बेलायत । बेलायतको रिडिङमा क्रोम्छैं–त्होर्जे–थिम्जे तमु त्ह भाई खलक युकेको आयोजनामा ‘भाइखलक तथा चेलीबेटी भेटघाट कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ ।
तमु प्हे ल्कु संघ युकेको भवनमा आयोजित उक्त कार्यक्रममा नेपालकी चर्चित राष्ट्रिय लोक गायिका शर्मिला गुरुङ ‘सरु’ को विशेष सांगीतिक प्रस्तुतिले उपस्थित सबैलाई मनोरञ्जन दिलाएको थियो ।
संस्थाका अध्यक्ष हर्क गुरुङको अध्यक्षतामा सञ्चालित कार्यक्रमको औपचारिक उद्घाटन संयुक्त रूपमा दीप प्रज्वलन गरी गरिएको थियो । अध्यक्ष गुरुङका साथै संस्थापक अध्यक्ष अमर गुरुङ, खेगी गुरु जित प्हच्यु र ८५ वर्षीय एक ज्येष्ठ नागरिकको सहभागिता दीप प्रज्वलन गरिएको थियो । कार्यक्रमको सुरुमा नेपाल र बेलायतको राष्ट्रिय गान बजाइएको थियो भने दिवङ्गत पितृ तथा दिवंगत सदस्यहरुको सम्झनामा दुई मिनेट मौनधारण समेत गरिएको थियो ।
कार्यक्रममा संस्थामा आबद्ध भएका नयाँ सदस्यहरु र नवविवाहित दम्पतीहरुलाई भव्य स्वागत तथा सम्मान गरियो । अतिथि कलाकार शर्मिला गुरुङलाई पनि संस्थाका तर्फबाट विशेष सम्मानका साथ स्वागत गरिएको थियो । गायिका गुरुङले आफ्ना लोकप्रिय लोक दोहोरी गीतहरु प्रस्तुत गरेर हलमा उपस्थित दाजुभाइ तथा दिदीबहिनीहरूलाई नचाएकी थिइन् । त्यसैगरी स्थानीय कलाकारहरूले पनि गीत तथा नृत्य प्रस्तुत गरी कार्यक्रमलाई थप रोचक बनाएका थिए ।
यस भेटघाट कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष ‘कोसेली साटासाट’ रहेको थियो । जहाँ माइती र चेलीबेटीबीच मायाको चिनो र कोसेली आदानप्रदान गरी आत्मीयता साटिएको थियो । पुनम गुरुङले कुशलतापूर्वक सञ्चालन गर्दै उक्त कार्यक्रममा स्वास्थ्य तथा सुरक्षाका विषयमा पनि जानकारी दिएकी थिइन् । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष हर्क गुरुङले दिएका थिए ।
कार्यक्रमको समापन गर्दै अध्यक्ष हर्क गुरुङले टाढा–टाढाबाट उपस्थित भएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुलाई आभार व्यक्त गरे । उनले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी नयाँ वर्ष २०८३ को सुख, शान्ति र समृद्धिको शुभकामना समेत व्यक्त गरे । रात्रिकालीन भोज र राफल ड्र (भाग्यशाली चिट्ठा) सँगै कार्यक्रमको सुखद समापन भएको थियो ।






