तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले तेह्रौँ कार्यसमितिको जिम्मेवारी २८ डिसेम्बर २०२४ मा सम्हाल्नुभएको हो । उहाँ आफै नेतृत्व गरेर नेपालको तीन हप्ताको भ्रमण सकेर बेलायत फर्किनुभएको छ । भ्रमणमा धेरै जिल्लाहरू पुगेर परोपकारी कार्य गर्नुभयो र महत्त्वपूर्ण कार्यक्रमहरूमा सहभागी हुनुभयो । त्यस क्रममा तमु धीं यूकेको भ्रमण टोलीले करिब आधा करोड सहयोग गर्यो । अध्यक्ष गुरुङसँग नेपाल भ्रमण र तमु धीं यूकेको गतिविधिबारे गोर्खा मिडियाको अतिथि संवादमा प्रकाश गुरुङले गरेको कुराकानी ।
नेपालको तीन साता भ्रमण सकेर फर्किएपछि केमा व्यस्त हुनुहुन्छ ?
फेब्रुअरी २१ तारिखमा हामी नेपालबाट फर्कियौँ । ३० तारिखभित्र सबै जना यूके आइसकेका छन् । मार्च ७ मा बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेसहितका टोलीलाई तमु धीं यूकेमा स्वागत कार्यक्रमका कारण त्यसमा व्यस्त भएँ ।
नेपाल भ्रमण टोलीमा कति जना थिए, त्यसमा तमु धींका मात्रै कि अरू पनि सहभागी थिए ?
सिक्लेस पुग्दा हामी ३५ जना थियौँ । त्यसमा संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, पूर्वअध्यक्षहरु रामचन्द्र गुरुङ, नन्दजंग गुरुङ, ट्रस्टीहरु सबै हाम्रो साथमा हुनुहुन्थ्यो । कार्यसमितिका वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, महासचिव डा. विशाल गुरुङ, आमा समूह अध्यक्ष कमलादेवी गुरुङ, निवर्तमान अध्यक्ष, अध्यक्षज्यू, एनआरएनए यूकेका अध्यक्ष हित काजी गुरुङलगायत थियौँ । ६ जना नै पूर्वअध्यक्ष मेरो साथमा हुनुहुन्थ्यो । कार्यवाहकको जिम्मेवारी उपाध्यक्ष कमल गुरुङलाई दिएर हामी नेपाल प्रस्थान गरेका थियौँ ।
हरेक दुई वर्षमा तमु धीं यूकेको टोली नेपालमा पर्यटन प्रवर्द्धन र भेटघाटका लागि जाने गर्छ । त्यसको खर्च संस्थागत कि व्यक्तिगत बेहोर्नु हुन्छ ?
टोटल्ली हामी आफ्नै खर्चमा नेपाल जान्छौँ । गाउँ घुम्दा हामीलाई संस्थाले रकम दिएको छैन । अन्य ठाउँबाट पनि आएको छैन । सबै व्यक्ति-व्यक्तिले बेहोर्छौं ।

तीन सातामा कहाँ-कहाँ पुग्नुभयो र कुन-कुन कार्यक्रममा सहभागी हुनुभयो, संक्षिप्तमा भनिदिनुहोस् न ?
फेब्रुअरी १ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि तमु बौद्ध सेवा समिति अनामनगर, त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटार पुग्यौँ ।
प्रधानमन्त्रीसँगको भेटघाट पहिल्यै तय थियो कि अचानक मिलेको ?
खासमा संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्रीलाई भेट्ने विचार थियो । किनकि हामीले हरेक वर्ष बेलायतमा नेपाली मेला गर्छौं । त्यस सन्दर्भमा पर्यटनमन्त्रीलाई निमन्त्रणा दिऔँ भन्दैगर्दा संयोगवश प्रधानमन्त्री ओलीलाई नै भेट्न पुग्यौँ ।
भेट्ने समय कसरी पाउनुभयो ?
पूर्वएसपी राजेन्द्र गुरुङले प्रधानमन्त्रीसँगको भेटघाटको समय र ठाउँ मिलाउनुभएको हो । हामी बेलायतबाट निस्किने बेला पूर्वएसपी गुरुङलाई हामीले प्रधानमन्त्रीसँग भेटबारे जानकारी दिएका थियौँ ।
प्रधानमन्त्री ओलीसँग के कुरा राख्नुभयो ?
प्रधानमन्त्रीसँग नागरिकता र एनआरएनएबारे पनि कुरा भयो । भूपू ब्रिटिस गोर्खाहरूको बारेमा पनि कुरा भएको थियो । नेपाली मेलामा सहभागी भइदिनुहोस् भनेर निमन्त्रणा पत्र पेस गरेँ । उहाँले सहर्ष स्वीकार गर्नुभएको थियो ।
जवाफ के दिनु भयो त ?
उहाँ (प्रधानमन्त्री ओली)ले हन्ड्रेट प्रतिशत म आउँछु त भन्नुभएन । तमु धीं यूकेले गर्ने नेपाली मेलाबारे उहाँलाई जानकारी रहेछ, यो मेलाले नेपाली कला, संस्कृति, भाषा जगेर्नामा मद्दत पुर्याइरहेको छ भन्ने । उहाँले समय मिल्ने नेपाली मेलामा आउने प्रतिबद्धता जनाउनुभएको छ ।
भ्रमणका क्रममा अरू के के भए ?
हामी अनामनगरमा गएर बुद्ध भगवान् को आशिष थाप्यौँ । त्यसको भोलिपल्ट सुनधारास्थित गोर्खा हेरिटेजमा सानो कार्यक्रम थियो । त्यो हो खेलाडी एरिका गुरुङ र पत्रकार डण्ड गुरुङलाई सम्मान गर्ने । तमु धीं यूकेले २५ वर्ष पुगेको अवसरमा घोषणा गरेको तमु प्रतिभा पुरस्कारबाट यस वर्ष राष्ट्रिय कराते खेलाडी एरिका गुरुङ (धादिङ)लाई ५१ हजार रुपैयाँसहित सम्मान गरिएको थियो । कार्यक्रमको सेड्यल निकै टाइट थियो । जुन महासचिव डा. विशाल गुरुङ र मैले बनाएको प्रोग्राम हो । हामी बौद्ध अर्घौं सदन, ताङ्ले समाज, बगर भाइ खलकमा पुग्यौँ । त्यसपछि आहा रारा पोखरा गोल्ड कपको उद्घाटन सत्रमा सहभागी भयौँ । ५ तारिख सिक्लेस, ६ तारिख पोखरा, ७ तारिखमा चित्र, ८ मा राम्जा, आर्थर । ९ तारिख कुस्मा हुँदै खाल्टेमा । १० तारिखमा खाल्टेमा रेज फर होप फाउन्डेसनको आयोजनामा आँखा शिविर भएको थियो । १० तारिखमा भूपू खेलाडी मञ्चले हामीलाई सम्मान कार्यक्रम राखेको थियो । ११ मा र १२ पोखरामै रह्यौँ । १२ का दिन तमु सांस्कृतिक प्रतिष्ठान नेपालको कार्यक्रममा सहभागी भयौँ ।

१३ तारिखमा कुस्मा आँखा शिविरका लागि गयौँ । १३ ल्वाङ गाउँ गएर १४ मा पोखरा फर्कियौँ । त्यसपछि पोखरा अन्तर्राष्ट्रिय म्याराथन, आहा रारा गोल्ड कपको फाइनल, हाम्रा संस्थापक कोषाध्यक्ष सूर्य गुरुङको पहलमा पोखरा रंगशालामा निर्माण गरिएको पर्खाल अनावरण गर्दै १५ तारिखमा चारभन्ज्याङ अन्तर्राष्ट्रिय समन्वय समितिले राखेको च्यारिटी डिनरमा सहभागी भयौँ । १६ मा पसगाउँ, गिलुङ र त्यही दिन पोखरा फर्कियौँ । १७ मा काठमाडौँ आयौँ ।
तपाईंहरुको भ्रमण तालिका कुनै प्रधानमन्त्री, राष्ट्रपतिको जस्तो देखियो । हामीले सामाजिक सञ्जाल र मिडियामार्फत थाहा पाएअनुसार तपाईंहरुले धेरै आर्थिक सहयोग गर्नभयो । कहाँ कति दिनुभयो ?
तमु धीं यूके किन आफ्नै खर्चमा घुम्न जान्छ भन्ने जनमानसमा जिज्ञासा हुन सक्छ । हाम्रो उद्देश्य गाउँ फर्क, गाउँमा पनि केही गर्न सकिन्छ, पर्यटन क्षेत्र फैलाउने भन्ने हो । त्यहाँको भेषभूषा के कस्ता छन् भन्ने जानकारीका लागि हामी हिँडिराखेका छौँ । दुई वर्षअगाडि रुम्जाटारमा पुगेका थियौँ । त्यहाँ पुग्न पोखराबाट पनि सजिलो छैन । हामी तीन दिन लगाएर रुम्जाटार पुगेर त्यहाँको रहनसहनबारे जानकारी लिएर त्यस विषयमा केही लेखेका छौँ । यसपटक हामी जति ठाउँमा गयौँ, त्यसमा स्कुलिङ के कस्ता छन् ? गुरुङहरूको बाहुल्यता कस्तो छ ? जनजाति के कति छन् र अवस्था कस्तो छ भन्ने जानकारी पनि हामीले लिने गरेका छौँ । भ्रमणका क्रममा विशेषगरी हामीले व्यक्तिगत पैसा बाँड्छौँ । तमु धीं यूके च्यारेटीबल संस्था भएकोले त्यहाँबाट पनि दिन सक्छौँ ।
बौद्ध अर्घौं सदनमा तीन सेट पाला खरिदका लागि २१ लाख दिने घोषणा, कराते खेलाडी एरिका गुरुङलाई ५१ हजार, मेरो गाउँ ताङ्ले तमु समाजमा ४ लाख ३० हजार दियौँ । त्यसपछि बगर भाइ खलक, राम्जाचित्रे गाउँ पर्वतमा संग्रहालय र गुम्बाका लागि साढे ४ लाख दियौँ । राम्जामा ३ लाख जति, आर्थरमा ६ लाख जति सहयोग गर्यौँ ।
नौलो घुम्ती नेपाल, सिन्धुलीलगायत ठाउँमा पनि सहयोग गर्नुभएको सुनिएको थियो, प्रस्ट पारिदिनुस् ?
गत २०२४ मा नेपालमा गएको भूकम्पका बेला हामीले केही पैसा उठाएका थियौँ । त्यो रकम कहाँ पठाउने, कहाँ के गर्ने भन्ने सोचिरहेका थियौँ । सोहीबापत तमु धीं यूकेका शुभचिन्तक तथा पत्रकार डण्ड गुरुङज्यूसँग सल्लाह भयो । उहाँको आग्रहमा सिन्धुलीको सिरानचोकमा १० लाख लागतमा खानेपानी ट्यांकी निर्माण गर्न हामी सहयोग गर्यौँ । त्यस्तै नौलो घुम्ती नेपालमा पनि १० लाख रुपैयाँ सहयोग गर्यौँ । सन् २०२४ को गोर्खा कपबाट भएको नाफाको ५ प्रतिशत नौलो घुम्तीको भान्सा पुनर्निर्माणका दिएका हौँ ।
यसैगरी तमु धीं यूके आमा समूहले हरेक वर्ष न्यानो ल्होछार आयोजना गर्छ । यस पटक चाहिँ स्याङ्जाको बालविकास केन्द्रमा अक्षय कोषका लागि १ लाख ६० हजार दियौँ र मेरो परिवारको तर्फबाट ५० वटा ट्र्याक सुट बनाएर आमा समूहकी अध्यक्ष कमलदेवी गुरुङको नेतृत्वमा हस्तान्तरण गर्ने मौका पायौं । स्याङ्जा गल्याङको एक विद्यालयलाई तमु धीं यूकेको तर्फबाट अक्षय कोषका लागि १ लाख ५० हजार दियौँ ।
तपाईं तमु धीं यूकेको नेतृत्व लिइरहँदा अहिले कस्तो अनुभव भइरहेको छ ?
अभिभारा थपिएको छ । मैले प्रत्यक्ष-अप्रत्यक्ष रूपमा सन् २००७ देखि तमु धीं यूके ह्याम्सायर इकाइको अध्यक्ष हुँदै तमु धीं यूकेको कोषाध्यक्ष, वरिष्ठ उपाध्यक्षबाट अहिले अध्यक्षको अभिभारा लिएको छु । अध्यक्षको अभिभारा लिइसकेपछि सबैसँग सहकार्य गर्नुपर्यो । समय मिलाउनुपर्यो । त्यसैले मैले बेग्लै किसिमको अनुभव गरिराखेको छु ।
तमु धीं यूकेको नेतृत्वमा पुग्न निकै कठिन छ । कम्तीमा पनि संस्थामा १० वर्षसम्म निरन्तर योगदान दिनुपर्छ भनिन्छ । यो सही हो ?
म पनि तमु धीं यूकेमा चार वर्ष सदस्य, त्यसपछि सहकोषाध्यक्ष, महासचिव, तीन कार्यकाल उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै झन्डै १४ वर्षको संघर्षपछि यो पदमा आइपुगेको हुँ ।
यही तरिकाले तमु धीं यूके अगाडि बढ्न सक्छ त ?
तमु धीं यूकेले गोर्खा कपजस्तो ठूलो कार्यक्रम चलाउनुपर्छ । अनुभवबिना त्यो सञ्चालन गर्न सकिँदैन । नेपाली मेला, ल्होछार हरेक वर्ष चलाउनुपर्छ । त्यस्तै अन्य विभिन्न वार्षिक क्यालेन्डरअनुसारका कार्यक्रमसँग ट्र्याकल गर्नुपर्ने हुन्छ । नबुझीकन एकैचोटी अध्यक्ष बनेर काम गर्न सक्छ जस्तो लाग्दैन ।
मातृभाषा, धर्म, संस्कार, संस्कृति जीवन्त राख्न केही कार्यक्रम गर्नुभएको छ ?
भाषा, संस्कार, संस्कृति,भेषभुषा जगेर्ना गर्नका लागि भनेरै हामी नयाँ कार्यसमिति चयन हुने बित्तिकै नेपाल जान्छौँ । हामी लाइफ मेम्मर डिनर नाइट गर्छौं । त्यसमा भेषभुषा कम्पिटसन राख्छौँ । ल्होछारमा पनि भेषभूषाका लागि विभिन्न प्रतियोगिता राखेर बचाउने कोसिस गरिरहेका छौँ ।

तपाईंहरुले त्रिभाषीय पुस्तक प्रकाशनको तयारी गरेको भन्ने थियो, यसबारे पनि केही भनिदिनोस् न ?
सन् २०१३ मा क्या. राजु गुरुङको नेतृत्वमा त्रिभाषीय पुस्तक तयार पार्न तमु फोरम खडा गरेका थियौँ । त्यो संस्थाको म कोषाध्यक्ष हुँ । त्रिभाषीय किताबमा अङ्ग्रेजी, नेपाली र तमु भाषामा रहनेछ । जुन अन्तिम तयारीमा रहेको छ ।
तमु भाषा तपाईं मज्जाले बोल्न सक्नुहुन्छ ?
म बोल्न सक्छु । मेरो पर्वते भाषा छ । आमा सधैँ नै गुरुङ भाषा बोल्नुहुन्थ्यो । त्यसैले घरबाटै सिकेँ ।
बेलायतमा तमु धीं यूकेले गर्ने नेपाली मेला र गोर्खा कप ठूलो रूप लिएको छ । यसले तपाईंलाई बोझ लाग्दैन ?
पहिले सानै थियो । पछि बृहत् रूप लिएको हो । गोर्खा कपलाई थेग्न एकदमै गाह्रो हुन्छ । तर पनि हाम्रा आजीवन सदस्यज्यूहरूले, तमुहरूका संघ संस्थाहरूले मद्दत गरिरहनु हुन्छ । जसले गर्दा सहज गराउँछ । त्यसका लागि म धन्यवाद पनि दिन्छु ।
नेपाली मेलामा त नेपाली राजदूतावास लन्डनबाट पनि साथ मिलिरहेको छ हैन ?
नेपाली दूतावास र तमु धीं यूकेको सहकार्यमा हरेक वर्ष केम्पर्टन पार्कमा नेपाली मेला गर्दै आइरहेका छौँ । दूतावासबाट सहयोग धेरै पाउँदैनौँ, सबै तमु धीं यूकेले नै बेहोर्नुपर्छ । त्यसमा उत्ति फाइदा हुँदैन । कहिलेकाहीँ घाटा पनि हुन्छ । हामीले तमु भाषा, संस्कार, संस्कृति बचाऊँ भनेर नेपाली मेला गर्दै आइरहेका छौँ ।
तपाईं अवकाशप्राप्त ब्रिटिस गोर्खा, अहिले रक्षा मन्त्रालयअन्तर्गत पनि काम गर्दै तमु धीं यूकेजस्तो ठूलो संस्थाको जिम्मेवारी सम्हालिरहनुभएको छ । धेरै संघर्ष गरिसक्नुभयो । जीवन के हो जस्तो लाग्छ ?
जीवन सुन्दर छ । जीवन एउटा संघर्ष हो । जीवन एउटा फूलजस्तै हो । आफूले जसरी लियो, त्यस्तै हो जीवन । साहित्यकार झमक घिमिरेले ‘जीवन काँडा कि फूल’ भनेर पुस्तक लेख्नुभएको छ । त्यसैले जीवनबारे आ-आफ्नै दृष्टिकोण हुन्छ ।
तपाईंमा साहित्यिक रुचि पनि देखिन्छ । किताब कत्तिको पढ्नुहुन्छ ?
म किताब पढ्छु । भर्खरै नेपालबाट फर्किँदा गौरी तमुले किनिदिनुभएको सत्यमोहन जोशीको पुस्तक पढ्न सुरु गरेको छु ।
फुर्सदको समयमा के गर्नुहुन्छ ?
फुर्सद मिलेमा किताब पढ्छु । तर अहिले संस्थाको जिम्मेवारी थपिएकोले धेरै समय कम्प्युटरमा बस्ने र ज्यानलाई कसरी स्वस्थ राख्ने भन्ने विचारले दौडिने गर्छु ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुको कौडा गीत रोधीघरको आँगन भाग ४ ल्वाङमा छायांकन गरिएको थियो । त्यसक्रममा हामीले विद्यालय र होम स्टेलाई गरी करिब ८ लाख सहयोग दियौँ । साथै हामीले ल्वाङका चियान बगान हेर्ने र डाँडाकाँडा डुलेर धेरै मनोरन्जन लियौं । यसै मिडियामार्फत म सबैलाई आग्रह गर्न चाहन्छु, तमु धीं यूके जातीय संस्था भए पनि विभिन्न क्षेत्रमा मद्दत गर्दै आएका छौँ ।
हरेक वर्ष हुने गोर्खा कप यसपटक मे २५ मा र नेपाली मेला अगस्ट २६ मा हुन गइरहेको छ । यी कार्यक्रमहरूमा सहभागी भइदिनु होला । गत वर्षदेखि निस्किने र प्रवेश गर्ने ढोका दुई वटाको व्यवस्था गरेका छौँ । त्यसैले ट्राफिक हुन्छ भन्ने नठान्नु होला । गोर्खा कपमा धेरै समय र पैसा खर्च गरेर सुविधा सम्पन्न बनाएका छौँ । सहभागिता बढाइदिनु होला । यहाँ नेपाली समुदायको सहयोगबिना यो कार्यक्रम अधुरो हुनेछ ।