लन्डन । ६जीआर सन् १९९४ सालमा तत्कालीन समयमा संयुक्त अधिराज्य बेलायत सरकारको सुरक्षा फौज कटौती रणनीतिअन्तर्गत विघटन भएको हो । पल्टन विघटनपश्चात् लगभग ३० वर्षको लामो अन्तरालमा त्यतिबेला 'ए गलीपुली कम्पनी'मा रहेर सेवा गरेका सदस्यहरुको शनिबार ३० नोभेम्बरका दिन पहिलो ऐतिहासिक पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ ।
कम्पनीका सदस्यहरु शान्त गुरुङ, तर्कजंग र मिनबहादुर गुरुङको संयोजनमा गत ३० नोभेम्बर २०२४ मा अल्डरसटको दि लउन्ज रेस्टुरेन्टमा सांगीतिक कार्यक्रमसहित भेटघाट सम्पन्न भएको हो । मिनबहादुरले सञ्चालन गरेको कार्यक्रममा स्वास्थ्य तथा सुरक्षाबारे शान्तले ब्रिफ गरेका थिए भने कार्यक्रमको उद्देश्य, महत्वसहित स्वागत मन्तव्य तर्कजंगले राखेका थिए । धेरै समयपछि भेट हुँदा कम्पनीका सदस्यहरु/गोर्खा सैनिकहरु एकआपसमा भलाकुसारी गर्दै रमाएका थिए ।
उक्त अवसरमा लन्डन बोरो अफ बार्नेट बर्न्टओक वडाका काउन्सिलर कमल गुरुङलाई मेजर धरम गुरुङ एमभिओले खादाले सम्मान गरेका थिए । कमल २०२२ मे सम्पन्न बेलायतको स्थानीय निर्वाचनबाट निर्वाचित भएका हुन् ।

यस्तै तेजन गुरुङले संसारका १४ उच्च हिमाल आरोहण गरी बेलायतको योंगेस्ट पर्वतारोहीको कीर्तिमान राख्न सफल भएकोमा उनका बुबा तेजबहादुर गुरुङलाई पनि सम्मान गरेका थिए ।

उक्त अवसरमा गलीपुली लडाइँमा प्राणको आहुति दिने वीर गोर्खाली सेनाहरूको स्मरण गरिएको थियो ।
भेटघाटको अवसरमा ए कम्पनीको टिसर्ट लगाएर खुसीसाथ दिदी बहिनी र सबै जनाले सामूहिक फोटो खिचाएका थिए ।





अन्त्यमा भेला संयोजकहरुले उपस्थित सबैप्रति धन्यवाद ज्ञापन गर्दै कलाकारलाई खादा र टिप्स प्रदान गरेका थिए ।
पहिलो भेटले रमाएका ६जीआर ए गलीपुली कम्पनीका सदस्य तथा टोलीलाई लोक तथा दोहोरी गायिका रेजिना परियार, डान्सर तथा मोडल रुबिना अधिकारीको प्रस्तुतिले भरपूर मनोरन्जन दिलाइएको थियो ।


६जीआर 'ए गलीपुली' कम्पनीको पुनर्मिलन कार्यक्रम हरेक वर्ष गर्ने योजना रहेको छ । साथै आगामी वर्ष २०२५ मा २५ अप्रिलमा मनाइने योजना तय गरिएको जानकारी गराइएको छ ।

