दिनेश गुरुङ
डिएमटी ब्यान्डका संस्थापक तथा निर्देशक
डिएमटी भनेको के हो, यो कहिले स्थापना भएको हो ?
डिएमटी ब्यान्ड भनेको मौलिक गीत तथा मौलिक बाजाहरु संरक्षण र संवर्द्धन तथा नयाँ पुस्तालाई हस्तान्तरण गर्न लागि परेको टिम हो । यो डिएमटी ब्यान्ड सन् २०१५ मा स्थापना भएको हो । हुन त, त्योभन्दा अगाडि पनि हामीले विभिन्न बाजा बजाउँदै आएका हौं । सारङ्गी, टुङ्ना, बाँसुरी, तबलाहरु बजाउने गर्छौं । हामीले मौलिक गीतलाई प्राथमिकता दिन्छौं । बजाउन त अरु गीतमा पनि बजाउँछौं । धेरै कार्यक्रममा बजाइ पनि सकेका छौं । हामी आफैं पनि ठाउँ ठाउँमा कार्यक्रम आयोजना गर्छौं ।
यो ब्यान्डमा क्रू मेम्बरहरु कति जना हुनुहुन्छ ?
हामी पाँच जना छौं । ब्यान्ड सदस्यहरुमा तुल्सी राना (हार्मोनियम मादल), रेशम पाचे मगर (तबला, ढोलक र मादल), मिन गुरुङ (मादल), सन्तोष पुन (किबोर्ड, मादल तथा गायक) छौं । आवश्यक पर्यो भने यो भन्दा पनि बढी हुन्छौं ।
तपाईं त बाँसुरी, सारंगी बादक पनि हुनुहुन्छ रे ?
म सिक्दैछु । अर्को साथी पनि हुनुहुन्छ । विशेषगरी बाँसुरी र सारंगी मैले पर्फम गर्ने गर्छु ।
झन्डै १२ वर्षदेखि डिएमटी ब्यान्ड सञ्चालनमा रहेको छ, यसले कस्ता कस्ता कार्यक्रममा प्रस्तुति दिएको छ ?
हामी आफैं पनि कार्यक्रम गर्छौं । मगर संघ यूकेको नेपाली ओपन कन्सर्टमा पनि धेरै पटक पर्फम गरिसकेका छौं । मेरो नेतृत्वमा विशेषगरी लाइभ दोहोरीका लागि चार वर्ष बजाइसकेका छौं । यस वर्षको नयाँ वर्ष कार्यक्रम अल्डरसटस्थित डि लाउन्जमा भव्य रुपमा सम्पन्न भयो ।
कुनै पनि ठाउँमा ब्यान्डले प्रस्तुति दिँदा कति रकम लिने गर्नुहुन्छ ?
हामीले आयोजकसँग छलफल गर्छौं । लाइभमा बाजा बजाउनु ट्र्याकमा जस्तो हुँदैन । गाह्रो, दु:ख हुन्छ । हामीले सुपथ मूल्यमा गर्छौं । आयोजकलाई मर्का पार्ने हिसाबले भन्दैनौं । कोही बेला च्यारिटी जस्तो पनि गर्छौं ।
कहाँ कहाँ जाने गर्नुभएको छ प्रस्तुति दिन ?
ठमेल र दि लाउन्ज हाम्रो मुख्य भेन्यू भन्दा पनि हुन्छ । डिलाउन्जका सञ्चालक मेरो आदरणीय दाइ तुलाराम गुरुङ । उहाँले जहिल्यै पनि मलाई इन्करेज गर्नुहुन्छ । उहाँलाई पनि सम्झिन चाहन्छु । उहाँले सहकार्य र प्रचारप्रसारमा एकदमै सहयोग गर्नुहुन्छ । गोर्खा मिडियाले पनि समाचार बनाउने, युट्युब भिडियो बनाउने लगायत काम गरिरहेको छ ।
तपाईंको कम्पनीले साउन्ड सिस्टमको सर्भिस पनि गर्छ भन्ने सुनेको छु, यसबारे बताइदिनोस् न ।
हामीले यो सालदेखि सुरु गरेका हौं । त्यसैले प्रमोसन पिरियडमा छौं । जहिले पनि अरुको हायर गर्दा खर्च पनि त्यत्तिकै हुने भयो । कोही ठाउँमा चित्तबुझ्दो साउन्ड सिस्टम नभएकोले र धेरै अनुभवले गर्दा साउन्ड सिस्टम हुनुपर्छ भनेर अहिले व्यवस्था गरेका छौं । धेरै कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेका छौं । लाइभ म्युजिक आफ्नै साउन्ड सिस्टममा । कसैले चाहनु भयो वा आवश्यक परेमा मलाई सम्पर्क गर्न सक्नुहुनेछ । रिजनेवल प्राइसमा सेवा दिन तयार छु । यदि ब्यान्ड चाहिन्छ भने पनि उपलब्ध गराउँछौं ।
ब्यान्डबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
हामी कोसिसमा छौं । सबैको आआफ्नै कार्यव्यस्तता हुन्छ । लाइभ ब्यान्ड भन्ने वित्तिकै रिहर्सल गर्नुपर्यो । सन्तुष्ट त हामी छौं । ब्यान्ड स्थापना गर्नेको उद्देश्य हाम्रो मौलिक बाजाहरुलाई भावी पुस्तालाई कसरी सिकाउने भन्ने हो । कतिपयलाई मैले नि:शुल्क सिकाइरहेको छु । कसैलाई एड्भान्स कक्षा चाहियो भने मेरो गुरु हुनुहुन्छ, धनबहादुर गुरुङ । मलाई बजाउने बारे गाइड गर्नुहुन्छ । उहाँ त भर्सटाइल । उहाँले सनइ पनि बजाउनुहुन्छ । बाँसुरी पनि बजाउनुहुन्छ । शास्त्रीय, लोकगीत सबैमा उहाँ निपूर्ण हुनुहुन्छ । गत वर्ष मैले नै स्पोन्सर गरेर उहाँ बेलायत आउनुभयो र डिलाउन्जमा एकल साँझ गरियो । धेरैले मन पराउनुभएको थियो । मैले उहाँसँग बाँसुरी, सारंगी पनि बजाएर साथ दिएको थिएँ ।
अन्त्यमा केही भन्नुहुन्छ कि ?
धन्यवाद मिलन गुरुङज्यू जहिल्यै मौका दिनुहुन्छ । भविष्यमा पनि यसरी नै मौका दिनुहुनेछ । आफैं व्यस्तता भए पनि क्वालिटीको सर्भिस दिइरहनुभएको छ । पत्रकार भनेर हुँदैन । अरु कस्ता कस्ता हुनुहुन्छ, यहाँ कुरा गरिरहेन । तपाईंको योगदान कम्युनिटीमा यसरी नै रहिरहोस् ।
