ब्रिटिश गोर्खा वेलफेयर सोसाइटी (बीजीडब्लूएस)को वार्षिक भेटघाट कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
फार्नबोरोस्थित ग्रेन्ज कम्युनिटी जुनियर स्कुलमा गत जुलाई ६ मा बीजीडब्लूएसका अध्यक्ष मे.रि. टिकेन्द्र दल देवानको अध्यक्षतामा स्थानीय सांसद अलेक्स बेकरको प्रमुख आतिथ्यता तथा ह्याम्पशायर काउन्टी काउन्सिलर अलेक्स क्रोफोर्डको आतिथ्यतामा भेटघाट कार्यक्रम सम्पन्न भएको हो । अध्यक्षका श्रीमती मिलन देवानले सांसद बेकरलाई माला लगाई स्वागत गरेका थिइन् भने अध्यक्ष मे.रि.देवानले काउन्सिलर क्रोफोर्डलाई खादा ओढाई सम्मान गरेका थिए ।
कार्यक्रममा सांसद बेकर, काउन्सिलर क्राफोर्ड र अध्यक्ष देवानले बीजीडब्लूएसका केही सदस्यलाई खादा र फूलले सम्मान गरेका थिए । सम्मानित हुनेहरूमा क्यूओजीएलआर एक्स-सर्भिसमेन एसोसिएसनमा उत्कृष्ट कार्य गरी गोल्ड मेडल प्राप्त नारायण गुरुङ र श्रीमती तृष्ण गुरुङ, 'प्राइड अफ रस्मूर कम्युनिटी अवार्ड’ प्राप्त गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु, मगर संघ युनाइटेड ह्याम्पसायर, सर्रे एन्ड बर्कसायरका नवनिर्वाचित अध्यक्ष वीर बलाल, मगर संघ यूकेका हाउजिङ ट्रेजरर टोप पल्ली, लन्डन म्याराथन दौडेर च्यारिटीका लागि २ हजार ५७३ पाउन्ड संकलन गर्न सफल रायधन राई, निरन्तर मिडियामा सक्रिय एभरेष्ट टाइम्सका सम्पादक दुत पुन, नेपालबाट आएका कलाकार प्रेम विवश घर्तीमगर, अनुपा मगर र प्रितम गुरुङ थिए ।

सांसद बेकरले जीटुजी वार्ता सकारात्मक रहेको जनाउँदै आफूले बेलायत सरकारसँग प्रभावकारी ढंगले कुरा राख्नका लागि समस्या खुलस्त सुनाउन भूपू गोर्खाहरुलाई आग्रह गरिन् । 'जीटुजी बैठक अहिले सकारात्मक रूपमा अगाडि बढिरहेको छ । मैले सम्बन्धित मन्त्रीहरूसँग पनि कुरा गरिसकेको छु । यो सजिलै सुल्झिने समस्या होइन तर हामी सही बाटोमा छौं,' उनले थपिन्,'तपाईंहरूले आफ्ना समस्या खुलस्त राख्नुपर्छ । जसले मलाई सरकारसँग प्रभावकारी ढंगले कुरा राख्न सहयोग गर्दछ । म सधैं तपाईहरूसँग छु । हामी एकजुट भयौं भने अझ बलियो हुन्छौं ।'
उनले कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको भन्दै निमन्त्रणा गरिदिएकोमा आयोजकलाई धन्यवाद दिइन् । काउन्सिलर क्रोफोर्डले पनि छोटो मन्तव्य राख्दै कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।

अध्यक्ष देवानले हालको लेबर सरकारबाट केही आशा पलाएको बताए । 'हालका बैठकहरू सकारात्मक रूपमा अगाडि बढिरहेका छन् । सरकारले सधैं उठाइने तीन मुख्य बुँदाहरू युरोपियन कोर्टको भर्डिक्ट, त्रिपक्षीय सन्धि र रेट्रोस्पेक्टिभबारे स्पष्ट जवाफ पठाइसकेका छौं । आशा गरौं, सकारात्मक निर्णय आउनेछ,' उनले भने ।

कार्यक्रममा राफल र तम्बोला खेल पनि आयोजना गरिएको थियो । युरोपा फुड एन्ड हाइल्यान्ड्स कलेक्सन १ सय १० पाउन्ड, जीएसएस २ सय पाउन्ड, बीजीडब्लूएस २ सय पाउन्ड, यूजीएसएस ५० पाउन्ड, क्या.टाम ढेगा ५० पाउन्ड, ब्रोस फुड एन्ड ड्रिंक्स ५० पाउन्ड, क्या. राम पुन ५० पाउन्ड, लक्की ड्रागन बफे एन्ड रेस्टुरेन्ट ५० पाउन्ड, प्यालेस रेस्टुरेन्ट ५० पाउन्ड, म्याक चाइना टेकअवे ५० पाउन्ड, निक्स ड्राइभिङ ट्रेनिङ ३० पाउन्ड र लिटिल एसिया २० पाउन्ड केजी लैला चामलले राफलका लागि प्रायोजन गरेका थिए ।
मन्दाकिनी हाइड्रो पावरका डाइरेक्टर विष्णु तामाङले कम्पनीको प्रगतिबारे जानकारी गराएका थिए । गोर्खा वेलफेयर प्रोपर्टी लिमिटेडका डाइरेक्टर ले.रि. मुक्तिजङ गुरुङ र प्रकाश गुरुङले पनि आफ्नो कम्पनीको प्रगतिबारे जानकारी प्रस्तुत गरेका थिए । बीजीडब्लुएसका कोषाध्यक्ष टेकबहादुर थापाले संस्थाको वार्षिक आय-व्यय विवरण प्रस्तुत गरेका थिए । प्रवक्ता प्रकाश गुरुङले सञ्चालन गरेको कार्यक्रमको समन्वय महासचिव क्षत्र राईले गरेका थिए ।

सहयोगीहरूको रूपमा रमेश तामाङ, ताराचन्द्र थापा, प्रकाश गुरुङ, चिजबहादुर गुरुङ, प्रेमबहादुर बुरा, किशोर श्रेष्ठ, नारायण गुरुङ (68211), हेमप्रकाश राना, रिखिराम राना, सुरेन्द्र चोङबाङ र आमा समूहको सक्रिय भूमिका रहेको थियो ।
कार्यक्रमस्थल विशेष रूपमा सजाइएको थियो । हालै सोसाइटीले प्राप्त गरेको स्ट्यान्डर्ड ब्यारियर झन्डा आकर्षक रूपमा सजाइएको थियो । जसको जिम्मेवारी एक मात्र ब्यारियर ट्रेनर ओम थापा काउचाले निर्वाह गरेका थिए । उक्त अवसरमा सहभागीहरूले झन्डासँग प्रशस्त फोटो तथा भिडियो खिचेका थिए ।
नेपालबाट आएका कलाकारद्वय प्रेम विवश घर्तीमगर र अनुपा मगरले कार्यक्रममा सांगीतिक प्रस्तुति दिँदै धेरैलाई नचाएका थिए ।







