कास्की । माछापुच्छ्रे माध्यमिक विद्यालयले एसईई २०८२ मा ४.० जीपीए प्राप्त गर्ने विद्यार्थी शोभा गौतमसहित उत्तीर्ण भएका ५२ जना विद्यार्थीलाई सम्मान गरेको छ।
कास्की जिल्लामा तेस्रो स्थान हासिल गर्न सफल विद्यालयले विद्यार्थीहरूलाई प्रमाणपत्र, मायाको चिनो, नगद पुरस्कार तथा शैक्षिक सामग्रीसहित सम्मान गरेको हो । ४ जीपीए ल्याएकी गौतमलाई ५० हजार रुपैयाँ नगदसहित विशेष सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि अमृत गुरुङले विद्यार्थीहरूलाई मायाको चिनो प्रदान गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका थिए। कास्की सार्दिखोला समाज कतारले ४ जीपीए प्राप्त गर्ने विद्यार्थीलाई १५ हजार तथा ३.६ भन्दामाथि जीपीए ल्याउने सबै विद्यार्थीलाई जनही १ हजार रुपैयाँ प्रदान गरेको थियो ।
त्यसैगरी माछापुच्छ्रे गाउँपालिका–२, अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समिति सार्दिखोला, भूपू विद्यार्थी मञ्च तथा विभिन्न संघसंस्था र व्यवसायीहरूले पनि पुरस्कार तथा शैक्षिक सामग्री वितरण गरेका थिए ।
-1779467739.jpg)
वडाध्यक्ष गणेश आचार्यले विद्यालयको उत्कृष्ट नतिजाका लागि शिक्षक, अभिभावक र सरोकारवालाको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि शैक्षिक विकासमा सहयोग रहने बताए ।
मनप्रसाद तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक उमानाथ गौतमले गरेका थिए । स्वागत प्रधानाध्यापक सन्तोष आचार्यले गरेका थिए । कार्यक्रममा शिक्षक, अभिभावक, पूर्वविद्यार्थी तथा स्थानीय समाजसेवी उल्लेख्य उपस्थिति रहेको थियो ।