अल्डरसट । तमु धीं यूकेद्वारा आयोजित २४औँ गोर्खा कप २०२६ अन्तर्गत मुख्य प्रतियोगिताको उपाधि राङभाङ समाज यूके एफसीले जितेको छ । अल्डरसटस्थित क्विन्स एभिन्यू मैदानमा सम्पन्न फाइनल खेलमा राङभाङ समाजले गुरुजी इलिट एफसीलाई २–० गोलले पराजित गर्दै प्रतिष्ठित गोर्खा कप आफ्नो नाममा सुरक्षित गर्यो ।
२४ मेमा आयोजित प्रतियोगितामा झन्डै २० हजार नेपाली तथा स्थानीय दर्शकहरूको उपस्थिति रहेको थियो । फुटबल प्रतियोगिता, भेटघाट, सामाजिक सद्भाव तथा व्यवसाय प्रवर्द्धनको केन्द्र बनेको उक्त कार्यक्रम वर्षकै पहिलो अत्यधिक गर्मी दिनमा सम्पन्न भएको थियो, जहाँ तापक्रम करिब ३५ डिग्री सेल्सियससम्म पुगेको थियो । गर्मीका कारण आइसक्रिम भ्यानहरूमा दिनभर लामो लाइन देखिन्थ्यो ।
गोर्खा कप संयोजक क्याप्टेन दीपक गुरुङको नेतृत्व, तमु धीं यूकेका सयौँ स्वयंसेवकहरूको सक्रियता, खेलाडीहरूको अनुशासन तथा दर्शकहरूको उत्साहपूर्ण सहभागिताले यस वर्षको गोर्खा कपलाई भव्य र अविस्मरणीय बनाएको छ ।
९-ए-साइड ढाँचामा सम्पन्न प्रतियोगितामा मुख्यतर्फ ३९ टोली, भेट्रानतर्फ १६ टोली तथा महिला तर्फ २ टोली गरी जम्मा ५७ टोली सहभागी थिए । बिहान ९ बजेदेखि सुरु भएको खेलकुद कार्यक्रम साँझ करिब ८ बजेसम्म सञ्चालन भएको थियो ।
महिला तथा भेट्रानतर्फको नतिजा
महिलातर्फ तामाङ समाज यूके एफसी विजेता तथा राउन्डबोल्ट एफसी रनरअप बने । विजेता टोलीले ६०० पाउन्ड र रनरअप टोलीले ४०० पाउन्डसहित ट्रफी प्राप्त गरे । महिलातर्फ ‘प्लेयर अफ द म्याच’ शुक लमु तामाङ घोषित भइन् ।

भेट्रानतर्फ एफसी जिरो फोर विजेता तथा प्लमस्टेड एफसी रनरअप बने । विजेता टोलीले १८०० पाउन्ड र रनरअप टोलीले १२०० पाउन्डसहित ट्रफी प्राप्त गरे । भेट्रानतर्फ बेस्ट म्यानेजर शोम थापा, टप स्कोरर निशान्त गुरुङ तथा प्लेयर अफ द म्याच शेरजङ गुरुङ घोषित भए ।
मुख्य प्रतियोगितामा को बने उत्कृष्ट?
मुख्य प्रतियोगितामा राङभाङ समाज यूके एफसीका सम थापा बेस्ट म्यानेजर घोषित भए भने नेप्जोम एफसीका इन्योला अलमो टप स्कोरर बने । राङभाङ समाज यूके एफसीकै नवाङ शेर्पा ‘मेन प्लेयर अफ द म्याच’ घोषित भए ।
मुख्य प्रतियोगिताको रनरअप टोलीले २ हजार पाउन्ड तथा विजेता टोलीले ३ हजार ५०० पाउन्डसहित ट्रफी प्राप्त गरे ।
औपचारिक कार्यक्रम र सम्मान
फाइनल खेलअघि आयोजित औपचारिक कार्यक्रममा तमु धीं यूकेका भूतपूर्व अध्यक्ष स्वर्गीय मेजर जीसीओ लालबहादुर गुरुङ तथा भूतपूर्व अध्यक्ष सुवाससिंह गुरुङका पिता स्वर्गीय धनसिंह गुरुङको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो ।
कार्यक्रममा रसमोर बरो काउन्सिलका मेयर काउन्सिलर क्यालम स्टूवर्ट प्रमुख अतिथि थिए । तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ तथा गोर्खा कप संयोजक क्याप्टेन दीपक घले र मेयरले स्वागत मन्तव्य व्यक्त गरेका थिए । नेपाल दूतावास लन्डनबाट सैनिक सहचारी सहायक रथी अनुप शाह विशेष अतिथिका रूपमा सहभागी थिए ।
नयाँ पुस्ताका खेलाडीलाई प्रेरणा दिने उद्देश्यले स्कटल्यान्ड अन्डर–२१ तथा अबरडिन एकेडेमीकी खेलाडी मेलिशा रेग्मी विशेष अतिथिका रूपमा उपस्थित थिइन् ।

फुटबल फाइनलको मध्य अन्तरालमा कविता घर्ती मगर गुरुङद्वारा कोरियोग्राफ गरिएको नेपाली सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो। योगदानको कदरस्वरूप उनलाई तमु धीं यूकेले सम्मानसमेत गरेको थियो ।
सामाजिक योगदान र प्रायोजन
कार्यक्रमका क्रममा तमु धीं यूकेले रसमोर बरो काउन्सिललाई ५०० पाउन्ड तथा गोर्खा वेलफेयर ट्रस्टलाई ५०० पाउन्ड सहयोग हस्तान्तरण गरेको थियो । साथै, ‘लेजेन्ड अफ गोर्खा कप’ डेनिस महर्जन र अतिथि मेलिशा रेग्मीलाई सम्मान गरिएको थियो ।
गोर्खा कप २०२६ का मुख्य प्रायोजकहरूमा हिमालयन जेट, मोमो किङ स्विन्डन, पोखरा रेस्टुरेन्ट लन्डन, आइएमई लन्डन, सोल्टिज किचन बुलफोर्ड, ह्याम्पसायर एकाउन्टिङ, नेपब्रिज, ट्रु एक्स, लेफ्टिनेन्ट कर्नेल बिल विटर्स तथा पेपरवर्क सोलुसन रहेका थिए ।
सफल आयोजनामा सामूहिक योगदान
कार्यक्रम सफल बनाउन तमु धीं यूकेका विभिन्न पदाधिकारी तथा स्वयंसेवकहरूको उल्लेखनीय योगदान रहेको थियो । वरिष्ठ उपाध्यक्ष परशु गुरुङले समग्र व्यवस्थापनको जिम्मेवारी सम्हालेका थिए भने अतिथि सत्कारतर्फ उपाध्यक्ष कमल गुरुङ र आमा समूह सक्रिय रहेका थिए ।
व्यापारिक तथा अन्य टेन्ट व्यवस्थापन उपाध्यक्ष दिलमाया गुरुङले सम्हालेकी थिइन् । कोषाध्यक्ष अरुण गुरुङ, मिडिया सचिव एसके गुरुङ, हेल्थ एन्ड सेफ्टी संयोजक क्याप्टेन देवबहादुर घले, कन्ट्रोल सेन्टर टोली, सुरक्षा, टिकेटिङ, वातावरण तथा अन्य विभिन्न उपसमितिका सदस्यहरूले टन्टलापुर घाममा खटिएर कार्यक्रम सफल बनाएका थिए ।
कार्यक्रम सञ्चालन महासचिव डा. विशाल गुरुङले गरेका थिए भने पुरस्कार वितरण कार्यक्रम सचिव विमल गुरुङले सञ्चालन गरेका थिए ।