अल्डरसट । बेलायतमा ६ गोर्खाको आउँदो २० सेप्टेम्बर २०२५ मा वार्षिक भेटघाट हुने भएको छ ।
गोर्खा किचेन रेस्टुरेन्ट अल्डरसटमा ८ अगस्टमा मेजर खुशीमान गुरुङको अध्यक्षतामा सम्पन्न ६ गोर्खाका कार्यसमिति बैठकले वार्षिक भेलाको मिति तय गर्ने निर्णय गरेको हो । भेलालाई सफल, चुस्तदुरुस्त बनाउन कार्यविभाजनसमेत गरिएको छ । संयोजकमा मेजर खुशीमान रहने गरी १३ सदस्यीय भेला आयोजक समिति गठन भएको अमृत गुरुङले बताए । उनका अनुसार भेटघाटमा सहभागीलाई न्यूनतम इन्ट्री फी र फ्री डिङ्स गर्ने भएको छ ।
यस्तै भेलालाई रमाइलो बनाउन नेपालबाट आएका कलाकारहरु पवित्र गुरुङ, प्रिया गुरुङ र आरुषी मगरलाई निमन्त्रणा दिने निर्णयसमेत बैठकले गरेको छ । अपुग रकम फन्डबाट सब्साइड हुने मेजर गुरुङले जनाए ।
बैठकमा अमृत गुरुङको छोटो स्वागत मन्तव्य पछि बुँदागत छलफल गरिएको थियो । ब्रिगेडका सबै रेजिमेन्टल एसोसिएसनहरु नरहने र अब उप्रान्त गोर्खा ब्रिगेड एसोसिएसनअन्तर्गत रहने जानकारी मेजर गुरुङले जानकारी दिएका थिए । उनले २०२४ सालको आय-व्यय, नयाँ बैंक खाताका बारे पनि जानकारी गराए ।
पल्टनका सदस्यहरु रहुन्जेल आ-आफ्नो पल्टनको भेलाहरु भने निरन्तर नै रहने जनाइएको छ । पल्टनले ६ गोर्खाको भेला गत २००९ सालदेखि निरन्तर गर्दै आएका छन् । बैठकमा १३ जनाको सहभागिता थियो ।
उक्त बैठकमा नेपालबाट बेलायत सांगीतिक भ्रमणमा आएकी युवा गायिका पवित्र गुरुङ आफ्नो म्युजिकल सोलो प्रोग्रामको प्रमोसनका लागि उपस्थित भएकी थिइन् । पवित्रको बाल्यकालमा अध्यनस्थल नुवाकोट दुप्चेश्वर गाउँपालिकाको गोल्फुभन्ज्याङ निम्न माध्यमिक विद्यालयको सहयोगार्थ यही ३१ अगस्टमा लाइभ ब्यान्डका साथ बेलायतमा एकल च्यारिटी नाइट हुँदै छ । उक्त एकल साँझ मिचेटस्थित तमुधीं यूकेको भवनमा हुनेछ । उक्त कार्यक्रममा डीएमटी ब्यान्डको प्रस्तुति रहनेछ ।
गोर्खा मिडियाको प्रस्तुति र व्यवस्थापनमा हुने पवित्र गुरुङ एकल साँझको तयारीमा तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, गोर्खा प्यालेस रेस्टुरेन्टका एमडी तथा एनआरएन यूकेका भूपूअध्यक्ष सुर्य गुरुङ, गोर्खा मिडियाका प्रबन्ध निर्देशक तथा फोटो पत्रकार मिलन तमु, सहसम्पादक प्रकाश गुरुङलगायत जुटेका छन् ।
आयोजकले गायिका पवित्र गुरुङका लागि बेलायतमा पहिलो पटक आयोजना हुन गइरहेको एकल सांगीतिक च्यारिटी नाइटमा सहभागी हुन बेलायतवासी नेपाली समुदायलाई आग्रह गरेका छन् ।