डम्फु तामाङ जातिको पहिचान हो । यो हाम्रो संस्कृति, धर्म र परम्पराको आत्मा हो । डम्फुको आवाजले मनमा आनन्द, श्रद्धा र गर्व जगाउँछ । तामाङको हरेक चाडपर्व, व्रतबन्ध, विवाह, ल्होछार, पूजा-आजामा डम्फुको ध्वनि अनिवार्य हुन्छ ।
आदिवासी तामाङको पहिचान र परिचयसँग जोडिएको डम्फु नेपालीहरुकै साझा बाजा बन्न लागेको छ । तामाङले आफ्नो सांस्कृतिक क्रियाकलाप संचालन गर्दा विशेष गरेर शुभकार्यमा बजाइने यो बाजा अचेल सबै समुदायले प्रयोग गर्न थालेका छन् । ओसारप्रसार गर्न सजिलो र मिठो धुन सिर्जना हुने भएकाले डम्फुको प्रयोग तामाङ बाहेकका अन्य समुदायले पनि मनोरन्जनका लागि प्रयोग गर्ने गरेको पाइन्छ ।
तामाङ भाषामा डम्फुको नाम डाम्बा हो । तामाङ मिथक अनुसार प्राचीनकालमा तामाङ म्हेमे (पुर्खा) पेङदोर्जे नामका ताम्बाले आफ्नो प्रेमिकालाई खुसी बनाउनका लागि कोइरालोको रूखको घेरामा मृगको छालाले मोडेर ३२ किला ठोकेर डम्फुमा बनाएका हुन् ।
निर्माणको मौलिक स्वरूप:
डम्फु बनाउनु सामान्य कुरा होइन । यसलाई धेरै सधैंपूर्वक र धार्मिक विधिले तयार गरिन्छ। यो कोइराला काठको घेरोमा (ताङ्गि) मृर्गको छाला मोरेर चोयाको ३२ किला ठोकेर बनाइन्छ ।
• कोइराला काठ: डम्फुको सिङ्गो शरीर, (विशेष प्रकारको काठ)
• ताङ्गि - घोरल वा मृगको छाला हो, जसले डम्फुमा प्राकृतिक ध्वनि ल्याउँछ।
• ३२ किला भन्ने अर्थ - ३२ लक्षणयुक्त, अर्थात् शुभ शक्ति र सद्गुणले भरिएको ब्रह्माण्डीय शक्तिको प्रतीक मानिन्छ।
• चोया - बाँसको किला हो, जसले डम्फुलाई मजबुत र जीवन प्रदान गर्छ ।
डम्फु तयार भएपछि ताम्बा र गान्बा - अर्थात् गन्यमान्य व्यक्तिहरूले पूजापाठ गरेर मात्र बजाउने अनुमति दिन्छन् ।
डम्फुको धार्मिक र सांस्कृतिक प्रयोग:
डम्फु बजाउने परम्परा विशेषतः ब्रतबन्ध, विवाह, ल्होछार,(नयाँ वर्ष) र अन्य धार्मिक अनुष्ठानमा गरिन्छ। यी अवसरमा ताम्बा र गान्बाहरुले कुल देवता आह्वान गर्ने, पूर्वजहरूको आत्मालाई सम्झने, र सम्पूर्ण समुदायलाई एकतामा बाँध्ने कार्य डम्फुका ध्वनिबाट गर्छन् । डम्फुको तालमा बजाइने गीत र नृत्यलाई डम्फु सेलो भनिन्छ, जसले माया, प्रकृति, परम्परा र पहिचानको कथा सुनाउँछ । तामाङ जातिको जीवन, संघर्ष, माया, खुशी र पीडा सबै कुरा डम्फुको तालमा जीवित हुन्छन् । देशप्रेम र संस्कृतिको भावना मिसिएको हुन्छ। डम्फु बज्दा केवल ताल होइन -तामाङको आत्मा बोल्छ । डम्फु तामाङ जीवनका सबै खुशी र धर्मसँग जोडिएको छ।
• व्रतबन्धमा - आत्मिक शुद्धता र संस्कारको प्रतीक।
• विवाहमा बजाउँदा - नयाँ जीवनको शुरुवातको प्रतीक।
• ल्होछार र चाडपर्वमा - खुशी, माया र एकताको प्रतीक।
डम्फुको अर्थ सांस्कृतिक पहिचान र प्रतीक:
डम्फु तामाङ समुदायको गौरव र पहिचान हो । यसको स्वरमा पर्वत, जंगल, चरन, आकाश र आत्माको स्पन्दन मिसिएको हुन्छ। डम्फु केवल वाद्य होइन यो एक जीवित प्रतीक हो, जसले तामाङ जातिको इतिहास,संस्कार सस्कृति र आत्मीयता बोकेको छ ।
निष्कर्ष:
डम्फु तामाङ समुदायको गर्व हो । यसले हाम्रो इतिहास, संस्कार र पुर्खाहरूको सम्झना गराउँछ। डम्फुबिना तामाङ संस्कृति अधुरो हुन्छ। यो संगीत होइन - यो आत्मा हो । डम्फुको तालले आकाश, धर्ती र मान्छेको मन जोड्छ । डम्फु हाम्रो जीवन, धर्म र संस्कृतिसँग जोडिएको अमूल्य मौलिक बाजा हो । हामी जहाँ गए पनि, जब डम्फुको आवाज सुनिन्छ, त्यो हाम्रो पहिचानको धड्कन हो । डम्फु तामाङको हृदय हो - जसको धड्कन ताम्बा र गान्बाको हातबाट निस्कने तालमा चलिरहन् छ। यसको प्रत्येक किला, प्रत्येक ध्वनि, प्रत्येक तालमा तामाङ पहिचानको गर्व लुकेको छ । त्यसैले डम्फु बजाउँदा त्यो केवल संगीत मनोरञ्जन मात्रै होइन, एक पवित्र संवाद हो - मानव र प्रकृतिबीचको डम्फु तामाङको गर्व हो - डम्फुको तालमा नै तामाङ जातिको आत्मा बाँचिरहेको छ।
लेखक: सागर तामाङ (नृत्य निर्देशक, संगीतकार र निर्देशक)