लन्डन। एपीपीजी नेपालका अध्यक्ष तथा अल्डरसट, फार्नबरो क्षेत्रका सांसद अलेक्स बेकरले भूपू ब्रिटिश गोर्खा सैनिक तथा उनीहरूका परिवारसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकी छन् ।
फार्नबोरोस्थित ब्रिटिश गोर्खा वेलफेयर सोसाइटी (BGWS)को भवन ‘गोर्खा भवन’मा गत १९ डिसेम्बरमा अन्तरक्रिया सम्पन्न भएको हो । केही महिनाअघि सांसद बेकरले आफ्नै निर्वाचन क्षेत्रमा रहेका गोर्खा समुदायका समस्या सुन्न आयोजना गरेको छलफलपछि भएका प्रगतिबारे जानकारी दिन उक्त बैठक आयोजना गरिएको हो। सो प्रयोजनका लागि बीजीडब्लुएसका अध्यक्ष मेजर टिकेन्द्रदल देवान जे.पी. तथा सांसदका नेपाली सहयोगी प्रमिला तामाङको समन्वयमा भूपू गोर्खा भेट्रानहरूलाई भेला गरिएको थियो ।
करिब एक घन्टा चलेको कार्यक्रमको सुरुवातमा सांसद बेकरले गोर्खा भेट्रानहरूसँगको भेटघाटका लागि बीजीडब्लुएसले आफ्नै भवन उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरिन् । त्यसपछि उनले गोर्खा समुदायसँग सम्बन्धित विभिन्न विषयमा धारणा राखिन् ।
उनले व्यस्त समयमा मेडिकल अपोइन्टमेन्टका लागि बस पास प्रयोग गर्दा देखिने समस्याबारे स्पष्ट पार्दै, अपोइन्टमेन्ट पत्र साथमा देखाएमा बस पास मान्य हुने व्यवस्था रहेको जानकारी दिइन् । सो व्यवस्था व्यवहारमा लागू नभए आवश्यक सुधारका लागि थप पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन् ।

पेन्सन पाउने गोर्खाहरूको नेपाल बसाइको अवधि बढाउने मागबारे आफूले निरन्तर काम गरिरहेको बताउँदै उनले यस विषयमा सकारात्मक समाधान खोजिने विश्वास दिलाइन् ।
छिमेकमा इङ्ग्ल्यान्डको झन्डा राखिएको विषयमा गोर्खा भेट्रानहरूलाई सतर्क रहन, कुनै पनि जातीय भेद्भाव वा दुर्व्यवहार भएमा चुप नबस्न, प्रहरीमा उजुरी दिन र आफूलाई जानकारी गराउन उनले अनुरोध गरिन् । गोर्खा भेट्रानहरू सम्मानजनक र सुरक्षित बसोबासको हकदार भएको उल्लेख गर्दै, यदि कुनै घरधनीले हीटर, पानी वा बैठक कोठा प्रयोगमा अवरोध गरेमा त्यस्ता गुनासा सुन्न र समाधानका लागि आवासमा नै पुगेर निरीक्षण गर्न आफू तयार रहेको उनको भनाइ छ ।
उनले गोर्खा भेट्रानहरूको घरघरमा पुगेर उनीहरूको जीवनस्तर बुझ्न र आवश्यक सुधार गर्न आफू इच्छुक रहेको स्पष्ट पार्दै, बिना हिचकिचाहट आफ्ना समस्या साझा गर्न आग्रह गरिन् । पेन्सनसम्बन्धी प्रगतिबारे मेजर देवानले विस्तृत जानकारी दिन सक्ने पनि उनले उल्लेख गरिन् ।
डिसेम्बर १६ मा भेट्रान मन्त्रीसँग जी-१० समूहको बैठक सुनिश्चित गर्न निकै कडा प्रयास गर्नुपरेको जानकारी दिँदै उनले उक्त बैठक फलदायी हुने आशा व्यक्त गरिन् । साथै, भविष्यमा हुने सबै बैठकहरू जी-१० ले सकारात्मक रूपमा उपयोग गर्ने विश्वास व्यक्त गरिन् । गोर्खा मुद्दामा नेपाली दूतावाससँग नजिकबाट सहकार्य भइरहेको जानकारी पनि उनले गराइन् ।
अन्त्यमा उपस्थित गोर्खा भेट्रानहरूको जिज्ञासाको उत्तर दिँदै सांसद बेकरले सबैलाई क्रिसमस तथा नववर्षको शुभकामना व्यक्त गर्दै कार्यक्रमबाट बिदा लिइन् । उक्त अवसरमा बीजीडब्लुएसका अध्यक्ष मेजर देवानले भेट्रान मन्त्रीसँगको जी-१० बैठक हालसम्म सकारात्मक रूपमा अगाडि बढिरहेको जानकारी गराए । तर, सरकारबाट पेन्सनसम्बन्धी औपचारिक प्रस्ताव नपाएसम्म सत्याग्रह समूह बैठकमा सहभागी हुन अनिच्छुक रहेकाले थप प्रगतिमा कठिनाइ आएको र डिसेम्बर २८ मा तय भएको बैठक रद्द भएको जानकारी दिए । यद्यपि, सत्याग्रह समूहले आफ्नो अडान पुनर्विचार गर्ने र सबैको हितमा वार्ता पुनः अगाडि बढ्नेमा आफू आशावादी रहेको उनले बताए ।
कार्यक्रममा बीजीडब्लुएसका अध्यक्ष, सदस्यहरू रामलाल श्रेष्ठ, मिनबहादुर गुरुङ, सांसद बेकरका नेपाली सहयोगी प्रमिला तामाङ तथा करिब ३० जना गोर्खा भेट्रानहरूको उपस्थिति रहेको थियो ।
