अमिलो कागती शब्द सुन्दा मुखमा रस आउने अनुभव हुन्छ । नेपाली भाषा बुझ्नेलाई यो कुरा सहजै हुने प्रक्रिया हो । संसारभरका झन्डै ८५ प्रतिशत मानिसहरू धर्ममा विश्वास गर्दछन् । तथापि, “कागती” शब्दको उच्चारण गर्दा जस्तै धर्मको नाम उच्चारण गर्दा स्वादको अनुभव हुँदैन । त्यसकारण धर्म भित्रका फरक विविध विश्वास र विशेषताहरूलाई बुझ्नका लागि सामान्य ज्ञानको अध्ययन अनिवार्य छ ।
हामीले भोगिरहेको जीवन, जन्म र मृत्यु बीचको एक अवधी हो, जुन सबैले देख्न सकिन्छ । तर, अदृश्य विश्वास ,पुनर्जन्म, आत्मा, र परमात्माका बारेमा फरक धारणा छन् । पूर्वीय र पाश्चात्य धार्मिक परम्पराहरूको बुझाइलाई संक्षेपमा व्याख्या गर्ने प्रयास गर्दैछु ।
पूर्वीय र पाश्चात्य धार्मिक परम्पराहरूले जीवन, मृत्यु र परलोकसम्बन्धी धारणा फरक तरिकाले व्याख्या गरेका छन् । हिन्दू, बौद्ध, जैन र सिक्ख धर्मजस्ता पूर्वीय धर्महरूले पुनर्जन्ममा विश्वास गर्छन् । यी धर्महरूमा कर्मको सिद्धान्त महत्त्वपूर्ण छ, जसअनुसार मानिसले आफ्नो जीवनभर गरेका कर्महरूको आधारमा अर्को जन्म निर्धारण हुन्छ । पुनर्जन्मको यो चक्रलाई मोक्ष, निर्वाण वा कैवल्य जस्ता अवस्थाहरू प्राप्त गरेर समाप्त गर्न सकिने विश्वास गरिन्छ ।
हिन्दू धर्ममा आत्मा अमर मानिन्छ, जसले शरीर परिवर्तन गर्दै पुनः जन्म लिन्छ । बौद्ध धर्ममा “अनात्मा” (निरन्तर आत्माको अस्तित्व नहुनु) को अवधारणा भए पनि कर्म र पुनर्जन्मको चक्र महत्त्वपूर्ण छ । जैन धर्मले आत्मालाई शुद्ध र मोक्षप्राप्तिको लक्ष्य राख्छ, जबकि सिक्ख धर्मले पनि पुनर्जन्मको चक्र र मोक्षप्राप्तिमा विश्वास राख्छ ।
पश्चिमी धर्महरू यहुदी, इसाई र इस्लामले पुनर्जन्मको सट्टा स्वर्ग, नर्क वा परलोकको अवधारणालाई प्राथमिकता दिन्छन् । यी धर्महरूमा मानिसको यस जीवनका कर्महरूको आधारमा मृत्यु पश्चात् उसको आत्माले स्थायी गन्तव्य पाउने विश्वास गरिन्छ । यहुदी धर्ममा जीवनपश्चात् केही अस्पष्ट धारणा भए पनि, इसाई धर्मले स्वर्ग र नर्कलाई विस्तृत रूपमा परिभाषित गरेको छ । यस्तै, इस्लाममा मृत्यु पश्चात् न्याय दिने भूमिका अल्लाहको रहेको मानिन्छ, जसले मानिसलाई स्वर्ग वा नर्क पठाउने निर्णय गर्छ ।
यसरी, पूर्वीय धर्महरूले पुनर्जन्म र कर्मलाई जीवन चक्रको आधार मान्छन् भने, पाश्चात्य धर्महरूले परलोक, स्वर्ग र नर्कमा आधारित धारणा राख्छन् । दुवै धारणा मानिसका नैतिक जीवनयापन र आध्यात्मिक लक्ष्यप्राप्तिमा केन्द्रित छन् ।
आत्मा र परमात्मा बारे बौद्ध र हिन्दू धर्ममा कसरी व्याख्या गरिएको छ बुझौं ।
गीता अनुसार आत्मा अविनाशी, शाश्वत, र अजर-अमर हुन्छ । यो शरीरभन्दा परको चेतन तत्व हो, जसलाई नष्ट गर्न कुनै पनि भौतिक शक्ति सक्षम छैन। आत्मालाई न त आगोले जलाउन सक्छ, न पानीले भिजाउन सक्छ, न हावाले सुकाउन सक्छ । आत्मा जन्म र मृत्युको चक्रमा बन्धित छैन; यो शरीरको मात्र बस्त्र परिवर्तन जस्तै अर्को शरीर धारण गर्छ ।
परमात्मा सम्पूर्ण ब्रह्माण्डको सृष्टिकर्ता, पालनकर्ता, र नाशकर्ता हो । गीता परमात्मालाई “परब्रह्म” वा “श्रीकृष्ण” को रूपमा व्याख्या गर्दछ । परमात्मा सर्वव्यापी, अचल, र अनन्त चेतना हो। गीता अनुसार आत्मा परमात्माको अंश हो । जब आत्मा आफ्नो साँचो स्वभावलाई पहिचान गर्दछ, तब परमात्मासँगको एकत्वलाई अनुभव गर्दछ । भक्ति, कर्मयोग, र ध्यानमार्फत आत्मा परमात्मासँगको मिलन प्राप्त गर्न सक्छ । यसरी भागवत गीता आत्मा र परमात्माको बीचको शाश्वत सम्बन्धलाई उजागर गर्दछ ।
बुद्धले आत्मा र परमात्माको धारणा प्रति स्पष्ट भिन्न दृष्टिकोण प्रस्तुत गरेको छ । बौद्ध धर्मले परम्परागत हिन्दू धर्मको “आत्मा” (अजर-अमर आत्मन्) र “परमात्मा” (परम चेतना) को अवधारणालाई अस्वीकार गर्दछ । बुद्धका अनुसार, कुनै स्थायी, अजर-अमर आत्मा छैन । यो दृष्टिकोणलाई “अनात्मा” (अनात्मन्) भनिन्छ, जसको अर्थ “आत्मा होइन ।” बुद्धले भनेका छन् कि शरीर, भावना, विचार, आदत र चेतना पाँच स्कन्धहरूले व्यक्ति बनाउँछन्, तर कुनै पनि स्कन्ध स्थायी वा शाश्वत छैन ।
धम्मपदमा भनिएको छ: “सबै तत्त्व क्षणभङ्गुर छन् । तिनलाई आत्मा भनेर चिन्नु गलत धारणा हो ।”
यो दृष्टिकोणले बताउँछ कि जीवन र व्यक्तित्व परिवर्तनशील हुन् र त्यसैले कुनै स्थायी आत्मा छैन । बौद्ध धर्ममा “परमात्मा” भन्ने कुनै सर्वोच्च चेतनाको धारणा छैन । बुद्धले ब्रह्माण्डलाई प्राकृतिक नियम (धम्म) द्वारा चलाइएको बताए । उनले धर्म र नैतिक अभ्यासद्वारा निर्वाण प्राप्ति, अर्थात् पीडाबाट मुक्ति, मुख्य लक्ष्य हो भनेका छन् । निर्वाण आत्मा वा परमात्माको मिलन होइन, तर सम्पूर्ण इच्छाहरूको अन्त्य र शान्ति हो ।
बुद्धको शिक्षा व्यक्तिको अनुभव र परिवर्तनशीलताको महत्वमा आधारित छ । आत्मा र परमात्माको अवधारणामा विश्वास नगरी, बुद्धले निर्वाणलाई सर्वोच्च लक्ष्यका रूपमा परिभाषित गरे ।