अल्डरसट, लन्डन । २ सय ७ वर्षदेखि बेलायती सेनामा कार्यरत ब्रिटिस गोर्खाहरुको संगठन ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी) अभियानको बृहत् ऐक्यबद्धता भेला सम्पन्न भएको छ ।
यही अप्रिल २३ तारिख २०२३ का दिन अल्डरसटस्थित द प्यालेस रेस्टुरेन्टमा सीएनसीबीजीका अध्यक्ष थर्क रानाको अध्यक्षतामा भेला सम्पन्न भएको हो । बेलायतमा रहेका ३ दर्जनभन्दा बढी संघसंस्थाका प्रतिनिधि र आम समुदायको उपस्थितिमा भएको कार्यक्रम हालै दिवंगत भएका भिक्टोरिया क्रस विजेता क्या.रामबहादुर लिम्बुलाई श्रद्धाञ्जली अर्पण गर्दै मौन धारण गरी सुरु भएको थियो ।
सन् १८१५, २ डिसेम्बरका दिन ब्रिटिस ईस्ट इण्डिया कम्पनी र तत्कालीन नेपाल सरकारको बीचमा भएको सन्धिअनुसार, नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डतालाई अक्षुण राख्न विगत दुई सय सात वर्षदेखि बेलायती सेनामा गोर्खाहरु कार्यरत छन् । दुई शताब्दीदेखि निरन्तर राज्यलाई रेमिट्यान्स भित्र्याएर नेपालको अर्थतन्त्रलाई महत्वपूर्ण योगदान गर्नुका साथै भारत तथा बेलायतलगायत कैयौ मुलुकहरुबीचको दौत्य सम्बन्धको प्रमुख कडीको रुपमा रहेका गोर्खाहरुलाई नेपालको नागरिकता ऐन २०६३ को धारा १० को उप दफा (१) ले (नेपालको कुनै पनि नागरिकले आफूखुशी विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम रहने छैन) अनागरिक बनाएकोले, उक्त दफा १० को (१) लाई संशोधन गरी त्रिपक्षीय सन्धिअनुसार भर्ती भएका गोर्खा र तिनका सन्ततिको हकमा उक्त दफा लागू हुने छैन भनी संशोधन गराउन निरन्तर लागिरहेका छन् ।
नागरिकता ऐन २०६३ को उक्त दफा संशोधनको लागि विभिन्न समयमा नेपालका राष्ट्रपति, सभामुख, प्रधानमन्त्री तथा राजनीतिक पार्टीका नेताहरुसँग प्रत्यक्ष भेटघाट, अन्तरक्रियाका साथै ज्ञापनपत्र बुझाउने जस्ता कार्यहरु हुँदै आएको र प्रमुख राजनीतिक पार्टीका नेताहरुबाट सकारात्मक प्रतिक्रिया दिँदै आए पनि सार्वभौम सम्पन्न सदनमा नागरिकता निरन्तरताको गहन छलफल र बहसको विषयसम्म बन्न नसकेको अवस्थामा, मुद्दालाई कसरी प्रभावकारी बनाउन सकिन्छ र सरकारी विधेयकमार्फत सरकारलाई यो माग सदनमा राखि पारित गराउन बाध्य पार्न सकिन्छ भन्ने विषयमा मूलत: छलफल केन्द्रित भएको अध्यक्ष रानाले बताए ।
भेलामा सीएनसीबीजीका उपाध्यक्ष दलबहादुर बुढाथोकीले अभियानको अवधारणा प्रस्तुत गर्दै सन्धि गरेर आफ्ना नागरिकलाई विदेशी सेनामा पठाएर नागरिकता खोस्नु भनेको मानव बेचबिखनसरह भएको बताउँदै वंशजको नागरिकता स्वयं व्यक्तिले त्यागेको खण्डमा बाहेक राज्यले खोस्न नसक्ने अन्तर्राष्ट्रिय कानुन र मानव अधिकारको पालना गर्न आग्रह गरे ।
भेलामा बीजीडब्लुएसका अध्यक्ष मेजर टिकेन्द्रदल देवान जेपी, प्रवक्ता पदम गाहा, कोषाध्यक्ष भीम राना, गेसोका संस्थापक अध्यक्ष पदमबहादुर गुरुङ, सल्लाहकार भगवान चाम्लिङ राई, एनआरएनएका यूकेका अध्यक्ष प्रेम गाहामगर, तमुधिं यूकेका अध्यक्ष हरि गुरुङ, मगर संघ यूकेका महासचिव (प्रतिनिधि) गुमानसिङ थापा, गेसोका प्रतिनिधि हेमबहादुर तामाङ, गोर्खा मगर समाज युकेका अध्यक्ष यामबहादुर राना,बुटवल समाजयुके का अध्यक्ष क्या. रि. ताम ढेगा, मगर बुद्धिस्ट सोसाइटी यूकेका अध्यक्ष टीकाराम थापा,क्याम्बेर्लि गोर्खा नेपालिज सोसाइटी का बरिस्ठ सल्लाहकार मे.रि टेक बहादुर गुरुङ,तमु फोरम का डाईरेक्टर क्या.रि राजु गुरुङ,मगर संङ्घ युकेका पुर्व अध्यक्ष तथा इन्टेक १/७२ का प्रतिनिधि मे.रि कूल बहादुर थापा, लमजुङ समाज यूकेका अध्यक्ष दलबहादुर गुरुङ, एचके नेपाली मन्च यूकेका अध्यक्ष विश्वजंग गुरुङ ।
त्यसैगरी बागलुङ समाज यूकेका धन बुढाथोकी, गोर्खा नेपाली समाज पिटर्सबोरोका अध्यक्ष मनिराज जोल्मी, पर्वत वेल्फेर सोसाईटी युकेका अध्यक्ष अप्सरा गुरुङ, पंयुखोला तमु समाज युकेका अध्यक्ष क्या रि नरबहादुर गुरुङ एमभिओ बिईएम, खोसोभोका अध्यक्ष मे:रि भीमबहादुर गुरुङ, फोक्स्टन नेपाली कयुनिटी यूकेका अध्यक्ष झविन्द्र थापा, स्यान्डर्स् नेपाली कमुनिटीका अध्यक्ष नेत्र थापा बराल, मगर संघ यूकेका सल्लाहकार क्या रि रामबहादुर पुन, फोनिज यूकेका अध्यक्ष गोमा राना, काउन्सिलर नेम थापा, खोसोभोका सल्लाहकार दिर्घा गुरुङ, बन्दिपुर आबु समाज युकेका अध्यक्ष नारायणसिङ गुरुङ, ट्र्स्टी मद्दत समुहका क्या:रि बिर बहादुर थापालगायतले सुझावसहित अभियानप्रति ऐक्यबद्धता जाहेर गरेका थिए ।
भेलाले मुददलाई शसक्तीकरण गराउन निरन्तर बृहत् भेला गर्दै जाने, हरेक संघ संस्थामा छलफल र बहस गराई अझै संगठित हुँदै जाने, नागरिकता निरन्तरतरता बारेमा देश विदेशमा आमनेपालीहरु माझ छलफल र बहस चलाई समर्थन जुटाउँदै जाने पनि निर्णय गरेको छ ।
करिब पाँच घण्टा लामो चलेको भेलालाई सीएनसीबीजीका उपाध्यक्ष शोभराज गुरुङले स्वागत भाषण गरेका थिए भने समितिका सचिव भक्त रानाले कार्यक्रम संचालन गरेका थिए । अभियानबारे विस्तृतरुपमा प्रस्ट पार्दै सम्पूर्ण गोर्खा र सन्ततिहरुलाई अभियानमा सहभागिताको अपिलसहित अध्यक्ष थर्क रानाले ५ बजे भेला बिसर्जन गराएका थिए ।