लन्डन । बेलायतको प्रतिष्ठित क्यान्टबरी क्राइष्ट चर्च विश्वविद्यालयले पूर्वगोर्खा सैनिक, कीर्तिमानी पर्वतारोही र अपाङ्गता अभियानकर्मी हरिबहादुर बुढामगरलाई मानार्थ विद्यावारिधि दिएको छ ।
गत मंगलबार क्यान्टरी कथेड्रलमा आयोजित दीक्षान्त समारोहमा बुढामगरलाई अपाङ्गताका बारेमा समाजमा चेतना जगाउन, पर्वतारोहणमा कीर्तिमान कायम गरेको र अपाङ्गता भएका खेलाडीको रूपमा उहाँको उपलब्धिको कदर गर्दै मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरिएको हो । रोल्पामा जन्मिएका बुढामगर १९ वर्षको उमेरमा बेलायती सेनामा भर्ती भएका थिए । उनले बेलायती सेनामा १५ वर्ष सेवा गरे । सेवाकै क्रममा अफगानिस्तानमा खटिएको बेला सन् २०१० विष्फोटक पदार्थमाथि टेक्न पुग्दा उनले दुवै खुट्टा घुँडाभन्दा माथि गुमाएका थिए ।
त्यसपछि बुढामगरले आफ्नो जीवनलाई अपाङ्गताका बारेमा चेतना जगाई जीवनमा सकारात्मक रूपमा परिवर्तन ल्याउन समर्पित गरेका छन् ।
हाल बेलायतको क्यान्टबरीका बासिन्दा बुढामगर अपाङ्गता भएका मानिसहरूले पनि गर्न सक्छन् भन्ने देखाउन प्रतिवद्ध छन् । उनले सन् २०१७ मा मेरा पिक, बेलायतको सबैभन्दा अग्लो बेन नेभिस, माउन्ट टौबकल, र चुलु फार इस्टको आरोहण गरिसकेका छन् ।
सम्मानपछि बुढामगरले प्राज्ञिक अध्ययनका साथै मानिसले जीवनमा भोगेको भोगाइको पनि महत्व हुँदोरहेछ भन्ने आफूलाई महसुस भएको बताए ।
दीक्षान्त समारोहमा दीक्षित हजारौँ विद्यार्थीहरूलाई सम्बोधन गर्दै उनले आफ्नो कथाबाट जीवनमा हार स्वीकार गर्न, हार नमान्न र जीवनले जस्तोसुकै मोड लिए पनि आफ्नो सपना पछ्याउन प्रेरित गर्ने विश्वास व्यक्त गरे ।
बुढामगरसँगै विभिन्न पेशा, व्यवसाय र कर्मबाट समाजमा उल्लेख्य योगदान दिनुहुने अरू तीन जनालाई पनि मानार्थ विद्यावारिधिले सम्मान गरिएको छ ।
यसअघि अर्का कीर्तिमानी पर्वतारोही निर्मल पुर्जालाई पनि बेलायतको लोफ्बोरो विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरेको थियो ।