लन्डन । बेलायतमा ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी)को ‘ग्रान्ड च्यारिटी डिनर नाइट’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
अल्डरसटस्थित एम्पायर हलमा आइतबार २६ अक्टोबर २०२५ मा आयोजित कार्यक्रम नेपालमा भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण तथा गोर्खा र तिनका सन्तानहरूको नेपाली नागरिकता निरन्तरताका लागि सहयोग जुटाउने उद्देश्यले भएको हो ।
सीएनसीबीजीका अध्यक्ष थर्क राना मगर, उपाध्यक्ष दल बुराथोकी मगर, बेलायतस्थित नेपाली दूतावासका द्वितीय सचिव तथा प्रमुख अतिथि संजोक राई र तृतीय सचिव तथा विशेष अतिथि झुपलाल पुन मगरले संयुक्त रूपमा दिप प्रज्वलन गरेर डिनर नाइट कार्यक्रम उद्घाटन गरेका थिए ।

अध्यक्ष थर्क राना मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रम महासचिव भक्त राना मगरले सञ्चालन तथा स्वागत मन्तव्य राखेका थिए । उपाध्यक्ष दल बुराथोकी मगरले सीएनसीबीजीका उद्देश्यबारे प्रकाश पार्दै संगठनको सामाजिक उत्तरदायित्वबारे बताएका थिए भने सहप्रवक्ता दीर्घ गुरुङले नागरिकता निरन्तरतासम्बन्धी प्रकाश पारेका थिए ।
साँझको सांस्कृतिक कार्यक्रममा नेपालबाट आएकी चर्चित गायिका कामना ओली, नृत्याङ्गना अश्मिता पुरी, स्थानीय कलाकारहरू तथा सीएनसीबीजीका उपाध्यक्ष सोब घोताने, दीपक मैथाने मगर र क्याप्टेन वीरबहादुर थापाले आकर्षक प्रस्तुति दिएका थिए ।
कार्यक्रम संयोजक उपाध्यक्ष नेत्र आले रहेको समारोहमा अध्यक्ष थर्क राना मगरले सबै उपस्थित अतिथि तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्दै सीएनसीबीजीको अभियानमा निरन्तर साथ र सहयोगको लागि पुन: आग्रह गरे ।
प्रमुख अतिथि सञ्जोक राईले पनि कार्यक्रममा प्रमुख अतिथिका रूपमा आमन्त्रण गरेकोमा गौरव अनुभव भएको बताए ।

कार्यक्रममा बेलायतमा सक्रिय विभिन्न संघ संस्थाका अध्यक्षहरु, प्रतिनिधि र नेपालीहरुको उपस्थिति थियो । तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा समूहकी अध्यक्ष कमला देवी गुरुङ, मगर संघ यूकेका अध्यक्ष लालबहादुर पुन (लालु), गुरुङ सोसाइटी केन्ट यूकेका अध्यक्ष गोलमान गुरुङ, ग्रेटर रश्मूर नेपाली कम्युनिटीका अध्यक्ष लिला सेलिङ माबो, किरात राई यायोक्खा यूकेका अध्यक्ष मेजर दिलकुमार राई, आशा राई, गुल्मी जिल्ला समाज यूकेका अध्यक्ष रुद्र थापा, गोर्खा जिल्ला समाज यूकेका अध्यक्ष कर्ण दर्लामी मगर, मगर संघ यूकेका उपाध्यक्ष विष्णु श्रीस, पूर्वउपाध्यक्ष अनिता रानामगर, नेपाल आदिवासी जनजाति महासंघ बेलायतका पूर्वअध्यक्ष कर्मा पहाडी शेर्पा, वर्तमान कार्यसमितिका महासचिव फ्रम दुरा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेका अध्यक्ष बम सूर्यवंशी थापा, निवर्तमान अध्यक्ष गोमा राना, तमु धीं यूकेका महासचिव डा विशाल राई, सचिव विमल गुरुङ, गोर्खा अभियन्ता धनबहादुर गुरुङलगायत विभिन्न संघ, संस्थाका अध्यक्ष तथा प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, पेसाकर्मी, पूर्वब्रिटिस आर्मी, पत्रकारलगायतको उपस्थिति थियो ।











