बेलायत । हालै नेपालमा आएको विनाशकारी बाढी तथा रसुवा–भोटेकोशी क्षेत्रमा परेको प्राकृतिक विपदबाट प्रभावित तथा पीडित परिवारलाई दक्षिणपूर्व क्षेत्रीय तमु धीं लन्डन (SERTD, London) परिवार ले £५,२७२.०० (१० लाख ८० हजार ७०० रुपैयाँ) रकम सहयोग गरेको छ ।
दक्षिणपूर्व क्षेत्रीय तमु धीं लन्डन अध्यक्ष शिव राम गुरुङ बि.ई.एम तथा संस्थापक प्रमुख सल्लाहकार एवं सोलार फर्म नेपालका वर्तमान अध्यक्ष मोहन गुरुङले मन खोलेर सहयोग गर्ने सम्पूर्ण सहयोगदाताहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरे ।
त्यसैगरी, तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले केन्द्रलाई सहयोग प्रदान गरेकोमा दक्षिणपूर्व क्षेत्रीय तमु धीं लन्डनप्रति धन्यवाद ज्ञापन गरेका थिए ।
उक्त संकलित रकम हस्तान्तरणका लागि १७ सेप्टेम्बर २०२६, बिहीबार दक्षिणपूर्व क्षेत्रीय तमु धीं लन्डनले समाजको आफ्नै भवन, अबिउड, लण्डनमा अध्यक्ष शिव राम गुरुङ बिईएमले तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङलाई हस्तान्तरण गरेका थिए ।

औपचारिक कार्यक्रमको सञ्चालन सचिव कमल गुरुङले गरेका थिए । उक्त रकम तमु धीं यूकेमार्फत नेपाल सरकारलाई छिट्टै हस्तान्तरण गरिने जानकारी गराइएको छ । रकम हस्तान्तरण कार्यक्रममा तमु धीं यूके आमा समूहकी अध्यक्ष कमला देवी गुरुङ, गोर्खा मिडियाका प्रवन्ध निर्देशक मिलन गुरुङ, दक्षिणपूर्व क्षेत्रीय तमु धीं लण्डनका संस्थापक अध्यक्ष चन्द्रमान गुरुङ तथा उनका धर्मपत्नी बबिता गुरुङ, संस्थापक प्रमुख सल्लाहकार मोहन गुरुङ, कोषाध्यक्ष दिकपाल गुरुङ, निवर्तमान उपाध्यक्ष तथा आमा प्रमुख बिन्दु गुरुङलगायतको उपस्थिति रहेको थियो ।
त्यसैगरी, ११औँ कार्यसमितिका सदस्य खड्का बहादुर गुरुङ तथा उनका धर्मपत्नी पूर्ण कुमारी गुरुङ, नन्दराज गुरुङ, DBC UK का संस्थापक अध्यक्ष तथा वरिष्ठ साहित्यकार सुमल कुमार गुरुङ तथा उनका धर्मपत्नी DBC UK का आमा समूह अध्यक्ष तथा साहित्यकार सारा देवी गुरुङ, BNC का संस्थापक अध्यक्ष, वर्तमान बिजीनेसाका अध्यक्ष तथा सल्लाहकार केशबहादुर गुरुङ, नेपालबाट बेलायत भ्रमणमा आएका स्वस्तिक ग्रुपका अध्यक्ष तथा तमु बौद्ध सेवा समितिका सचिव लक्ष्मी गुरुङलगायतको उपस्थिति रहेको थियो ।
सन् २००२ मा स्थापना भएको दक्षिणपूर्व क्षेत्रीय तमुधी लन्डनले स्थापना कालदेखि नै धर्म, संस्कार, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धनसँगै विभिन्न सामाजिक तथा परोपकारी कार्यहरू गर्दै आइरहेको छ ।
सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै भदो १० मा नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारहरूको सहयोगका लागि संस्थाले आफ्ना सदस्यहरू तथा शुभेच्छुकसमक्ष सहयोगको आह्वान गरेको थियो ।
यस अभियानमा बेलायतमा रहेका धेरै महानुभावहरू जोडिएका थिए र उनीहरूले आफ्नो क्षमता तथा इच्छाअनुसार उदारतापूर्वक सहयोग गरेकोमा दक्षिणपूर्व क्षेत्रीय तमु धीं लन्डन परिवार उनीहरू सबैप्रति धन्यवाद र आभार व्यक्त गरेको छ ।
संकलित सहयोग रकमलाई कसरी प्रभावकारी रूपमा वास्तविक पीडित परिवारहरूसम्म पुर्याउने भन्ने विषयमा संस्थाभित्र छलफलपछि तमुधी यूकेमार्फत उक्त सहयोग रकम सम्बन्धित पीडितहरूसम्म पुर्याउने निर्णय गरिएको थियो । सोही निर्णयअनुसार संकलित रकम तमुधी यूकेलाई हस्तान्तरण गरिएको संस्थाले जानकारी दिएको छ । आगामी दिनहरूमा पनि यस्तै सामाजिक तथा मानवीय कार्यहरूमा केन्द्रसँग सहकार्य गर्दै निरन्तर सहयोग गर्ने दक्षिणपूर्व क्षेत्रीय तमु धीं लन्डनले योजना बनाएको छ ।
विनाशकारी विपद्मा ज्यान गुमाउनुहुने सम्पूर्ण दिवंगत आत्माहरूप्रति दक्षिणपूर्व क्षेत्रीय तमुधी लण्डन परिवारले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै चिरशान्तिको कामना गरेको छ । साथै, शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।
विपद्को समयमा सहयोग, सद्भाव र मानवीय भावना प्रदर्शन गर्ने सम्पूर्ण सदस्यहरू, शुभेच्छुक तथा सहयोगीहरूप्रति दक्षिणपूर्व क्षेत्रीय तमु धीं लन्डन परिवारले धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ ।

