लन्डन । साउथ लन्डन नेप्लिज गोर्खा एसोसिएसन (एसएलएनजीए) को ब्रिटिस गोर्खा र निजका सन्ततिहरूको 'वंशजको नेपाली नागरिकता निरन्तरता'को विषयमा जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बेलायतमा रहेका गोर्खा नेपाली कम्युनिटीहरुका घरदैलोमा पुगेर गोर्खा एवं निजका सन्ततिहरुको बन्द गरिएको वंशजको नेपाली नागरिकताको ढोका खुलाउन सीएनसीबीजेले चलाएको अभियानअन्तर्गत शनिबार २८ सेप्टेम्बर २०२४ मा मोर्डान, साउथ लन्डन, फाम रोड, पाविलियन हलमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रममा सीएनसीबीजीको केन्द्रीय समितिको तर्फबाट अध्यक्ष थर्क राना र केन्द्रीय सदस्यहरु कृष्ण थुलुङ राई; दिर्ग गुरुङ र मिडिया सचिव मोहन गुरुङको उपस्थिति थियो ।
एसएलएनजीएका महासचिव बल गुरुङले संचालन गरेको कार्यक्रममा उनले नै स्वास्थ्य र सुरक्षाका बारेमा जानकारी दिएका थिए । अध्यक्ष खुमबहादुर कुँवरको अध्यक्षतामा सुरु भएको कार्यक्रममा संस्थका प्रमुख सल्लाहकार मेजर भीमबहादुर गुरङ एमभीओले सीएनसीबीजीका टीमलाई खदा लगाई स्वागत गरेका थिए ।
सीएनसीबीजीका अध्यक्ष थर्क रानाले सीएनसीबीजी बेलायतमा रहेका गोर्खा नेपालीहरुको बन्द गरिएको वंशजको नेपाली नागरिकताको ढोका खुलाउने एक महत्वपूर्ण संस्था रहेको बताए । उनले आफूसँग भएको वंशजको नागरिकता कुनै पनि अवस्थामा नत्याग्न र सीएनसीबीजीले चलाइरहेको वंशजको नेपाली नागरिकता निरन्तरता अभियानमा सबैलाई सहभागी बन्नको लागि आग्रह गरे । त्यसैगरी केन्द्रीय सदस्य कृष्ण थुलुङ राईले आफूसँग भएको वंशजको नागरिकता बुझाएर एनआरएनए अर्थात् गैर आवासीय नागरिकता लिएर गल्ती नगर्न पनि सुझाव दिए ।
अर्का सदस्य दिर्ग गुरुङले ब्रिटिस, ईन्डिया र नेपालबीचको सन्धिदेखि अन्तर्राष्ट्रिय सन्धिको बारेमा बोलेका थिए ।
त्यसैगरी एसएलएनजीएको तर्फबाट प्रमुख सल्लाहकार मेरि भीमबहादुर गुरुङ एमभीओ, क्याप्टेन रनधोज राना, कार्यक्रम संयोजक नारदमणि (एनएम) गुरुङ, सल्लाहकार ले (रि.) ललित गुरुङ, पूर्वअध्यक्ष नुर थापा, पूर्वअध्यक्ष शेर पुन, सदस्य संगीता पुन लगायतका वक्ताहरुले आ-आफ्नो मन्तव्य राखेका थिए ।
वक्ताहरूले मन्तव्य राख्ने क्रममा सीएनसीबीजीलाई धन्यवाद दिँदै ब्रिटिस गोर्खा र नीजका सन्ततिहरुको वंशजको नेपाली नागरिकता निरन्तरताको मुद्दालाई टुंगोमा पुर्याउन र गोर्खाहरुको पक्षमा फैसला गराउन सक्ने एकमात्र संस्था सीएनसीबीजी भएकोले सम्पूर्ण गोर्खाहरु सीएनसीबीजीमा आबद्ध भई आफू र आफ्ना भावीपुस्तालाई अनेपाली नागरिक हुनबाट जोगाउनु पर्नेमा जोड दिए । वक्ताहरुको उक्त भनाइप्रति सम्पूर्ण उपस्थित महानुभावहरुले ताली बजाएर समर्थन जनाएका आयोजले जनाएको छ । साथै उपस्थित महानुभावहरुले अभियानको यात्रामा लागेका अभियन्ताहरु जत्ति नै थकाई लागे तापनि आफूहरुलाई सम्झँदै लगातार अभियानलाई निरन्तरता दिइरहन आग्रह गरे । आफूहरु निरन्तर साथमा हुनेछौं भन्दै सीएनसीबीजीका अभियन्ताहरुलाई हौसलाका साथ शुभकामना दिएका थिए ।
एसएलएनजीएका अध्यक्ष खुमबहादुर कुँवरले सीएनसीबीजीले ल्याएको वंशजको नेपाली नागरिकता निरन्तरता अभियानको जनचेतनामूलक घरदैलो कार्यक्रमले साँच्चिकै बन्द हुनै लागेको आफूहरु आँखाहरु खोलिदिएको बताए । उनले आजैको दिनदेखि सीएनसीबीजीको अभियानमा आफूहरु पनि जोडिएको भन्दै यस्ता घरदैलो कार्यक्रमलाई निरन्तरता दिइरहन आग्रह गरे । उनले कार्यक्रम सफल बनाउन व्यवस्थापन खटिने र उपस्थित सबैलाई धन्यवादका साथ कार्यक्रम समापन गरेका थिए ।