लन्डन । इन्टेक १९८६ को ४०औँ वार्षिकोत्सव भव्य रूपमा मनाउने तयारी गरिएको छ ।
शनिबार ३१ जनवरी २०२६ मा प्यालेस रेस्टुरेन्ट, अल्डरसटमा इन्टेक १९८६ ले वार्षिकोत्सव मनाउन लागेको हो । इन्टेक १९८६ का अध्यक्ष, मेजर (से.नि.) योगेश राईका अनुसार, ४०औँ वार्षिकोत्सवमा सुन र विभिन्न प्रकारका पुरस्कारसहित भाग्योदय चिट्ठा, परिवार तथा छोराछोरीहरुलाई बधाई तथा सम्मान , स्थानीय तथा अन्तर्राष्ट्रिय कलाकारहरू र इन्टेककै स्वयंसेवक कलाकारहरूको प्रस्तुति रहने छन् ।
सोही अवसरमा नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरिने कार्यक्रम रहेको इन्टेक १९८६ का अध्यक्ष, मेजर (सेनि) योगेश कोयी राईले बताए । उनका अनुसार वार्षिकोत्सवको अवसरमा, दिवंगत भएका ११ जना नम्बरीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरू शारीरिक रूपमा नरहे पनि इन्टेक १९८६ का सपरिवारका मन र सम्झनामा सधैँ अमर रहने छन् ।
इन्टेक १९८६ का करिब ३०० जना सैनिकहरू एकैसाथ ब्रिटिस सेनामा भर्ती भई तत्कालीन 1/2 GR, 2/2 GR, 6 GR, 7 GR, 10 GR, QGE, QGS, GTR , Band of the Brigade of Gurkhas, Clerks तथा अन्य ट्रेडमा पोस्टिङ भएका थिए ।
नम्बरी राईले भने, 'नम्बरी भनेको केवल साथी मात्र होइन, एकै परिवारका दाजुभाइ हुन् । हामीहरुले हङकङ (सेक कङ)मा ९ महिनाको कठोर तालिम एकसाथ पूरा गरी आ–आफ्नो युनिटमा पोस्टिङ भएको थियौं । तालिमपछि छुट्टिनु अत्यन्तै भावुक र दुःखद् क्षण थियो, तर हाम्रोहरुको भाइचाराको सम्बन्ध कहिल्यै कमजोर भएन । यही कारणले इन्टेक १९८६ हरेक वर्ष पुनर्मिलन गर्दै, सुख–दुःख साट्दै, एकअर्काको साथ र सम्मानलाई निरन्तरता दिँदै आइरहेका छौं ।'
समय बिहान ११ देखि राति ११:५९ बजेसम्म हुने छ ।