लन्डन।स्वर्गीय मेजर जीसीओ लालबहादुर गुरुङको अन्तेष्टि कार्यक्रम सोमबार मे १८ तारिख अल्डरसट स्थित मिलिटेरी सिमेट्रीमा श्रद्धापूर्वक सम्पन्न गरिएको छ।
कार्यक्रममा आफन्तजन, पल्टने साथीभाइ, संघसंस्थाका प्रतिनिधीहरु, स्थानीय बेलायती मित्रहरू तथा शुभेच्छुक गरी करिब ४ सय जनाको सहभागिता रहेको थियो। धर्मगुरु खेन रिन्पोछे शिर लामाको नेतृत्वमा धार्मिक विधिअनुसार अन्त्येष्टि सम्पन्न गरिएको थियो। कार्यक्रमलाई तीन चरणमा विभाजन गरिएको थियो। प्रारम्भिक कर्मकाण्ड बिहान ९ बजेदेखि ११ बजेसम्म स्वर्गीय गुरुङको आफ्नै निवासमा नजिकका आफन्तजन र लामा गुरुहरूको उपस्थितिमा सम्पन्न भएको थियो। त्यसपछि उहाँको पार्थिव शरीरलाई अल्डरसट मिलिटेरी सिमेट्रीमा लगिएको थियो।
बिहान ११ः३० बजे पाइपर कृष्ण राईको ब्यागपाइप धुनसँगै आफन्तजनले कफिन बोकेर दफनस्थलसम्म पुर्याएका थिए। बाटोको दायाबाया मलामीहरुको बाक्लो उपस्थिति थियो। कार्यक्रममा खिलाङ समाजका संस्थापक अध्यक्ष लेफ्टिनेन्ट रिटायर्ड रनबहादुर गुरुङले संक्षिप्त मन्तव्य व्यक्त गर्दै मृतक परिवारको तर्फबाट उपस्थित सम्पूर्णप्रति धन्यवाद ज्ञापन गरेका थिए। स्व. मेजर गुरुङको जीवनी उहाँकै भतिज तथा खिलाङ समाज यूकेका महासचिव प्रकाश गुरुङले भावुक ढंगले प्रस्तुत गरेका थिए।
श्रद्धाञ्जली मन्तव्य दिनेहरूमा साला बेम गुरुङ, 2GR का तर्फबाट कर्णेल विलियम सटलउड OBE, घनिष्ठ मित्रका तर्फबाट कर्णेल विजयकुमार रावत तथा तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ रहेका थिए। परिवारको तर्फबाट जेठी छोरी लिना गुरुङले आफ्नो बुवाको गाउँको प्रारम्भिक जीवनदेखि मेजर जीसीओ पदसम्मको यात्रालाई स्मरण गर्दै उहाँको पारिवारिक जिम्मेवारी, मायालु स्वभाव र संघर्षपूर्ण जीवनबारे भावुक अभिव्यक्ति दिएकी थिइन्। उनले १३ वर्षको उमेरमा गाउँबाट काठमाडौंस्थित सेन्ट जेभियर्स स्कूलमा अध्ययनका लागि आएको समय तथा कर्णेल ल्याङल्याङसँगको पारिवारिक सम्बन्धबारे पनि चर्चा गरेकी थिइन्। उनको भावुक सम्बोधनका क्रममा उपस्थित धेरैका आँखा रसाएका थिए।
कार्यक्रम सञ्चालक प्रकाश गुरुङले विभिन्न संघसंस्थाबाट ल्याइएका श्रद्धाञ्जली स्वरूपका रिथ अर्पण गर्ने क्रम सञ्चालन गरेका थिए। २० भन्दा बढी संघसंस्थाले स्व. मेजर गुरुङप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। मेजर लालबहादुर गुरुङले सैनिक सेवाकालदेखि अवकाशपछिसम्म समाजमा सकारात्मक प्रभाव छाड्नुभएको स्मरण गर्दै क्या. रि. राजु गुरुङले गोर्खा मिडियासँग प्रतिक्रिया दिएका थिए। “उहाँप्रति जनमानसमा रहेको सम्मानकै कारण यति ठूलो संख्यामा मलामीहरूको उपस्थिति देखिएको हो,” उनले बताए।
दफन कार्य सम्पन्न भएपछि सहभागीहरू अल्डरसटस्थित एम्पाएर हलमा रिफ्रेसमेन्टका लागि पुगेका थिए। स्व. मेजर लालबहादुर गुरुङका श्रीमती, तीन छोरी, दुई ज्वाइँ तथा चार नातिनातिना रहेका छन्।













