लन्डन । तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङ काउन्सिलर उम्मेदवार बनेका छन् ।
विगत ९ वर्षदेखि बेलायतको अल्डरसटमा बस्दै आएका गुरुङ कन्जर्भेटिभ पार्टीको तर्फबाट वेलिङटन वार्डको काउन्सिलर पदमा उम्मेदवार बन्ने घोषणा गरेका हुन् । उनले वेलिङटन वार्डमा बसोबास गर्ने बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा आगामी चुनावमा आफूलाई भोट दिई भारी मतले विजयी गराइदिन फेसबुकमार्फत अनुरोध गरेका छन् ।
नेपाली समाज र बेलायतका निकायहरूबीच अझ सहकार्य गर्न, सरकारी सेवासुविधा र अवसरहरू नेपाली समुदायसम्म पुर्याउन र यहाँका बेलायती साथीहरूसँग आत्मीय र सांस्कृतिक सम्बन्ध मजबुत बनाउँदै अल्डरसटलाई अझ सुन्दर बनाउने उद्देश्यअनुरुप आफू काउन्सिलर उम्मेदवार बनेको उनले प्रस्ट पारेका छन् ।
'नेपालको स्याङ्जा जिल्ला घर भई करिब ९ वर्षदेखि बेलायतलाई कर्मथलो बनाएर अल्डरसटमा बस्दै आएको छु । यहाँ बस्दै गर्दा कहिलेकाहीं काउन्सिल र स्थानीय निकायका प्रतिनिधिहरूसँग भेट्ने मौका पाउँदा, हाम्रो समाज र यहाँका निकायहरूबीच अझ सहकार्य गर्न सकिने धेरै सम्भावना रहेको महसुस भयो । अब त्यो सहकार्यलाई अझ बलियो बनाउन, सरकारी सेवासुविधा र अवसरहरू नेपाली समुदायसम्म पुर्याउन र यहाँका बेलायती साथीहरूसँग आत्मीय र सांस्कृतिक सम्बन्ध मजबुत बनाउँदै हाम्रो अल्डरसटलाई अझ सुन्दर; विभिन्न रङका फूलहरूले बुनेको माला जस्तै बनाउनका लागि म कन्जर्भेटिभ पार्टीको तर्फबाट वेल्लिन्टन वार्डको काउन्सिलर पदमा उम्मेदवार बनेको छु,' उनले भने ।
बेलायतमा बस्दै गर्दा गाउँले संस्था, जातीय संगठन तथा बेलायतका थुप्रै नेपाली संघ-संस्थाहरूमा साथीसँग हातेमालो गर्दै, सुखःदुख साट्ने अवसर पाउँदा अत्यन्त खुशी लागेको भन्दै पछिल्लो समयको अनुभवका आधारमा, नेपालीहरूले बेलायतमा धेरै हदसम्म सफलता हासिल गरेको उनले उल्लेख गरे ।