सन् १९६४ तिरको कुरा हो । म त जन्मेको पनि थिइनँ । बुबा ब्रिटिस गोर्खा सेनाबाट सेवा निवृत्त भएर पेन्सन लिएर फर्किनुभएको थियो । त्यो बेला टेलिभिजन त सपनाजस्तै थियो, रेडियो भने औँलामा गन्न सकिने संख्यामा थिए ।
पेन्सनको पैसाले बुबाले चारवटा मिडियम साइज ब्याट्री लाग्ने एउटा फिलिप्स रेडियो ल्याउनुभएको रहेछ । त्यो बेला रेडियो राख्न पनि सरकारबाट लाइसेन्स लिनुपर्ने व्यवस्था थियो रे । ठूली दिदी कृष्णा, अहिले काठमाडौँमा बस्नुहुन्छ । उहाँका अनुसार बुबाले हरेक वर्ष रेडियो लाइसेन्सका लागि ५ रुपैयाँ तिर्नुहुन्थ्यो रे ।
हामी लाहुरे बुबाले ल्याएको त्यही रेडियो सुनेर हुर्कियौँ । गाउँमा रेडियो भएकै कारण हाम्रो घरमा मानिसको चहलपहल भइरहन्थ्यो । रेडियो नै हाम्रो सूचना, मनोरञ्जन र संगीतको मूल स्रोत थियो ।
स्वरसम्राट नारायण गोपालको स्वर सायद मैले पहिलो पटक त्यही रेडियोबाटै सुनेँ । त्यतिबेला उमेरले सानो थिएँ । गीतको अर्थ के बुझ्नु र ! तर आवाज अलिक छुट्टै लाग्थ्यो । मिठो, गम्भीर, अनि मन छुन सक्ने ।
उमेर बढ्दै जाँदा नारायण दाइका गीत मनमा बस्न थाले । उहाँ मभन्दा झन्डै ३० वर्ष जेठो तर गीतमार्फत हाम्रो सम्बन्ध समवयीजस्तो लाग्छ । आज पनि उहाँका गीतहरू सुन्दा मन कहिल्यै थाक्दैन । उहाँको शारीरिक उपस्थिति हामीसँग छैन तर पनि उहाँका गीत देश विदेशका नेपालीको मन मन्तिष्कमा सधै ताजा छन् ।
म बिदेसिएको ३८ वर्ष भइसक्यो । यो अवधिमा जीवनका अनेक आरोहअवरोह देखेँ । तर नारायण दाइको स्वर सधैँ साथमा रह्यो । उहाँलाई मनैदेखि माया गर्छु, श्रद्धा गर्छु ।
उहाँको निधन हुँदा म दक्षिण कोरियामा संयुक्त राष्ट्र संघको अनर गार्ड मिसनमा थिएँ । हङकङबाट त्यता पठाइएको थियो । त्यो बेला हामी पाँच राष्ट्रका सेनाहरू (अमेरिकी, ब्रिटिस, कोरियन, थाई र फिलिपिन्स) सँगै काम गरिरहेका थियौँ । स्वदेश फर्केर श्रद्धाञ्जली दिने अवसर पाइनँ। मनमा आज पनि त्यो कुरा खट्किन्छ । विदेशमा कर्तव्यमा खटिएको भए पनि स्वरसम्राटको निधनले मेरो मन गह्रौँ बनायो । त्यो पीडा आज पनि त्यत्तिकै ताजा छ ।
छोटो समयअघि मेरो भाइ नवीन गुरुङ नेपाल गएका थिए । उहाँमार्फत मलाई प्रकाश सायमीले लेख्नुभएको ‘स्वरसम्राट नारायण गोपाल’ नामक पुस्तक ल्याइदिन अनुरोध गरेँ । पुस्तक हात पर्यो । धन्यवाद भाइ । अझ भाइले पुस्तकको मूल्य लिन पनि मानेनन् ।
पुस्तक एकै सासमा पढेँ । प्रत्येक पानाले नयाँ कुरा सिकायो । प्रकाश सायमीज्यूले नारायण गोपालका जीवनका थुप्रै अज्ञात पाटा उजागर गर्नुभएको रहेछ । सरल भाषामा, सटिक ढंगले। नेपाली वीकिपिडियाजस्तै लाग्ने प्रकाशजीलाई एक परदेशी शुभचिन्तकको हैसियतले म हार्दिक धन्यवाद दिन चाहन्छु । उहाँको काम प्रशंसायोग्य छ । म सबैलाई आग्रह गर्न चाहन्छु । यो पुस्तक एक पटक अवश्य पढ्नुहोस् । नारायण दाइलाई अझ गहिरो ढंगले बुझ्न सकिनेछ ।
स्वरसम्राटका प्रत्येक गीतमा गहिरो अनुभूति हुन्छ । लामो समय सेनामा कार्यरत हुँदा मैले जीवनका धेरै कठिन क्षणहरू भोगेँ । कहिले खुशीका पल, कहिले पीडाका । यस्तै समयमा ‘आँखा छोपी नरोऊ भनी’, ‘खुकुरीले लेखिएको’, ‘वीरताको चिनो’ जस्ता गीतले सजिलै लाहुरेको मन छुन्छ । ती गीत हाम्रा जीवन अनुभवसँग जोडिन्छन् ।
छिट्टै बेलायतमा म पवित्र गुरुङको एकल साँझको आयोजना गर्दै छु । श्रद्धा स्वरूप त्यहाँ स्वरसम्राट नारायण गोपालका केही अमर गीत प्रस्तुत गरिनेछन् ।
उहाँले दिनुभएको कालजयी संगीत हामीले सधैँ जगेर्ना गर्नुपर्छ । त्यो हाम्रो सांस्कृतिक सम्पदा हो ।
अन्त्यमा, गोली, बारुद र राइफल सम्हाल्ने हातबाट लेखिएको यो छोटो विचार सायद साहित्यिक रूपमा मिठो नलाग्न सक्छ । तर यसमा समर्पण छ, आत्मीयता छ, अनि स्वरसम्राट नारायण गोपालप्रति सच्चा श्रद्धा छ । अरू तपाईंहरूको जिम्मेवारी ।
पुनः एक पटक प्रकाश सायमीज्यूलाई धन्यवाद र स्वरसम्राट नारायण गोपालप्रति हार्दिक श्रद्धाञ्जली ।