लन्डन । भूतपूर्व गोर्खा प्रतिनिधिसमेतको सहभागितामा नेपाल र बेलायत सरकारका प्रतिनिधिहरुबीच बुधबार प्राविधिक तहमा वार्ता भएको छ ।
भूतपूर्व ब्रिटिस गोर्खाका माग सम्बोधनका लागि लन्डनस्थित नेपाली दूतावासमा दोस्रो वार्ता भएको हो । यसअघि ३ नोभेम्बरमा मन्त्रिस्तरीय वार्ता भए पनि यसपटक दुवै देशका सरकारी कर्मचारी र गोर्खा प्रतिनिधिहरुले विस्तृतरुपमा छलफल गरे । भूतपूर्व गोर्खाका लागि ब्रिटिस सैनिकसरह समान पेन्सन, पूरक पेन्सन, अंगभंग भएका मृतकको परिवारका लागि एकमुष्ट भुक्तानी, कल्याणकारी कार्यलगायत एजेन्डामा छलफल भएको वार्तामा सहभागी दूतावासकी उपनियोग प्रमुख रोशन खनालले जानकारी दिइन् ।
उनले भनिन्, ‘प्राविधिक तहमा लामो छलफल भयो । पेन्सनअन्तर्गत गट्स र जिपिएसमा छलफल केन्द्रित थियो । उहाँहरु सकारात्मक हुनुहुन्छ । हामी सबै समेटेर प्रतिवेदन माथि दिन्छौँ भन्नुभएको छ ।’अर्को वार्ता फेरि डिसेम्बर दोस्रो सातासम्म गर्ने बताइएको छ ।
दिउसोँ साढे २ बजेदेखि झण्डै दुई घण्टा चलेको वार्तामा नेपाल सरकारका तर्फबाट दूतावासकी उपनियोग प्रमुख रोशन खनाल, द्वितीय सचिव रामबाबु नेपाल, ब्रिटिश रक्षा मन्त्रालयबाट आर्मर्ड फोर्सेस पिपुल सपोर्ट डिभिजनका जेम्स ग्रीनरड, जेनेभिभ होर्स्टेड, जेन्ना क्लेयर, म्याथ्यू लियोन, ब्रिगेड अफ गोर्खाज हेडक्वार्टरका कर्णेल डेभिड रविन्सन, इन्टरनेशनल पोलिसी एन्ड स्ट्राटेजीका स्क्वाड्रोन लिडर गेभिन रिचार्डसन र आर्मर्ड फोर्सेस पारिश्रमिक विभागकी नाजिया लोधी गोर्खा प्रतिनिधित्व गर्दै अवकासप्राप्त मेजरहरु जुदबहादुर गुरुङ, उदयबहादुर गुरुङ र टिकेन्द्र दल देवान सहभागी थिए ।