बेलायतको डायस्पोरामा नेपाली समुदायका संघ संस्थाहरू बग्रेल्ती स्थापना भएका छन् । सप्ताहान्तमा कुनै न कुनै संस्थाले कार्यक्रम गरिरहन्छन् । त्यसमा सबैलाई भ्याई नभ्याई हुन्छ ।
गोर्खा मिडियाको प्रबन्ध निर्देशक र पत्रकार भएको नाताले मलाई नेपाली राजदूतावासदेखि मन्त्री, सांसद र मेयरहरूको कार्यक्रममा निमन्त्रणा आइरहन्छ । तर समय उपलब्ध हुने कार्यक्रम मात्रै सहभागी हुन्छु । सबैको छुट्टी नमिल्ने भएकाले मन पेट मिल्ने साथीहरू सबै मिलेर रमाइलो गर्ने भन्ने चाहिँ बिरलै हुन्छ । संयोग भनौँ, तमु धीं यूकेका अध्यक्ष आदरणीय जुमकाजी गुरुङसँग यो हप्ता सँगसँगै हिँड्ने अवसर जुर्यो । शनिबार मेरो गाउँले समाज मर्दीखोला समाजमा उहाँ प्रमुख अतिथि भएर आउनुभयो । आइतबार संसारको ठूलो आधुनिक सुविधा सम्पन्न वेम्ली स्टेडियममा सँगै फुटबल हेर्यौँ । सोमबार शान्तिको अग्रदूत बुद्धको २५६९औँ जन्मोत्सव मनाउन पनि सँगै भयौँ ।
सुरुमा डायमन्ड बुद्ध सेन्टर प्लम्स्टिड जाने तय भयो । त्यहाँ बिहानै शान्ति पदयात्रा गरेर कार्यक्रम आरम्भ हुन्छ ।
वेम्ली स्टेडियममा फुटबल हर्ने क्रममा जुमकाजी गुरुङलगायतसँग ।
आदरणीय धर्मगुरुहरूको उपदेश, आशीर्वचन, मन्त्र र सूत्र ग्रहण गर्ने, अध्यक्ष इन्स्पेक्टर खेम गुरुङ, महासचिव कमल गुरुङ र धर्मको उपासकबाट मान सम्मान मिठो परिकार खाने कार्यक्रम सकेर हामी थाउजेन्ड बुद्ध गुम्बा रिडिङमा पुग्यौँ । मे.रि. समुद्र गुरुङलगायतको स्वागत र धर्म गुरुहरूको आशीर्वचन ग्रहण गर्यौँ र अल्डरसट पुग्यौँ । त्यहाँ पनि लामा गुरुहरूको आशीर्वाद, समितिको र धर्म उपासकबाट मान सम्मान साथै आतिथ्य र मिठो स्वादिष्ट परिकार ग्रहण गर्यौँ ।
दिनभरी गुम्बाहरूमा पुगेर पूजाआजा गर्ने र आशीर्वाद ग्रहण गर्ने काम भयो । जुमकाजी गुरुङ दाइ र दिदी कमलादेवी गुरुङसँगै हुन पाइयो । यो अत्यन्त अविस्मरणीय र फलदायी समय थियो । उहाँहरूसँग हुँदा म आफूलाई सुरक्षित भएको सम्झिन्छु । उहाँको कुराले मलाई ऊर्जा मिल्छ । मन खुसीले रम्छ ।
आफूलाई मन लागेको व्यक्तिसँग हिँड्न मन सधैँ समय जुर्दैन । तर कहिलेकाहीँ भने त्यस्तो समय परिस्थितिले जुराइदिने रहेछ । यो सप्ताहान्त मेरा लागि अत्यन्त सुखद रह्यो । सधैँ यसरी चाहेको आफन्तजनसँगै हुन पाऊँ । बुद्धको २५६९औँ जन्म जयन्तीको पावन अवसरमा सबलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्छु । सबैको जय होस् । जय बुद्ध ।