लन्डन । तमु धीं यूकेले भोटेकोशी बाढीपीडितका लागि १ करोड ३१ लाख ११ हजार १११ रुपैयाँभन्दा बढी राहत रकम संकलन गरेको छ ।
संकलित रकममध्ये १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिनेछ भने करिब २० लाख रुपैयाँ प्रभावित क्षेत्रमा पुगेर प्रत्यक्ष राहत वितरणमा खर्च गरिने भएको छ।
आइतबार, २० सेप्टेम्बरका दिन तमु भवन, मिचेटमा आयोजित पत्रकार सम्मेलनमार्फत संस्थाले राहत अभियानबारे जानकारी दिएको हो ।
तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङका अनुसार नेपाल पुगेपछि अर्थमन्त्री डा. स्वर्णीम वाग्ले र गृहमन्त्री सुदन गुरुङलाई राहत रकमको चेक हस्तान्तरण गरिनेछ ।
त्यसैगरी बाढी प्रभावित क्षेत्रमा प्रत्यक्ष राहत वितरण गर्न संस्थाको ६ सदस्यीय टोली १० दिनका लागि नेपाल प्रस्थान गर्दैछ। टोलीमा अध्यक्ष जुमकाजी गुरुङ, वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, उपाध्यक्ष कमल कोने गुरुङ, महासचिव डा. विशाल गुरुङ, सचिव विमल गुरुङ र आमा समूहकी अध्यक्ष कमलादेवी गुरुङ रहेका छन् ।
टोलीका सबै सदस्यले आफ्नो व्यक्तिगत खर्चमा नेपाल यात्रा गर्न लागेको अध्यक्ष जुमकाजी गुरुङले बताए ।
गत २६ अगस्टमा आएको विनाशकारी बाढीपछि तमु धीं यूकेले नेपाली मेला स्थगित नगरी त्यसलाई बाढीपीडित सहयोग अभियानमा परिणत गर्ने निर्णय गरेको थियो । त्यसपछि बेलायतस्थित नेपाली समुदाय, विभिन्न संघसंस्था, संस्थाका सदस्य तथा नेपाली मेलामा सहभागी सर्वसाधारणबाट सहयोग संकलन गरिएको हो ।
तमु धीं यूकेले गत महिना लन्डनमा आयोजना गरेको १७औं नेपाली मेलाबाट भएको बचत, ट्रेल वाक च्यारिटीबाट संकलित रकम, पदाधिकारी तथा सदस्यहरूको योगदान र बेलायतका विभिन्न संघसंस्थाबाट प्राप्त सहयोगलाई राहत अभियानमा समेटिएको जनाएको छ ।
महासचिव डा. गुरुङले राहत रकम नेपाली मेलाबाट मात्रै संकलन नभएको स्पष्ट पार्दै विभिन्न क्षेत्र र संघसंस्थाबाट प्राप्त सहयोगसमेत समावेश रहेको बताए ।
पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष परशु गुरुङले स्वागत तथा धन्यवाद मन्तव्य दिएका थिए । कार्यक्रमको सञ्चालन महासचिव डा. विशाल गुरुङले गरेका थिए भने मिडिया सेक्रेटरी एसके गुरुङले पत्रकारहरूको परिचय गराएका थिए । कार्यक्रममा पत्रकारहरूलाई सम्मानसमेत गरिएको थियो ।