लन्डन । भूतपूर्व ब्रिटिस गोर्खा उत्तरबहादुर गुरुङ बेलायतको अल्डरसटस्थित वेलिङटन वार्डमा काउन्सिलर उम्मेदवार बनेका छन् ।
६६ वर्षीय गुरुङ आउँदो मे ७ मा हुने स्थानीय निर्वाचनमा सत्तारुढ पार्टी लेबरका तर्फबाट काउन्सिलर उम्मेदवार बनेका हुन् । लेबर पार्टी अभियानमा सन् २००७ देखि नै जोडिएका गुरुङ सन् २०११ पछि सक्रिय बने । सन् २०२४ मा सम्पन्न बेलायतको आमनिर्वाचनमा त उनी लेबर नेतृ अलेक्स बेकरलाई जिताउन मैदानमा निकै खटिए । अलेक्स बेकरले अल्डरसट क्षेत्रबाट लेबर सांसद पनि जितिन् ।
त्यतिबेलैदेखि अलेक्ससंग निकट रहेका उत्तरबहादुर लेबरको आग्रहमै वेलिङटन वार्डमा काउन्सिलर उम्मेदवार बनेका छन् । उनकै वार्डमा अर्का नेपाली एवं तमु धीं यूकेका महासचिव डा.विशाल गुरुङ पनि कन्जरभेटिभ पार्टीबाट उम्मेदवार बनेका छन् ।
आफूले काउन्सिलर नबन्दै, वेलफेयर अफिस नहुँदा पनि भूतपूर्व वृद्धवृद्धालाई सन् २००६, ०७ देखि धेरै कल्याणकारी काम गरेको र अब पनि निरन्तरता दिने उनले बताए । समुदायमा ‘एण्टी सोसल बिहेभीयर’ बढेको जनगुनासो आएकाले प्रहरीसँग समन्वय गरी त्यसको नियन्त्रणमा काम गर्ने उनको एजेण्डा छ । जनताको स्वास्थ्य सेवा छिटो र सुलभ बनाउन लाग्ने पनि उनले बताए ।
उनले लेबर पार्टीले नै लामो प्रोसेसपछि आफूलाई वेलिङटन वडामा उठाएको जनाए । गुरुङले अहिले आफ्नो चुनाव प्रचारप्रसारलाई तीव्रता दिइरहेका छन् । चुनावी अभियानमा उनलाई लेबर सांसददेखि काउन्सिलरहरुले समेत सघाएका छन् ।
तमु धीं यूके ह्याम्पसायरमा १२ वर्ष अध्यक्षको जिम्मेवारी सम्हालेका उनी ग्रेटर रसमोर नेपलिज कम्युनिटी (जीआरएनसी) का वर्तमान उपाध्यक्ष हुन् । भाचोक, मादी गाउँपालिकाका स्थायी बासिन्दा उनी विगत ४६ वर्षदेखि पोखरा महानगरपालिका वडा नं १३ बीपी मार्गमा बस्दै आएका छन् । बेलायत अल्डरसट निवासी उनले ब्रिटिस आर्मीमा १९ वर्ष सेवा गरेर अवकास लिएका हुन् ।