लन्डन । बेलायतका लागि कार्यवाहक नेपाली राजदूत बिपिन दुवाडीले भूपू गोर्खाहरूको समूह ‘जी १०’ सँग १४ नोभेम्बर २०२५ मा लन्डनस्थित दूतावासमा महत्वपूर्ण छलफल गरेका छन् ।
ग्लास्गो भ्रमणबाट फर्किएलगत्तै राजदूत दुवाडीले थप समन्वयका लागि समूहलाई छलफलमा आमन्त्रण गरेका थिए । गत १२ जुलाईपछि जी–टु–जी अन्तर्गत कुनै औपचारिक बैठक बसेको थिएन ।
छलफलका क्रममा राजदूत दुवाडीले बेलायत सरकार गोर्खा मुद्दाको समाधानतर्फ केही लचिलो देखिएको र दुवै पक्षका लागि स्वीकार्य हुनसक्ने किफायती समाधान खोज्न इच्छुक रहेको जानकारी दिए । उनका अनुसार, अडानभन्दा संवादमार्फत व्यावहारिक नतिजा निकाल्न सकिने वातावरण बन्दै गएको बताए ।
करिब तीन घण्टा लामो छलफलमा जी१० समूहका प्रतिनिधिहरूले आफ्ना धारणाहरु राखेका थिए । समूहका सदस्यहरूका अनुसार बैठक अत्यन्तै रचनात्मक तथा सकारात्मक वातावरणमा सम्पन्न भयो ।
गोर्खा भेट्रान्सहरूको दीर्घकालीन गुनासो र मागहरूको प्रारम्भिक मैत्रीपूर्ण समाधान खोज्ने दूतावासको भूमिकाप्रति समूहले धन्यवाद प्रकट गर्दै बेलायत सरकारको किफायती प्रस्ताव भेट्रान्सहरूका लागि स्वीकार्य हुन सक्ने प्रतिक्रिया जनायो ।
बैठकमा कार्यवाहक राजदूत बिपिन दुवाडी, रक्षा सहचारी ब्रिगेडियर जनरल अनुप शाह, प्रथम सचिव सम्झोक राई तथा गोर्खा भेट्रान्स तर्फबाट धन गुरुङ, पुष्पा राणा घले, धर्म तामाङ (गेसो), मेजर रिटायर्ड टिकेन्द्र दल देवान जेपी (बीजीडब्लूएस) र केश गुरुङ (बीजीएनईएसए) उपस्थित थिए ।