लन्डन । ब्रिटिस गोर्खा नेपाल भूतपूर्व सैनिक संघ (बिजिनेसा) यूकेको चौथो अधिवेशनबाट केशबहादुर गुरुङ अध्यक्षमा पुन: निर्वाचित भएका छन् ।
इस्ट लन्डनस्थित गोर्खा क्याप्रिकन हलमा अगस्ट ९ तारिख २०२५ शनिबार भएको अधिवेशनले गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षहरुमा दिलबहादुर जीसी,लेखबहादुर गुरुङ, महासचिव तर्कजङ गुरुङ, सचिव लिलादेवी गुरुङ र कोषाध्यक्ष डम्बरबहादुर गुरुङ चुनिएका छन् ।
यस्तै क्षेत्रीय संयोजकहरुमा रामराज मल्ल, कुशबहादुर गुरुङ र भोजबहादुर गुरुङ चयन भए भने जयराम थापा र टंकप्रसाद गुरुङले सदस्यको जिम्मेवारी पाएका छन् ।
निर्वाचन आयुक्त ओमबहादुर गुरुङ र अधिकृत रन्जन मल्ल रहेको निर्वाचन समितिले (२०२५ —२०२९) चार वर्षे कार्यकालको लागि नयाँ कार्यसमिति घोषणा गरेका हुन् । निर्वाचन आयुक्तले नयाँ कार्यसमितिलाई शपथग्रहण गराइ प्रमुख अथिति नेपाल भूतपूर्व सैनिक संघका विभागीय प्रमुख तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसांसद महेन्द्रकुमारी लिम्बू, विशेष अतिथि नेपाल भूपू सैनिक संघको केन्द्रीय अध्यक्ष गर्जबहादुर गुरुङबाट प्रमाणपत्र वितरण गरिएको थियो ।
अधिवेशनको पहिलो चरणमा संघको वार्षिक प्रतिवेदनसहित साधरणसभा भएका थियो भने दोस्रो चरणमा निर्वाचनबाट नयाँ कार्यसमिति चयन गरिको थियो । साधारणसभा बिजिनेसाका अध्यक्ष केशबहादुर गुरुङको अध्यक्षता र नेपाल भूतपूर्व सैनिक संघका विभागीय प्रमुख तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसांसद महेन्द्रकुमारी लिम्बूको प्रमुख आतिथ्यमा भएको थियो ।

प्रमुख अतिथि लिम्बू, विशेष अतिथि नेपाल भूपू सैनिक संघको केन्द्रीय अध्यक्ष गर्जबहादुर गुरुङ र संघका अध्यक्ष केशबहादुर गुरुङले संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरी अधिवेशन उद्घाटन गरेका थिए । बिजिनेसाका उपाध्यक्ष दिलबहादुर जीसीले स्वागत मन्तव्य राखे भने महासचिव तर्कजङ गुरुङले कार्यक्रम संचालन गरेका थिए ।
सल्लाहकारहरु खुमबहादुर गुरुङ, रोयल ग्रीनविच नेपाली सोसाइटीका अध्यक्ष लिलादेवी गुरुङ, बिजिनेसाका सचिव तथा ग्रीनवीच गोर्खा भूतपूर्व सैनिक संघका अध्यक्ष हरिकुमार मल्ल र सल्लाहकार तनहुँ जिल्ला समाज यूकेका पूर्वअध्यक्ष लेखबहादुर गुरुङले हालसम्म बिजिनेसाले गर्दै आएको काम, गतिविधिहरु र सेवाहरुबारे प्रकाश पार्दै शुभकामना व्यक्त गरेका थिए ।
साधारणसभामा बिजिनेसाका महासचिव तर्कजङ गुरुङले महासचिवको प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा जीटुजी वार्ता गोर्खा समूह जी १०का संयोजक मेजर जुदबहादुर गुरुङ, अनशनकर्ता पुष्पा घले र धनबहादुर गुरुङले हाल ब्रिटिस र नेपाल सरकारबीच गोर्खा प्रतिनिधिको साथ नेपाली राजदूतावास लन्डनको प्रतिनिधित्व गर्दै आएको वार्ताको विषयमा बोल्नै २० वटा सिंढी चढ्नुपर्नेमा जम्मा २ वटा मात्र सिंढी चढेको तुलना गरे । यस्तै बेलायतले पेन्सनको शीर्षकमा छलफल गर्ने इच्छा जाहेर गर्ने भन्दै गोर्खालाई एकसेपटेबल र एप्रोचेबल प्लान माग्नुभन्दा बेलायतले के कति दिन सक्ने उनीहरुले भन्ने पर्ने धारणा राखे । त्यस क्रममा अरु विभिन्न संस्थाहरुबाट आएका अतिथिहरुले पनि शुभकामनासहित गोर्खाहरुको समस्या यथाशीघ्र समाधन गर्नुपर्नेमा जोड दिए ।
केन्द्रीय अध्यक्ष गर्जबहादुर गुरुङले भूतपूर्व सैनिक संघको अध्यक्षको नाताले नेपाली सेना, भारतीय सेना र ब्रिटिस सेनाका समस्याहरु प्रस्तुत गर्दै सबैको समस्या समाधानको बाटोमा लाग्न आफू तत्पर रहेको र सक्दो कोसिस गर्ने आश्वासन दिए ।
प्रमुख अतिथि लिम्बूले आफू विभागीय प्रमुख भएपछि ६७ वर्षसम्म हुन नसकेको भूपू सैनिकको अधिवेशन तदर्थ समितिसँगै छलफल गरी कार्ययोजना तयार गरी प्रदेशस्तरको साथै राष्ट्रिय अधिवेशन भएको अवगत गराउँदै हाल बेलायतको पनि अधिवेशनको उद्घाटन गर्न पाएकोमा खुशी व्यक्त गरिन् । आफ्नो सबै परिवारहरु भूपू भएकोले भूपू सैनिकका समस्याहरुमा बढी ज्ञान भएकोले र आफ्नो कार्य क्षमता हेरी पार्टीले विभागीय प्रमुखको जिम्मेवारी सुम्पेको उनको भनाइ छ । अब बेलायतको बिस्तृत जानकारी लिएपछि नेपाल गएर परराष्ट्रमन्त्री आरजु राणा देउवा, पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी ओलीसँग भेटी अहिलेकै मन्त्रिपरिषद् हुँदाखेरी नै समस्या समाधान हुने गरी जोडतोडका साथ लाग्ने प्रतिबद्धता जनाइन् ।

सभापति केशबहादुर गुरुङले बिजिनेसाले विस्तृत अनुसन्धान गरी बनाएको शोधपत्रको आधारमा गोर्खा पेन्सन र बेलायतको समकक्षको पेन्सनमा फरक ३ गुना भए पनि नोकरीको अनुपात अनुसार हाल खाईपाई आएको पेन्सन बढाई २ गुना पुर्याएमा २२ वर्ष मुनीको लागि पर्याप्त हुने र २२ वर्षभन्दा बढी नोकरी गरेकाहरुको हकमा बेलायती समकक्षीले खाईपिई आएको बराबर नै सम्मान पेन्सन दिनुपर्ने बताए ।
नेपालमा नेपाल भूतपूर्ब सैनिक संघको पहलमा भूपूहरुको पेन्सनमा वान र्याङ्क वान पेन्सन साथै नेपाल सरकारबाट पेन्सनमा कर नलाग्ने अनि भूपूको लालबुकमा नाम, जन्म मिति नमिलेकोलाई विभिन्न जिल्ला कार्यालयबाट संशोधन गरी मिलाइदिने प्रबन्धसहित अझ धेरै सेवा दिन सफल भएको जानकारी गराए । सोही क्रममा उनले आफ्नो नेतृत्वमा रहेको कार्यसमिति विघटन भएको जानकारी गराउँदै प्रथम चरणको सभा विसर्जन भएको घोषण गरे । लगत्तै निर्वाचन अधिकृत ओमप्रसाद गुरुङले दोस्रो चरणको निर्वाचन प्रक्रिया सुरु गरेका थिए।