लन्डन । ब्रिटिस गोर्खा वेलफेयर सोसाइटी (बीजीडब्लुएस)का अध्यक्ष मेजर (रि.) टिकेन्द्र दल देवान जेपी बेलायती प्रधानमन्त्री किर स्टार्मरले १० डाउनिङ स्ट्रिटमा आयोजना गरेको स्मृति स्वागत समारोह (रिमेम्बरेन्स रिसेप्सन) मा सहभागी भएका छन् ।
नेपालसम्बन्धी सर्वदलीय समूहकी अध्यक्ष तथा बेलायती सांसद एलेक्स बेकरको निमन्त्रणामा मेजर देवान ३ नोभेम्बर २०२५ मा आयोजित उक्त समारोहमा सहभागी भएका हुन् । उक्त प्रतिष्ठित कार्यक्रममा मेजर देवान गोर्खा समुदायका प्रतिनिधिका रूपमा दुई जना सेवारत जवानसहित सहभागी भएका थिए । उनले यो अवसरलाई 'गोर्खा समुदायको पहिचान र योगदानप्रतिको सम्मान'को रुपमा लिएको बताएका छन् ।
कार्यक्रमका क्रममा सांसद बेकरले मेजर देवानलाई रक्षामन्त्री जोन हेली, भेटेरान मन्त्री लुइस स्यान्डर-जोन्स, सुरक्षामन्त्री डान जार्भिस र रोयल ब्रिटिस लिजनका महानिर्देशक मार्क एट्किन्सनसँग परिचय गराइन् । छोटो तर अर्थपूर्ण संवादमा देवानले गोर्खासम्बन्धी जारी अभियानका मुख्य विषयबारे छलफल गर्ने अवसर पाएको बताए ।
उनले उक्त भेटले आगामी दिनमा भेटेरान मन्त्रीसँग हुने औपचारिक भेटको मार्ग खुलाएको समेत उल्लेख गरेका छन् ।
कार्यक्रममा प्रधानमन्त्री किर स्टार्मरले उपस्थित भेटेरान र सेवारत सदस्यहरूलाई देशका लागि गरेको त्याग र समर्पणप्रति आभार व्यक्त गर्दै भावनात्मक सम्बोधन गरेका थिए ।

मेजर देवानले यस्तो अवसर प्रदान गरेकोमा सांसद बेकरप्रति धन्यवाद व्यक्त गर्दै भने, 'यो केवल सम्मान मात्र होइन, गोर्खा समुदायको आवाज उच्चस्तरमा पुगोस् भन्ने हाम्रो निरन्तर प्रयासको मान्यता पनि हो ।'
त्यस्तै उनले आगामी रिमेम्ब्रेन्स सन्डेका अवसरमा बिजिडब्लुएसका ५५ सदस्यहरूले सेनोटाफ परेडमा भाग लिने जानकारी गराए । जसमा यो सोसाइटीको २२औँ सहभागिता हुनेछ । साथै, अल्डरसटस्थित गोर्खा भिक्टोरिया क्रस विजेता कुलवीर थापाको प्रतिमामा पुष्प अर्पण तथा गोर्खा भवनमा फ्रेस मेसिङसहित कार्यक्रम समापन हुने उनले बताए ।
मेजर देवानका अनुसार, स्मृति स्वागत कार्यक्रमले हप्ताको उत्कृष्ट सुरुवात मात्र होइन, गोर्खा समुदाय र ब्रिटिस समाजबीचको आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने अवसर पनि प्रदान गरेको छ ।