गुरुङ (तमु) समुदायको आदिम थलो, ऐतिहासिक र धार्मिक महत्वको पवित्र भूमि, क्व्होलासोँथार । सन् २०१८ तमु धीं यूकेको संयोजनमा पहिलो पटक यो भूमिमा पाइला राख्दा आफूलाई धन्य ठानेको थिएँ । लागेको थियो, यति सुन्दर स्थानमा फेरि आइपुग्न सकुँला कि नसकुँला । सौभाग्यवश: यसपालि पनि त्यहाँ पुग्ने अवसर मिल्यो । यो यात्राको तारतम्य मिलाएको थियो, तमु प्ये ल्हु संघले । यो केवल भ्रमण मात्र थिएन, आफ्ना पुर्खाको इतिहास, संस्कृति र पहिचान खोज्ने एउटा पवित्र यात्रा थियो ।
हाम्रो यात्रा १६ अप्रिलमा बेलायतबाट सुरु भयो । कतार एयरवेजमार्फत दोहा हुँदै १७ अप्रिल बेलुका काठमाडौँ आइपुग्यौँ । १८ अप्रिलमा पोखरा पुगेर तमु प्ये ल्हु संघको केन्द्रमा ‘छ्योप’ र ‘थासो’ पूजा गरी यात्रा सफलताको कामना गरियो । साँझ आयोजित कार्यक्रमले यात्राप्रतिको उत्साह झन् बढायो । त्यहाँ पत्रकार सम्मेलन गरेर यात्राको उद्देश्यबारे जानकारी दिइएको थियो ।

१९ अप्रिलमा टोली पोखराबाट बिदा भयो । टोलीमा तमु प्ये ल्हु संघका अध्यक्ष क्याप्टेन डेमबहादुर गुरुङ, आमा समूहकी अध्यक्ष बबिता प्हच्यु तमुलगायत विशिष्ट व्यक्तित्वहरू हुनुहुन्थ्यो । बसमार्फत यात्रा गर्दै हामी लमजुङको बेँसीसहर पुग्यौँ । त्यहाँ क्वोइबो धींको अवलोकन र आर्थिक सहयोगसमेत हस्तान्तरण गरियो । त्यसपछि घलेगाउँ पुग्यौँ । जहाँ सिस्नुको झोल, निउरो र कोदोको रोटीको स्वादिलो खाजाले गरिएको स्वागत भुल्न नसकिने बन्यो ।
घलेगाउँबाट भुजुङसम्मको यात्रा भने निकै चुनौतीपूर्ण रह्यो । बाटोभरि असिनापानी परे पनि उत्साह कम भएन । साँझपख भुजुङमा गाउँलेहरूले भव्य स्वागत गरे । त्यहाँको होमस्टेमा घाटु नाच, सोरठी र कृष्ण चरित्रजस्ता सांस्कृतिक कार्यक्रम हेर्ने अवसर मिल्यो । ८५ वर्ष उमेरका बाजेहरूले समेत नाचेको, गाएको र मादल बजाएको दृश्यले सबैलाई आश्चर्यचकित बनायो ।

भोलिपल्टको पदयात्रा अझ कठिन थियो । बेलायतबाट आएका २३ जनासहित भरिया र सहयोगी गरी ५३ जनाको टोली भुजुङबाट क्व्होलासोँथारतर्फ लाग्यो । चर्को घाम, भीषण वर्षा, असिना, उकालो–ओरालो, भीरपाखा र खोला पार गर्दै हामी निरन्तर हिँडिरह्यौँ । बाटो निकै अप्ठ्यारो थियो । खोलामा पानी यति बढेको थियो कि पुल बगाउला जस्तो लाग्थ्यो । विशेषगरी महिला टोलीलाई निकै गाह्रो भयो, तर सबैले साहसका साथ यात्रा पूरा गर्यौँ । करिब १२ घण्टाको कठिन यात्रापछि राति ९ बजे ङ्हसिखोँको गोठमा पुगेर बास बस्यौँ ।
तेस्रो दिनको यात्रा अझ चुनौतीपूर्ण थियो । साँघुरा गोरेटो, भीर र अप्ठ्यारा बाटाहरू पार गर्दै करिब ९ घण्टापछि अन्ततः हामी क्व्होलासोँथार (क्होला सोँप्रे ट्हो) पुग्यौँ । त्यहाँ पुग्ने बेला फेरि असिनापानी परिरहेको थियो । तर जब हामीले त्यो पवित्र भूमिमा पाइला टेक्यौँ, मनमा अवर्णनीय आनन्दको अनुभूति भयो ।

वरिपरि हिउँले ढाकिएको दृश्य, शान्त वातावरण र विशाल हिमाली भूभाग हेर्दा स्वर्ग पुगेजस्तो लाग्यो । अचम्म त के थियो भने, बाटोभरि दुःख दिएको मौसम क्व्होलासोँथार पुगेपछि भने एकदम सफा र घमाइलो बन्यो, मानौँ प्रकृतिले नै हाम्रो स्वागत गरिरहेको हो ।
समुद्री सतहबाट उच्च स्थानमा रहेको त्यो आदिम थलोमा तमु प्ये ल्हु संघको झण्डा फरफराइरहेको देख्दा मन गर्वले भरियो । ‘क्व्होंला भाइ खलक’ले निर्माण गरेको धर्मशालामा दुई रात बितायौँ ।
पच्यु चिबा जीत गुरुङ र घ्याब्री चिबाहरूले सिमे–भूमे (पितृभूमि) पूजा सम्पन्न गर्नुभयो । अर्को दिन क्होला सोँप्रे ट्होका पुराना भग्नावशेष, घरका जग, ओखल, घट्ट र ओडारहरूको अवलोकन गर्यौँ । डा. पोलबहादुर गुरुङको अनुसन्धानका लागि भिडियो डकुमेन्ट्री छायांकनमा पनि सहभागी भयौँ ।

अप्रिल २३ मा हामी क्व्होलासोँथारबाट सिक्लेसतर्फ लाग्यौँ । अत्यन्तै ठाडो ओरालो र कठिन बाटो पार गर्दै सिक्लेसको हाइड्रोपावर नजिक पुगेर खाना खायौँ र त्यहाँबाट जिपमार्फत सिक्लेस पुग्यौँ । च्यीउली क्होंइबोका अध्यक्ष बलबहादुर गुरुङ र आमा समूहले भव्य स्वागत गर्नुभयो । त्यहाँ सांस्कृतिक कार्यक्रम र डा. पोलबहादुर गुरुङको सम्मान कार्यक्रम सम्पन्न भयो ।
भोलिपल्ट बिहान सिक्लेसकै नम्चु च्यीउली युँउला क्होंइबोमा स्वागत गरिएको थियो । खाना पनि त्यहीँ खायौँ । त्यहीँ बिदाइ गरिएको थियो । त्यसपछि पोखरा फर्कियौँ । पोखरामा डा. गुरुङले क्व्होलासोँथारसम्बन्धी आफ्नो अध्ययन प्रोजेक्टरमार्फत प्रस्तुत गर्नुभयो । यस यात्राले तमु जातिको पुर्ख्यौली इतिहास, संस्कृति र पहिचानलाई अझ नजिकबाट बुझ्ने अवसर दियो ।

अन्ततः मे पहिलो साता सबै जना सकुशल बेलायत फर्कियौँ । यो यात्रा मेरो जीवनको अविस्मरणीय र गर्विलो अध्याय बनेर सधैँ स्मृतिमा रहनेछ । जय जन्मभूमि !