सदाझैं युनाइटेड हेम्पशायर सर्रे बर्कशायर (यूएचएसबी) मगर संघ युकेले यही २६ अप्रिल २०२५ मा लेडिज रमझम च्यारिटी नाइट गर्दै छ । लेडिज रमझम नाइटका फाउन्डर तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)की निवर्तमान अध्यक्ष गोमा रानाले यसपटकको च्यारिटीबाट नेपालका क्यान्सरपीडित र अबला नारीलाई सहयोग गर्ने निर्णय भइसकेको जानकारी दिनुभएको छ । उहाँले यो च्यारिटी नाइट विशुद्ध रमझम मात्रै नभइ मानव सेवाका निम्ति भएकोले सबै दिदीबहिनीहरु सहभागी हुन अनुरोध गर्नुभएको छ । बेलायतमा पत्रकारिता, सामाजिक सेवामा सक्रिय गोमा राना मगरसँग गोर्खा मिडियाको हिँड्दा हिँड्दै शृंखलामा मिलन तमुले गरेको कुराकानीको सम्पादित अंश ।
यूएचएसबी मगर संघ युकेले हरेक वर्ष लेडिज रमझम नाइट गर्दै आएको छ । यसपटक कहाँ र कहिले हुन्छ ?
हामीले यो कार्यक्रम सन् २००७ बाट थालेका हौं । मनोरन्जन गर्नेभन्दा पनि कला देखाउने र सामाजिक काम गर्ने हिसाबले स्थापना गरेका थियौं । दिदीबहिनीहरु जम्मा हुने र रमाइलो गर्ने गर्दै गर्दो हरेक वर्ष दिदीबहिनीहरुको संख्या पनि बढ्दै गयो । जुन च्यारिटीमार्फत हरेक वर्ष नेपाल र बेलायतमा विभिन्न खालका पीडित र उत्प्रेरणा जगाउने कामका लागि सहयोग गर्दै आएका छौं । यो वर्ष अल्डरसटस्थित द प्यालेसमा २६ अप्रिलमा हुँदैछ ।
प्रवेश शुल्क कति छ, कति बजेदेखि कार्यक्रम सुरु हुन्छ ?
इन्ट्री फि हामीले १० पाउन्ड तोकेका छौं । गेटमा पास लिँदा १२ पाउन्ड छ । अग्रिम लिँदा १० पाउन्ड हो । यो शुल्क च्यारिटीका लागि हो, खाना र ड्रिंकहरु सहभागी स्वयंले व्यवस्था गर्नु पर्नेछ । कार्यक्रम बेलुकी ६ देखि राति १० बजेसम्म डिजे हेम विष्टबाट मनोरन्जन लिनेछौं । लेडिज रमझम नाइटमा सहभागी भइ दिदीबहिनीहरुमा भलाकुसारी गर्न र मनोरन्जनका लागि आइदिनुहोस् भन्न चाहन्छु ।
टिकट कसरी लिने ?
टिकट हामीले फेसबुकमा पनि राखेका छौं । छविमाया पुन, नानु रानालगायत साथीलाई खबर गर्न सक्नुहुनेछ ।
विगतमा सामुयल कोडी स्कुलमा गर्नुहुन्थ्यो, यसपटक भेन्यू किन सार्नुभयो ?
सामुयल कोडी पनि एकदमै राम्रो हो । त्यसमा डेकोरेसनलगायतलाई म्यानपावर धेरै लाग्छ । तर द प्यालेसमा धेरै म्यानप्यावर पनि चाहिँदैन । दिदीबहिनीहरु आएर मनोरन्जनमा लागिहाल्न मिल्ने भएकोले यता चुज गरेका हौं ।
हरेक वर्ष कार्यक्रमपछि सहयोग गर्ने गर्नुहुन्थ्यो, यसपटकको तयारी के छ ?
यस पटक पनि दुई वटा ठाउँमा सहयोग दिने भएका छौं । क्यान्सरपीडित र अबला महिलालाई सहयोग दिने निर्णय भएको छ । विस्तृत विवरण पछि सार्वजनिक गर्नेछौं । पहिले-पहिले बेलायत र नेपालमा दिने गरेकोमा यस पटक भने दुवै जना नेपालका छन् ।
अन्त्यमा केही भन्नुहुन्छ ?
२६ अप्रिलमा द प्यालेस रेस्टुरेन्टमा भेटौं लेडिज रमझम नाइटमा । सबै जना समय मिलाएर आइदिनु हुन हार्दिक अनुरोध गर्छु । अन्तर्वार्ताको अवसरका लागि गोर्खा मिडिया परिवारलाई पनि धन्यवाद ।