लन्डन । कोल्चेस्टर नेपाली समाज युकेले 'रिमेम्ब्रेन्स सन्डे' परेडमा सहभागिता जनाएको छ ।
अध्यक्ष मेजर रिटायर उदयबहादुर गुरुङ एमबीईको अध्यक्षमा गत वर्षहरुमा झैं कोल्चेस्टर नेपाली समाज युकेले परेडमा भाग लिएको हो । परेड सकिएपछि कोल्चेस्टरका विशिष्ट व्यक्तिहरु काउन्सिलर, कोल्चेस्टरका सांसद साथै अन्य धेरै पाहुनाहरु साथै ज्येष्ठ नागरिक, समाजका सदस्यहरु चियापान तथा करी लन्चमा सामेल भएका थिए ।

परेड र चियापानका साथै यस वर्षको कार्यक्रम अलिक भिन्दै किसिमले सम्पन्न गरिएको कोल्चेस्टर नेपाली समाज युकेले बताएको छ । समाजकी महिला संयोजक गीतकार तथा समाजसेवी कमला बोहरा खत्रीले भूपू गोर्खा तथा सहिदको सम्झनामा रचना गरिएको 'हामी नेपाली वीर गोर्खाली' बोलको नयाँ गीत विमोचन कार्यक्रमले यस वर्षको कार्यक्रममा फरकपन आएको आयोजकको दाबी छ ।
महिला कोर्डिनेटर तथा सर्जक कमलाले भनिन्- 'विशिष्ट व्यक्तिहरुको साथमा रहेर यस गीतलाई विमोचन गर्न पाउँदा र सम्मानित हुन पाउनु आफ्नो सौभाग्य हो भन्ने लागेको छ । अब केही दिनपछि मेरो आफ्नै युट्बबाट सुन्न र हेर्न सक्नु हुनेछ भन्ने जानकारी गराउन चाहन्छु ।'
सोही कार्यक्रममा समाजका सल्लाहकार किरण गुरुङलाई 'आवर वे अवार्ड २०२४' विजेताका बनेकोमा मेयरद्वारा खादाले बधाई ज्ञापन गरेका थिए ।
दिउँसो १ देखि ४ बजेसम्म सञ्चालन भएको कार्यक्रममा सांसदको तर्फबाट गोर्खालीहरुका लागि संक्षिप्त धन्यवाद मन्तव्य राखिएको थियो ।
अन्त्यमा मेरि उदयबहादुर गुरुङ एमबीईले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सबै सदस्यलगायत पाहुनाहरुलाई पनि उपस्थित भइदिएकोमा धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए ।

बेलायतमा ब्रिटिस गोर्खा वेलफेयर सोसाईटी (बिजिडब्लूएस), बर्न्ट ओक नेपाली समाज, ग्रेटर रसमूर नेपाली कम्युनिटी (जीआरएनसी) लगायत संस्थाहरुले पनि 'रिमेम्ब्रेन्स सन्डे' मनाएका छन् ।
रिमेम्ब्रेन्स सन्डे प्रथम तथा द्वितीय विश्वयुद्ध र अन्य युद्धहरुका क्रममा ज्यान गुमाएका सैनिक र नागरिकको सम्मानमा मनाइने दिवस हो । यो दिवस बेलायत, क्यानडा, अष्ट्रेलिया, न्युजिल्यान्डलगायत विभिन्न देशहरूमा विशेष महत्वका साथ प्रत्येक वर्ष नोभेम्बर महिनाको दोस्रो आइतबार मनाइन्छ । जुन समय लगभग प्रथम विश्वयुद्धको समाप्तिको सम्झना गर्ने नोभेम्बर ११ नजिकै पर्छ । यो दिनले युद्ध र सशस्त्र संघर्षका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको योगदानको सम्झना गराउँछ । समारोहहरूमा प्रायः विशेष श्रद्धाञ्जलीसभा, शान्तिपूर्ण मौनधारण र वीर सैनिकहरूको सम्मानमा फूल चढाउने कार्यक्रम गरिन्छ ।

रिमेम्ब्रेन्स सन्डेको मुख्य समारोह लन्डनको सेनोटाफमा बेलायती राजपरिवारका सदस्यहरू, राजनीतिक नेता, सैनिक अधिकारीहरू र सर्वसाधारणको उपस्थितिमा सम्पन्न हुन्छ । यो दिन राता पप्पी फ्लावर लगाउने परम्परा छ, जुन मृत्यु भएका वीरहरूको प्रतीकका रुपमा लगाइन्छ ।
रिमेम्ब्रेन्स सन्डेले युद्धका क्रममा ज्यान गुमाएकाहरूको बलिदानलाई सम्मान गर्छ र आगामी पुस्तालाई शान्ति र सहअस्तित्वको सन्देश दिने अगुवाहरु बताउँछन् ।