फार्नबोरो । छ गोर्खा राइफल्स (6GR)को वार्षिक भेटघाट कार्यक्रम बेलायतको फार्नबोरोस्थित स्याम्युल कोडी स्कुल हलमा भव्यताका साथ सम्पन्न भएको छ ।
संयोजक मेजर खुशीमान गुरुङको नेतृत्वमा सेप्टेम्बर २० तारिखका दिन छ गोर्खा राइफल्सको भेटघाट कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम हललाई पल्टनको गौरव झल्काउने गरी सजाइएको थियो । ए, बी, सी, डी, सपोर्ट र हेडक्वार्टर कम्पनी तथा १४/२० किङ्ग्स हुजार्सका झन्डाहरू कलर सार्जन्ट कुमार गुरुङको नेतृत्वमा आकर्षक ढंगले राखिएको थियो ।
छ गोर्खा रेजिमेन्टल एसोसिएसनका अध्यक्ष ब्रिगेडियर जोन एन्डरसन ओबीई, संयोजक मेजर खुशीमान गुरुङ र सिनियर सदस्य लान्सकोप्रल कुलप्रसाद गुरुङले संयुक्त रूपमा दिप प्रज्वलन गर्दै कार्यक्रम उद्घाटन गरेका थिए । नेपाल र बेलायतका राष्ट्रिय गानबाट कार्यक्रम सुरुवात गरिएको थियो ।

हालै नेपालमा चलेको ‘जेन-जी आन्दोलन’का क्रममा ज्यान गुमाएका ७१ जना सहिद तथा वर्षभरिमा दिवंगत भएका ६ गोर्खाका सदस्यहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । कार्यक्रममा करिब ४ सयजना सदस्यहरू उपस्थित थिए ।
नेपालबाट आएका लोकप्रिय गायिकाहरू पवित्र गुरुङ र प्रिया गुरुङले 'नेपाली हामी रहुँला कहाँ'जस्ता देशभक्तिले ओतप्रोत भएका गीत प्रस्तुत गर्दै हलमा देशप्रतिको माया र आत्मीयताको वातावरण सिर्जना गराएका थिए ।
ब्रिगेडियर एन्डरसनले सम्बोधन गर्दै भने, 'अहिले ८० वर्षको भएँ तर आज यहाँ ६ गोर्खाको उत्साह देख्दा म आफैँ जवान भएको महसुस गरिरहेको छु। सबैलाई धेरै धन्यवाद ।'संयोजक मेजर गुरुङले टाढाटाढाबाट समेत कार्यक्रममा उपस्थित भएका सबैलाई धन्यवाद दिँदै ६ गोर्खा रेजिमेन्टल एसोसिएसन पहिलेको जस्तो नरहे पनि पल्टनको भेटघाट कार्यक्रम भने निरन्तर भइरहने बताए । उनले युकेको संरचनाअनुसार अब ‘चेयरमेन’ नरहने, ‘भाइस’ मात्र रहने र सबै कार्य ‘रेजिमेन्टल सेक्रेटरी’मार्फत संचालन हुने जानकारी पनि दिए । साथै अबदेखि पल्टनको जनरल रिपोर्ट हार्डकपीमा नभई इ-कपीमार्फत मात्र सदस्यहरूलाई उपलब्ध हुने बताए । मेजर गुरुङले आफ्नो वर्किङ टिमको नामै उल्लेख गरेर धन्यवाद दिए ।

कार्यक्रमको दौरान सबै कम्पनी (ए, बी, सी, डी, सपोर्ट र हेडक्वार्टर) का समूहगत फोटोसेसन गरिएको थियो । जहाँ सबैभन्दा धेरै सदस्यहरू ए कम्पनीका देखिएका थिए । पाँच घण्टाको लामो यात्रा तय गर्दै वेष्ट योर्कसायर, हडर्सफिल्डबाट आएका चित्रजङ गुरुङ र दीपा गुरुङ अत्यन्त उत्साहित देखिन्थे । 'टाढाबाट आएको भए पनि धेरै साथीसंगी भेट्दा सारा थकाइ बिर्सिएको छु,' चित्रजङले सुनाए ।
कार्यक्रमको राफल ड्र आकर्षण बन्यो । पहिलो र दोस्रो पुरस्कार (सुनको चन्द्रमा र इयररिङ) व्यवसायी बल थापाले प्रायोजन गरेका थिए ।
नेपालबाट आएका तृय मोडल, डान्सर आरुशी मगरको नृत्य तथा पवित्र र प्रिया गुरुङको सुमधुर गायनले दर्शकलाई मन्त्रमुग्ध बनायो र सबै झुमेर नाचे। वृद्ध क्या.रि. वीरबहादुर थापाले नेपाली र अङ्ग्रेजी गीत गाएर कार्यक्रममा ऊर्जा थपे ।
खानाको व्यवस्थापन गोर्खा किचन अल्डरसटले गरेको थियो भने राफल ड्रको संचालन तमुधीं युकेका पूर्वअध्यक्ष ज्ञाम गुरुङले गरेका थिए । कार्यक्रम सञ्चालन प्रकाश गुरुङले गरेका थिए ।






