लन्डन । पछिल्ला केही हप्तायता भूपू ब्रिटिस गोर्खा सैनिकहरूका प्रतिनिधि संस्था जी–टेनका सदस्यहरूबीच सामाजिक सञ्जालमा मतभेद देखिँदै आएको थियो । यही पृष्ठभूमिमा गोर्खा सैनिकहरूको लामो समयदेखि चलिरहेको माग सम्बन्धीवार्तालाई चाँडो निष्कर्षमा पुर्याउने उद्देश्यले बेलायतस्थित नेपाली दूतावासको पहलमा जनवरी २३ तारिख एक महत्वपूर्ण बैठक सम्पन्न भएको छ ।
नेपाली दूतावासका कार्यवाहक राजदूतको उपस्थितिमा दूतावासमै बसेको भूपू गोर्खा सैनिकहरूको बैठक जी–टेनले गोर्खा समुदायको तर्फबाट सबै पक्षलाई स्वीकार्य हुने साझा एजेन्डा तयार गरी सहमति जनाएको हो । उक्त एजेन्डामा गोर्खासँग सम्बन्धित विभिन्न जी–टेनका प्रतिनिधिहरूले संयुक्त रूपमा हस्ताक्षर गरी बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीलाई औपचारिक रूपमा हस्तान्तरण गरेका छन्।
बैठकमा गोर्खा सत्याग्रहका संयोजक कृष्णबहादुर राई, ब्रिटिस गोर्खा वेलफेयर सोसाइटीका अध्यक्ष मेजर टिकेन्द्रदल देवान (जेपी), मेजर जुदबहादुर गुरुङ, धन गुरुङ, पुष्पा राणा घले, विष्णु गुरुङ, गेसोका धर्म तामाङ, बिजीनेशाका प्रतिनिधि दिल जिसी लगायतको उपस्थिति रहेको थियो ।
बैठकपछि ब्रिटिस गोर्खा वेलफेयर सोसाइटीका अध्यक्ष मेजर टिकेन्द्रदल देवानले आफ्ना सदस्यहरूलाई भाइबर समूहमार्फत जानकारी दिँदै बैठक सकारात्मक र निर्णायक चरणमा पुगेको उल्लेख गरेका छन् ।
'चार्ज डी अफेयर्सले अत्यन्तै राम्रो र संगठित बैठकको नेतृत्व गर्नुभयो। हाम्रो प्रस्तावहरूको सूचीमा सबैले हस्ताक्षर गरिसकेका छन् र ती रक्षा मन्त्रालयमा पठाउन तयार भएको छ । अब वास्तविक खेल सुरु भएको छ । रक्षा मन्त्रालयबाट आउने पहिलो प्रतिक्रियाले हाम्रो आगामी दिशा स्पष्ट गर्नेछ । हामी वार्ताको निर्णायक चरणमा पुगेका छौँ । प्रगति हुँदै जाँदा सबैलाई जानकारी गराइनेछ । यस समयमा म आशावादी छु ।'
भूपू गोर्खा सैनिकहरूको लामो समयदेखिको संघर्षमा साझा एजेन्डामार्फत एकता देखिनु वार्ता प्रक्रियाका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ ।
