'घुम्ती घुम्ती रोड', 'म त ठिटी गाउँले'लगायत चर्चित गीतमा स्वर दिने गायिका हुनुहुन्छ, रेनुका भट्टराई । एक दशककै अवधिमा लोकदोहोरी क्षेत्रमा स्थापित गायिका भट्टराई पछिल्लो तीन महिनादेखि बेलायतको सांगीतिक भ्रमणमा रहनुभएको छ । यहाँ विभिन्न कार्यक्रममा सहभागी हुँदै आउनुभएकी भट्टराईसँग गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुले 'हिँड्दा, हिँड्दै शृंखला'मा गरेको अन्तरंग कुराकानी :
तपाईं यूके कहिले आउनुभएको हो ?
म यूके आएको तीन महिना बितिसक्यो ।
कसको निमन्त्रणामा आउनुभयो ?
मलाई सिर्जनशील नेपाली समाज लेस्टरले उहाँहरूको कार्यक्रमका लागि निमन्त्रणा गर्नुभएको थियो, अप्रिल ७ मा । एउटा कार्यक्रम सकिइसक्यो । अर्को कार्यक्रम त बाँकी नै छ ।
कस्तो भयो कार्यक्रम ?
राम्रो भयो । म आउने बित्तिकै पहिलो कार्यक्रम थियो । म अप्रिल ७ मा युकेमा ल्यान्ड भएँ । अप्रिल ८ मा त्यता प्रोग्राम थियो । राम्रै भयो ।
अहिले के गरिरहनुभएको छ ?
अहिले पनि बेलायतका विभिन्न ठाउँहरूमा कार्यक्रम हुँदा खेरी यसैगरी हिँडिरहेकी छु ।
यूके बसाई ठिकै हुँदै छ ?
ठिकै छ । राम्रो छ ।
यूके र नेपाल हुँदाखेरी भिन्नता के पाउनुभएको छ ?
भिन्नता, नेपाल हुँदा खेरी अलि व्यस्त भइन्थ्यो । बेलायतमा पनि व्यस्त नै छु । नेपालमा कहिले स्टेज प्रोग्राम, कहिले लाइभ दोहोरीभन्दा आफ्ना लागि समय हुँदैनथ्यो । यहाँ (बेलायत)मा कार्यक्रम सीमित छ । रेस्ट छ । अनि घुमफिरमा व्यस्त छु ।
नेपालमा व्यस्त कलाकार, बेलायतमा आउँदा त छुट्टी मनाउन आएजस्तो हुन्छ रे हो ?
हप्तामा एउटा, दुइटा वा बढीमा तीनवटा । उता नेपालमा हप्तैभरी कार्यक्रम हुने । त्यो कारणले पनि रेस्ट गर्न आएजस्तो हुन्छ । ठिक छ, यो पनि चाहिएको थियो हामीलाई ।
अब तपाईंको व्यक्तिगत चिनारीतर्फ लागौँ, घर कहाँ हो ?
म जन्मेको अर्घाखाँचीमा । हामी अर्घाखाँची छोडेर बुटवल बसाइँ सरेको १७/१८ वर्ष भइसक्यो । बुवा, आमा बुटवलमै हुनुहुन्छ ।
सांगीतिक क्षेत्रमा कहिलेदेखि लाग्नुभयो ?
गीत, संगीतमा मलाई सानैदेखि रुचि हो । ठूलो भएपछि आधुनिक गीत गाउँछु भनेर क्लासहरू पनि लिने गर्थेँ । म कलेज पढ्नेताका बुटवलमा महोत्सव लागिरहेको हुन्थ्यो । त्यहाँ दोहोरी प्रतियोगिता चलिरहेको हुन्थ्यो । म सानैदेखि दोहोरीको टुक्का हान्न पनि सिपालु थिएँ । दोहोरी प्रतियोगितामा भाग लिएर म प्रथम भएँ । यो आजभन्दा ९ वर्षअगाडिको कुरा । त्यति बेला प्रथम भएँ । १० हजार कमाउनु भनेको मेराका लागि ठूलो कुरा थियो । मेरो प्रस्तुतिबाट खुसी हुनुभएर त्यहाँको उद्योग वाणिज्य संघले पोखरामा लेखनाथ महोत्सवको प्रतियोगितामा पठाएको थियो । त्यहाँ नेपालका विभिन्न जिल्लाबाट खारिएर आएका प्रतिस्पर्धीहरू हुनुहुन्थ्यो । त्यसमा म थर्ड भएँ । ३२/३२ हजार कमाएको थिएँ । ए! पैसा कमाउने त दोहोरी गाएर रहेछ भन्ने भयो । यस्तो गर्दा गर्दै प्रतियोगितामा हिँड्न थालेँ । त्यसरी मेरो सांगीतिक जीवन सुरु भएको हो ।
दोहोरी साँझमा नि काम गर्नुभयो कि ?
पढ्न भनेर काठमाडौँ आएर दोहोरी साँझमा १ महिना जति काम गरेँ । त्यसपछि धेरै काम गर्नु परेन । किनकि म ट्युसन पढाउँथेँ । ट्युसन पढाउँदै आफ्नो सांगीतिक जीवनलाई अगाडि बढाउँदै आएँ । त्यसपछि लाइभ दोहोरीमा गीत छोप्न भनेर जान थालेँ । गीत छोप्दा छोप्दै गाउनै थालेँ । अहिले दोहोरी गाउन युट्युब च्यानलहरूमा माग आइरहेको हुन्छ ।
लाइभ दोहोरी च्यानल थुप्रै खुलेका छन् नेपालमा, कस्तो छ बजार ?
एकदमै राम्रो चलिरहेको छ लाइभ दोहोरीको बजार । देशमा भन्दा पनि विदेशमा रहनुहुने नेपालीहरूले हाम्रो दोहोरी सुनेर इन्जोय गरिरहनुभएको हुँदो रहेछ । लाइभ दोहोरीलाई पनि एउटा व्यवसायको रूपमा हामीले अगाडि बढाइरहेका छौँ । कहिले आफ्नै र कहिले साथीभाइको युट्युब च्यानलमा गाउने गर्दा व्यस्त भइन्छ । माग लाइभ दोहोरीकै भएर म लाइभ दोहोरीमै बिजी छु ।
भनेपछि खुसी हुनुहुन्छ ?
एकदमै खुसी छु ।
युट्युब च्यानल चलाउनु भएको छ, आम्दानी कत्तिको छ ?
राम्रो हुन्छ । हप्तामा दुई/तीन वटा इपिसोड राख्ने गर्छौं लाइभ दोहोरीको । जति धेरै राख्यो, त्यति राम्रो हो । जे होस् सन्तोषजनक छ ।
युट्युबबाट मासिक आम्दानी कि चौमासिक ?
मन्थ्ली आउँछ । सिस्टम अनुसार आफ्नो बैंक खातामा आउन कम्तीमा १०० डलर हुनुपर्छ । महिनामा एउटा भिडियो राख्दा पनि सय डलर आउँछ । जति हेर्यो, त्यति आउने हो ।
लाइभ दोहोरी भिडियो नेपालका भन्दा पनि विदेशका दर्शकले हेरेमा आम्दानी बढी हुने भन्ने सत्य हो ?
नेपालभन्दा बाहिरी देशबाट हेर्दा इन्कम बढी भएको म आफैँले पनि फिल गरेँ । किनभने म यहाँ (आइसकेपछि) मेरा भिडियोहरू अलि बढी प्ले भइराख्थ्यो । पहिलेभन्दा मेरो इन्कम युट्युबबाट बढेको छ ।
यो सांगीतिक क्षेत्रमा तपाईं आफ्नै खुसीले आउनुभयो कि बाआमाको करकापले ?
म मेरै खुसीले आएकी हुँ । म सानैदेखि राम्रो पढिरहेकी थिएँ । राम्रै पढ्दापढ्दै गायन पेसातिर छोरी नगइदे देखिन् हुने भन्ने बाबाआमामा थियो । तर मलाई बच्चैदेखि गीतसंगीत मन पर्ने, गायिका बन्ने अठोट लिएको थिएँ । त्यसैले आफ्नै खुसीले आएकी हुँ । बाबाममीले मलाई डाक्टरी पेसातिर लैजाऔँ भन्ने थियो । खेतबारी बेचेरै भए पनि डाक्टर बनाउने बाबाको इच्छा । सुरु सुरुमा मसँग बाबा एकदमै निराश हुनुहुन्थ्यो । तर अहिले एकदमै खुसी हुनुहुन्छ उहाँहरू । सबैको सपोर्ट छ मलाई ।
तपाईंका बजारमा आएका गीतहरू के कस्ता छन् ?
धेरै छन् । मेरै युट्युब च्यानलबाट सार्वजनिक गरेकी छु । 'म त ठिटी गाउँले' त्यसको भ्युज मिलियन क्रस छ । 'बत्ती पिलीपिली', 'कुरकुरे बैंस' मेरो आफ्नै गीत हो । सम्झे आँसु झर्छ अस्ति भर्खर रिलिज भएको हो । मलाई चिनाउने गीत घुम्ती घुम्ती रोड पनि हो । सम्झे आँसु झर्छ स्याड गीत हो । यो गीत मलाई मन परेर अडियो मात्र सार्वजनिक गरेकी छु । अब नेपाल गएर भिडियो बनाउँछु । तर मलाई स्याड गीत गाउन सुहाउँदैन । म अलि रमाइला रमाइला गीत गाउने गर्छु ।
अब यूके कति समय बस्नुहुन्छ ?
तीन महिना बितिसक्यो । अब मसँग दुईदेखि ढाइ महिना बाँकी छ भिसा । तर मन लाग्यो भने जहिले जाँदा पनि भयो । पाएको कुरा युटीलाइज गर्ने ढंगले अब दुई महिना जति अझै बस्छु ।
यत्ति सुन्दरी गायिका, विवाह गर्नुभएको छ कि छैन ?
अहिलेसम्म मैले विवाह गरेको छैन । (हाँसो...)
यतै बस्ने मन त छैन ?
छैन । मलाई युकेमा चिसो लाग्छ झ्याप्पै । (हाँसो...) किनभने यहाँको वेदर चिसो छ ।
यूके मन परेन तपाईंलाई ?
एकदमै राम्रो । मन पर्यो । मलाई चिसो मन पर्छ तर शरीरले सहँदैन । त्यो त लेखा हो, भोलि बस्न पनि सकियो । तर अहिलेचाहिँ बस्दिनँ । (हाँसो...)
कसैको अफर आ छैन ?
अफर त आइहाल्छ नि ! बिहे नभएको केटी देखेपछि । युकेबाट नि आ छ, अरु ठाउँबाट पनि आ छ । अझै समय भएको छैन ।
कति वर्षपछि विवाह गर्ने सोच हो ?
अब म धेरैमा या थोरैमा तीन वर्ष बिहे गर्दिनँ । तर विवाह भनेको लेखा हो । नेपाल जाने बित्तिकै झ्याप्पै हुन पनि सक्छ ।
नेपाल र बेलायतको अवस्था कस्तो पाउनुभयो ?
नेपाल हुँदा अलि फुर्सदिलो । तर यहाँ बेलायतमा सबै जना बिजी । काम गर्नैपर्यो । मान्छे त उही हो । यहाँका बच्चाहरूमा अनुशासन देखेँ मैले । सबै जनाले माया गर्नुहुन्छ, नेपालबाट आएको कलाकार भन्नुहुन्छ । युके सफा छ, नेपालभन्दा कत्ति हो कत्ति यहाँ विकास भएको छ । शिक्षा, स्वास्थ्य राम्रो छ । त्यसलाई हेर्दा कहिलेकाहीँ यतैतिर बिहे गरौँ कि भन्ने हुन्छ । कस्तो राम्रो सिस्टम छ । यहाँ (बेलायत) को १० प्रतिशत मात्रै नेपालमा भइदियो भने राम्रो होला । हुँदै छ पनि । भइदियोस् भन्ने सबैको चाहना छ । हाम्रो देश बेलायतजस्तो कहिले हुने होला भन्छु म बाटोतिर हिँड्दा । सबै कुरा ठिक छ यूकेको ।
बेलायतको बसाइ कहाँ छ, अल्डरसट कतिन्जेल बस्नुहुन्छ ?
म बस्नचाहिँ मिडल्यान्डतिर बस्छु । उता दिदीभिनाजु हुनुहुन्छ । प्रोग्रामहरू हुँदा त आउँछु । ४/५ पटक आइसकेँ अल्डरसट । आउँछ अनि प्रोग्राम सकिसकेपछि फेरि फर्किन्छु ।
अबको कार्यक्रम ?
यही जुलाई ६ मा अल्डरसटमा, ७ मा पर्वत वेलफेयर सोसाइटीको । स्कटल्यान्डमा ८ तारिखमा छ । त्यस्तै जुलाई १५, २१, २२ मा पनि कार्यक्रम फिक्स भइसकेको छ । त्यतै भेटौँला ।
नेपाली संघसंस्था र दर्शकहरूलाई केही भन्न चाहनुहुन्छ ?
मलाई युकेमा आइसकेपछि दर्शकस्रोताहरुले धेरै माया गरिदिनुभएको छ । विशेषतः सिर्जनशील नेपाली समाज लेस्टरका अध्यक्ष पुन्डरीप्रसाद अर्याललगायत सामग्री टिमलाई धन्यवाद दिन चाहन्छु । जसले मलाई युकेसम्म ल्याइदिनुभयो । मेरो प्रस्तुतिलाई विभिन्न ठाउँमा राख्ने मौका दिनुभयो । अन्य दर्शकले पनि चिन्न पाउनुभयो । र, मलाई धेरैले कार्यक्रममा बोलाउनुभयो । उहाँहरूप्रति धेरै आभारी छु । अन्तिममा स्टाटस लेखुँला भन्ने छ। अझै यहाँहरू माया, आशीर्वादको खाँचो छ । मैले गल्ती गर्दा औँल्याइदिनुहोला, अह्राइदिनुहोला ।