिनु आन्टीलाई हृदयदेखि धन्यवाद भन्न चाहन्छु । आउँदा दिनमा पनि मलाई साथ र सहयोग दिनुहुन्छ भन्ने आशा छ । विशेषगरी गोर्खा मिडियाको सम्पूर्ण टिमलाई पनि धन्यवाद ।