बेलायत । ल्हेगें दाजुभाइ तथा चेलीबेटीहरूको १८औँ वार्षिक भेटघाट कार्यक्रम शनिबार, २३ मे २०२६ का दिन सामोयल कोडी स्कुलमा भव्य रूपमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा ल्हेगे परिवारका सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रमको सुरुवातमा महासचिव मनोज ल्हेगें गुरुङले उपस्थित सबैलाई स्वास्थ्य तथा सुरक्षा (हेल्थ एन्ड सेफ्टी) का साथै कार्यक्रमको कार्यतालिकाबारे जानकारी दिए । त्यसैगरी, सल्लाहकार लोक ल्हेगें गुरुङले स्वागत मन्तव्य राखेका थिए । संस्थाका अध्यक्ष अशोक ल्हेगें गुरुङ र ज्येष्ठ नागरिक आमा तिलकुमारी गुरुङले संयुक्त रूपमा पानसमा बत्ती बालेर कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए । उद्घाटनपश्चात् गुरुङ, नेपाली र अङ्ग्रेजी राष्ट्रिय गान बजाइएको थियो ।
सो अवसरमा ल्हेगें परिवारका सदस्य तथा हालै दिवंगत भएका ल्हेगेंका भिनाजु मेजर लालबहादुर गुरुङको स्मृतिमा दुई मिनेट मौन धारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो । संस्थाका अध्यक्ष अशोक ल्हेगें गुरुङले धन्यवाद दिदैं ल्हेगेंका बारेमा जानकारी गराउँदै मन्तव्य राखेका थिए ।
कार्यक्रममा नेपालबाट आएकी चर्चित राष्ट्रिय कलाकार शर्मिला गुरुङ ल्हेगेंलाई विशेष अतिथिका रूपमा स्वागत तथा सम्मान गरिएको थियो । सो क्रममा दाजुभाइ तथा चेलीबेटीका तर्फबाट उनलाई मायाको चिनो प्रदान गरिएको थियो भने कलाकार शर्मिला गुरुङ (सरु) ले पनि नेपालबाट ल्याएको टोपी र मायाको चिनो दाजुभाइहरूलाई उपहार स्वरूप प्रदान गरिन् ।
कार्यक्रममा नयाँ दम्पतीहरुसहित उनका बाबाआमाका साथै नेपाल र अमेरिकाबाट आएका ल्हेगें सदस्यहरूलाई पनि चेलीबेटीहरुले स्वागत तथा सम्मान गरिएको थियो । सांस्कृतिक खण्डमा कलाकार शर्मिला गुरुङले आफ्ना लोकप्रिय लोक तथा दोहोरी गीतहरू प्रस्तुत गरेर उपस्थित सबैलाई मनोरञ्जन गराएकी थिइन् ।
कार्यक्रमको अर्को आकर्षणका रूपमा राफल ड्र (चिठ्ठा) कार्यक्रम रहेको थियो । जसको प्रथम पुरस्कार स्वरूप सुन राखिएको थियो । उक्त सुनको प्रायोजन सल्लाहकार गेम ल्हेगेंले गरेका थिए । सम्मान कार्यक्रमको सञ्चालन पुनम ल्हेगें तमुस्यो र महासचिव मनोज ल्हेगें गुरुङले संयुक्त रुपमा गरेका थिए ।
खानातर्फ 'गोर्खा प्यालेस' ले बारबीक्यू बुफे खानाको व्यवस्था गरेको थियो भने 'गोर्खा मिडिया' ले कार्यक्रमको फोटो तथा भिडियो गरेको थियो । कार्यक्रमको अन्त्यमा अध्यक्ष अशोक ल्हेगेले सबैलाई धन्यवाद ज्ञापन गरेपछि सामूहिक नृत्यसँगै कार्यक्रमको समापन गरिएको थियो ।




