पोखरा । ब्रिगेड अफ गोर्खाजका दुई जना अवकाश प्राप्त ब्रिटिस गोर्खा अधिकृतहरूलाई पहिलो पटक ‘कर्नल कमान्डेन्टस्’ पदकबाट सम्मानित गरिएको छ । गत फेब्रुअरी ७ मा पोखरास्थित ब्रिटिस गोर्खा क्याम्पमा आयोजित विशेष समारोहमा उनीहरूलाई उक्त सम्मान प्रदान गरिएको हो ।
ब्रिटेनका राजकुमार प्रिन्स एडवर्ड र राजकुमारी सोफी, जसलाई हाल ड्युक र डचेस अफ एडिनबराको रूपमा चिनिन्छ, नेपाल भ्रमणको क्रममा सोही क्याम्पमा आयोजित रेक्रूट्स एटेस्टेसन परेड का प्रमुख अतिथि थिए। सोही अवसरमा मेजर जनरल जी. एम. स्ट्रिकल्यान्ड (DSO, MBE) ले अवकाशप्राप्त लेफ्टिनेन्ट पूर्णबहादुर गुरुङ (६ गोर्खा) र होनरी मेजर हितमान गुरुङ (१ RGR) लाई ‘कर्नल कमान्डेन्टस्’ पदकबाट सम्मानित गरे।
Lt Purna Bahadur Gurung & Mrs with Maj Gen
सेनाबाट अवकाश लिएपछि ले. पूर्णबहादुर गुरुङ विभिन्न सामाजिक संस्थाहरूमा क्रियाशील रहँदै आएका छन्। उनले गोर्खा वेलफेयर ट्रस्ट मा विभिन्न ओहदामा रही उल्लेखनीय योगदान पुर्याएका छन्। साथै, ६ गोर्खा रेजिमेन्टल एसोसिएसन नेपालका उपाध्यक्षका रूपमा उनले महत्वपूर्ण परियोजनाहरू सफलतापूर्वक सम्पन्न गरेका छन्। विशेषगरी, गोर्खा मेमोरियल प्रोजेक्टमा उनले सक्रिय भूमिका खेलेका छन्।
उनी गोर्खा स्मारक संग्रहालय, पोखराका ट्रस्टीसमेत हुन्, जसअन्तर्गत उनले स्मारक संग्रहालयको विस्तार तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेका छन्। ६ गोर्खा रेजिमेन्टल सेक्रेटरी मेजर एडीओ ब्रेडिन जेपी ले ईमेलमार्फत ले. गुरुङलाई पदक प्राप्त गरेकोमा बधाई दिएका छन्।
होनरी मेजर हितमान गुरुङ हाल रोयल गोर्खा राइफल्स रेजिमेन्टल एसोसिएसन नेपालका अध्यक्ष हुन्। अवकाश पश्चात उनले भूपू गोर्खा सैनिक तथा उनीहरूका परिवारहरूका लागि उल्लेखनीय कार्यहरू गर्दै आएका छन्। यही योगदानको कदरस्वरूप उनलाई ‘कर्नल कमान्डेन्टस्’ पदक प्रदान गरिएको हो।
पदक प्राप्त गरेपछि होनरी मेजर गुरुङले सामाजिक सञ्जालमार्फत आफ्नो खुशी व्यक्त गर्दै लेखेका छन्—
“यो सम्मान मेरो मात्र होइन, मेरो परिवार, साथीभाइ, र विशेष गरी मेरी प्यारी पत्नी मीना गुरुङको निरन्तर सहयोगकै कारण सम्भव भएको हो। म उहाँप्रति हृदयदेखि नै आभारी छु।”
Hon Maj Hitman Gurung & Mrs with Maj Gen
ले. पूर्णबहादुर गुरुङले पनि पदक प्राप्त गरेको खुशी व्यक्त गर्दै आफ्ना पल्टनका साथीहरूलाई धन्यवाद दिएका छन्। उनले आफ्नो सामाजिक सञ्जालमार्फत लेखेका छन्—
“सेनाबाट अवकाश लिएपछि मैले ६ गोर्खा रेजिमेन्ट तथा गोर्खा स्मारक संग्रहालयमा गरेका साना-तिना योगदानहरू हजुरहरूकै प्रेरणा, समर्थन, र ऐक्यबद्धताका कारण सम्भव भएका हुन्। पल्टनका अग्रज साहेबहरूको आशिर्वाद स्वरूप यो अवार्ड प्राप्त भएको ठान्छु। भविष्यमा पनि तपाईंहरूको साथ, सहयोग, र माया पाइरहने विश्वास लिएको छु। फेरि पनि सबैमा आभार तथा सलाम!”
यो सम्मानले ब्रिटिश गोर्खा सेनाबाट अवकाश लिएर सामाजिक कार्यमा सक्रिय पूर्व-अधिकृतहरूको योगदानलाई कदर गरिएको छ। उनीहरूको मेहनत र समर्पणले गोर्खा समुदायको पहिचान अझ मजबुत बनाइरहेको छ।
Right to left Mrs Hitman, Hon Maj Hitman Gurung, Maj Gen Strickland DSO MBE, Lt Purna Bahadur Gurung & Mrs Purna