गोर्खा डोको च्यालेन्ज साउथ २०२६।
धम्पुसको उकालो–ओरालोमा डोको बोकेर हुर्किएको एउटा गाउँले ठिटोको लागि आजको दिन केवल एउटा चुनौती पूरा गरेको दिन मात्र होइन। जीवनको अनेक संघर्ष, स्मृति र यात्रालाई फेरि एकपटक सम्झने विशेष अवसर पनि बन्यो।
बाल्यकालमा गाउँको उकाली, ओराली, घाँस, दाउरा र दैनिक जीवनको आवश्यक सामग्री बोकेर हिँडेको ती दिनहरू आज पनि मनमा ताजै छन। त्यही संघर्ष, परिश्रम र सहनशीलताले जीवनको हरेक मोडमा अगाडि बढने शक्ति दियो। आज बेलायतमा आयोजित गोर्खा डोको च्यालेन्ज पूरा गर्दै गर्दा ती सबै सम्झनाहरू फेरि मानसपटलमा जीवित भए।
आज मैले केवल एउटा डोको मात्र बोकेको होइन। आफ्नो संघर्ष, संस्कृति, पहिचान, पुर्खाहरूको विरासत र गोर्खाली आत्माको गौरव पनि साथमा बोकेको थिए।
युकेको व्यस्त जीवनशैली र विभिन्न जिम्मेवारीका बाबजुद पनि मैले यस कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखे। किनकि यो केवल शारीरिक चुनौती मात्र नभई हाम्रो इतिहास, संस्कृति र मौलिक पहिचान सँग जोडिएको अभियान हो। साथै, आफूलाई शारीरिक तथा मानसिक रूपमा परीक्षण गर्ने अवसरको रूपमा पनि मैले यसलाई लिएको थिए।
गुरुङ सोसाइटी केन्ट यूकेको अध्यक्षको हैसियतले आफ्नो समाजको प्रतिनिधित्व गर्दै यो चुनौती पूरा गर्न पाउनु मेरो लागि थप गर्वको विषय बन्यो। आफ्नो समुदायको प्रतिनिधित्व गर्दै यस अभियानमा सहभागी हुन पाउँदा म अत्यन्त गौरवान्वित महसुस गरेको छु।
आज बेलायतमा मौसम पनि एकदमै घमाइलो रह्यो। सहभागीहरूको उत्साह, आपसी सद्भाव र सकारात्मक वातावरणले आजको दिनलाई अझ विशेष र अविस्मरणीय बनायो। यो चुनौती सफलतापूर्वक पूरा गर्न पाउँदा म अत्यन्त खुशी, आत्मसन्तुष्टि र हर्षित छु।
भूपू गोर्खाहरूको हितका लागि सञ्चालन गरिएको यस अभियानमा सहभागी हुन पाउँदा म आफूलाई भाग्यमानी ठानेको छु। आज प्राप्त गरेको यो मेडल केवल धातुले बनेको एउटा वस्तु मात्र होइन। यसले मेरो संघर्ष, मेहनत, समर्पण र जीवन यात्राको अनगिन्ती सम्झनाहरू बोकेको छ।
धन्यवाद। 