शिब कुमार गुरुङ
पछिल्ला केही दिनदेखि उडान र होटल व्यवस्थापन रद्द गर्ने झन्झट, रिफन्डको अनिश्चितता, र त्यसले निम्त्याएको आर्थिक तथा मानसिक तनाव झेलिरहेको छु। तर यी सबैभन्दा ठूलो पीडा भनेको वर्षौँदेखि मनमा बोकेको एउटा सपना अधुरै रहनु हो।
सन् १९८३ मा ब्रिटिस गोर्खा सैनिकका रूपमा ‘ओभरसिज एक्सरसाइज’ का क्रममा मैले पहिलोपटक सिंगापुर देखेको थिएँ। त्यो समयको सिंगापुर र आज ४३ वर्षपछि अत्याधुनिक रूपमा विकसित सिंगापुरलाई आफ्नै आँखाले तुलना गर्ने मेरो पुरानो इच्छा थियो। त्यस्तै, सन् १९८२ देखि १९९४ सम्म आफ्नो सैनिक जीवनका ऊर्जावान् वर्षहरू बिताएको हङकङलाई फेरि नियाल्ने, पुराना मित्रहरूसँग भेट्ने र विगतका स्मृतिहरू ताजा गर्ने मेरो अर्को चाहना पनि थियो।
भ्रमण तालिका अनुसार मार्च १२ का दिन दिउँसो ३:३० बजे म र मेरो परिवार लन्डनबाट दोहा हुँदै सिंगापुर र त्यसपछि हङकङतर्फ उड्नुपर्ने थियो। तर त्यो सुनौलो योजना एकाएक अधुरो रह्यो। केही दिनअघि एअरलाइनबाट आएको एउटा छोटो ईमेलले त्यो वास्तविकता स्पष्ट गरिदियो—
“Dear Customer, we're really sorry that your upcoming flights have been cancelled.”
यो सानो सन्देशले मेरो यात्राको योजना मात्र होइन, वर्षौँदेखि मनमा पलाएको एउटा सपना पनि रोकिदियो।
फेब्रुअरी २८, २०२६ को रात—जब विश्वले शान्ति र सहअस्तित्वको सन्देशलाई अझ बलियो बनाउनु पर्ने थियो—त्यही समयमा शक्तिशाली राष्ट्रका नेताहरूको निर्णयले मध्यपूर्वलाई फेरि युद्धको भुङ्ग्रोमा धकेल्यो। कसैले यसलाई सुरक्षा रणनीति वा राजनीतिक आवश्यकताको रूपमा व्याख्या गर्न सक्छन्। तर धेरै मानिसहरूको नजरमा यो शक्ति प्रदर्शन, अहंकार र अदूरदर्शिताको परिणामजस्तै देखिन्छ।
मेरो व्यक्तिगत क्षति त केवल एउटा अधुरो यात्रा मात्र हो। तर त्यस क्षेत्रका लाखौँ निर्दोष मानिसहरूका लागि यो युद्ध जीवन र मृत्युको प्रश्न बनेको छ। खाडी क्षेत्रका विभिन्न देशहरूमा रहेका हाम्रा कतिपय इष्टमित्र र आफन्तहरू आज अनिश्चितता र भयको वातावरणमा जीवन बिताइरहेका छन्। उनीहरूका लागि प्रत्येक दिन एउटा संघर्षजस्तै बनेको छ।
युद्धको वास्तविक पीडा आँकडामा होइन, मानिसहरूको जीवनमा देखिन्छ। इरानमा भएका बमबारीले कति अबोध बालबालिकाको मुस्कान खोस्यो, कति आमाहरूको काख रित्तियो र कति परिवार सधैँका लागि विछोडमा परे। युद्धले ध्वस्त बनाएका भवनहरू भविष्यमा फेरि निर्माण हुन सक्छन्, तर गुमेका जीवनहरू कुनै प्रविधि, कुनै सम्पत्ति वा कुनै शक्ति प्रयोग गरेर पनि फिर्ता ल्याउन सकिँदैन।
२१औँ शताब्दीमा मानव सभ्यताले आफूलाई ‘ग्लोबल भिलेज’ को रूपमा व्याख्या गर्छ—जहाँ विश्वका मानिसहरू एकअर्कासँग आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा जोडिएका छन्। तर शक्ति र सत्ताको उन्मादमा एउटा क्षेत्रलाई युद्धमा धकेल्नु मानव सभ्यताकै लागि गम्भीर विडम्बना हो। प्रगति, प्रविधि र विकासको युगमा पनि हिंसा र विनाशलाई समाधानको माध्यम बनाइँदा त्यो सभ्यताको कमजोरी नै हो।
बुद्धको दर्शनले मानव जीवनमा करुणा, अहिंसा र सहअस्तित्वको मार्ग देखाउँछ। हिंसा र पीडाबाट जन्मिएको विजय कहिल्यै स्थायी हुँदैन। इतिहासले बारम्बार देखाएको सत्य यही हो कि युद्धले अन्ततः सबै पक्षलाई घाइते बनाउँछ—कसैलाई शारीरिक रूपमा, कसैलाई मानसिक रूपमा, र कसैलाई नैतिक रूपमा।
मेरो अधुरो यात्रा सायद अर्को वर्ष पूरा हुन सक्छ। तर यो युद्धले निम्त्याएको मानवीय पीडा र क्षति इतिहासको पानामा लामो समयसम्म एउटा कालो धब्बाको रूपमा अंकित रहनेछ।
अन्ततः युद्धले सायद नेताहरूको अहंकारलाई केही समयका लागि सन्तुष्ट बनाउन सक्छ, तर यसले साधारण मानिसहरूको सपना, शान्ति र जीवनलाई भने सधैँका लागि नष्ट गरिदिन्छ।