लन्डन । युकेको Driver and Vehicle Standards Agency (DVSA) ले कार ड्राइभिङ परीक्षणमा महत्त्वपूर्ण परिवर्तन लागू गर्ने भएको छ । अप्रिल २०२५ देखि सुरु गरिएको पाँच महिनाको परीक्षण (trial) सफल भएपछि DVSA ले यी परिवर्तन २४ नोभेम्बर २०२५ देखि स्थायी रूपमा लागू गर्ने निर्णय गरेको हो ।
यूकेका २० वटा ड्राइभिङ टेस्ट केन्द्रमा यसको परीक्षण गरिएको थियो। DVSA का अनुसार ड्राइभिङ परीक्षालाई अहिलेका वास्तविक सडक परिस्थितिसँग अझ नजिक ल्याउन र सिक्ने चालकको क्षमता थप प्रभावकारी ढंगले मूल्यांकन गर्न यो परिवर्तन गरिएको हो।
परिवर्तनअन्तर्गत अब कार ड्राइभिङ परीक्षणमा सामान्य स्टप (normal stop) को संख्या ४ बाट घटाएर ३ गरिने छ। इमर्जेन्सी स्टप अभ्यासको सम्भावना पनि कम गरिँदै छ । पहिले ३ परीक्षण मध्ये १ मा गरिने इमर्जेन्सी स्टप अब ७ परीक्षण मध्ये १ मा मात्र गरिने छ ।
यस्तै, इन्डिपेन्डेन्ट ड्राइभिङ जस अन्तर्गत परीक्षार्थीले sat nav वा ट्राफिक साइन पछ्याएर गाडी चलाउनु पर्ने छ। अब पूरा परीक्षा अवधिभर निरन्तर रहने छ ।
DVSA ले यी परिवर्तनहरूले परीक्षालाई अझ सुव्यवस्थित, स्वाभाविक र वास्तविक परिस्थिति सँग मेल खाने बनाउने विश्वास व्यक्त गरेको छ । परिवर्तन पछि परीक्षकहरूलाई उच्चगति, ग्रामीण तथा जटिल सडक क्षेत्रमा सिक्ने चालकको व्यवहार नजिकबाट अवलोकन गर्न सहज हुने अपेक्षा गरिएको छ ।
परीक्षणमा सहभागी परीक्षकहरूले परिवर्तनलाई सकारात्मक रूपमा मूल्यांकन गरेका छन । उनीहरूको भनाइमा सामान्य स्टपको संख्या घटे पछि परीक्षा बढी प्रवाहयुक्त भएको छ । र इन्डिपेन्डेन्ट ड्राइभिङ अवधि बढेपछि सिक्ने चालकको वास्तविक क्षमता मूल्यांकन गर्न मद्दत पुगेको छ । धेरै परीक्षकले नयाँ व्यवस्था परीक्षालाई अझ वास्तविक ड्राइभ जस्तै बनाएको टिप्पणी गरेका छन् ।
DVSA ले परिवर्तनहरूले सिक्ने चालकहरूमा कुनै नकारात्मक प्रभाव नपर्ने स्पष्ट गरेको छ । आवश्यक सबै ड्राइभिङ कौशलहरू पहिले झैँ नै मूल्यांकन हुने छन् । तर, परीक्षण अनुभव अब झनै सहज, एकाग्र र वास्तविक हुने बताइएको छ ।
यो परीक्षण चरण सुरुवाती रूपमा तीन महिनाका लागि तय गरिएको भए पनि गर्मीको व्यस्त समयमा चालकहरूको व्यवहार अवलोकन गर्न थप दुई महिनासम्म विस्तार गरिएको थियो । परीक्षण चरण यस वर्ष अक्टोबरमा समापन भएको हो ।
DVSA ले २४ नोभेम्बर २०२५ देखि युकेमा लागू हुने यी सुधारहरूले नयाँ चालकहरूलाई अझ सुरक्षित, आत्मविश्वासी र जिम्मेवार बनाउने विश्वास व्यक्त गरेको छ ।
–गोलमान गुरुङ