लन्डन । लन्डनस्थित केम्पर्टनपार्कमा आगामी २५ अगस्ट २०२४ मा हुने १५औँ नेपाली मेलाको तयारी पूरा भएको छ । आयोजक तमु धीं यूकेले आइतबार मिचेटस्थित आफ्नै भवनमा पत्रकार सम्मेलनमार्फत मेलाको तयारीबारे जानकारी गराएको हो ।
लन्डनस्थित नेपाली राजदूतावासको सहकार्यमा तमु धीं यूकेले आयोजना गर्ने मेला बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुनेछ । आयोजक तमु धीं यूकेका अध्यक्ष हरि गुरुङले यस पटकको मेलामा केही फरकपन दिने लक्ष्य रहेको र सोहीअनुरुप फरक झाँकी, रुट, स्टेजसमेत परिवर्तन गरिएको बताए ।
मेला सबै बेलायतवासी नेपालीको भएकाले उपस्थित भएर सफल पार्न सबैमा उनले अनुरोध गरेका छन् । मेलामा सात हजार दर्शक सहभागी हुने आयोजकले अपेक्षा गरेका छन् । मेला संयोजक तथा उपाध्यक्ष परशु गुरुङका अनुसार मेलामा विभिन्न मौलिक झाँकी र नृत्यका लागि बेलायतस्थित ४२ नेपाली संघसंस्थाले सहभागिता जनाउने छन् ।
उनले मेलाको बारेमा ‘स्लाइड सो’ प्रेजेन्टेसन गरेर जानकारी गराएका थिए । मेला सम्पन्न गर्न करिब ३९ हजार पाउन्ड खर्च अनुमान छ । यसैगरी, विभिन्न प्रायोजक, दाता तथा प्रवेश शुल्कमार्फत ४३ हजार पाउन्ड आम्दानी हुने उनले जनाए ।
उत्कृष्ट झाँकी र नृत्य प्रस्तुत गर्ने समूहलाई १ हजार १०० पाउन्डको एम्बासडर कप प्रदान गरिने छ । उक्त पुरस्कार लन्डनस्थित नेपाली दूतावासले प्रायोजन गर्नेछ । यसैगरी, रनरअपले ७०० र सेकेन्ड रनरअपले ५०० पाउन्डसहित प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् ।
झाँकीमा वा नृत्यमा मात्र उत्कृष्ट प्रदर्शन गर्ने समूहलाई ५०० पाउन्ड, रनरअपलाई ३०० पाउन्ड र सेकेन्ड रनरअपलाई २०० पाउन्ड नगदसहित प्रमाणपत्र र मेडल प्रदान गरिनेछ ।
एम्बासडर कप विजेतालाई एनआरएनए कपसहित ३०० पाउन्ड प्रदान गरिने पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । मेलाको अर्को आकर्षणका रूपमा रहेको राफल ड्र मा ३००, २०० र १०० पाउन्ड पुरस्कार राखिएको छ । मेला हेर्न १२ वर्षभन्दा माथिकालाई ५ पाउन्ड, कार पार्किङका लागि ५ पाउन्ड शुल्क तोकिएको छ । १२ वर्ष मुनीका बालबालिकालाई भने प्रवेश शुल्क लाग्नेछैन ।
मेलामा नेपाली खाना, हस्तकला, पोसाक, गरगहना, खाद्य सामग्री जस्ता विभिन्न नेपाली उत्पादनका ५० वटा व्यापारिक स्टल रहने र यो अझ बढ्ने आशा गरिएको उनको मेला संयोजक तथा उपाध्यक्ष गुरुङले जानकारी दिए ।
मेलाले बेलायतको नेपाली समुदाय र संघसंस्थाबीच सम्बन्ध प्रगाढ बनाउन एवं स्थानीय समुदायमा नेपाली कला, संस्कृति, रहनसहन र परम्परा चिनाउन मद्दत पुगेको पनि उनले बताए । मेलामार्फत नेपाली कला संस्कृति, भेषभूषा दोस्रो पुस्तामा हस्तान्तरण गर्ने उद्देश्य रहेको छ । आपतकालीन अवस्थामा प्राथमिक उपचार र सुरक्षा व्यवस्था मिलाइएको छ।
पत्रकार सम्मेलन संस्थाका महासचिव डा. विशाल गुरुङले सञ्चालन गरेका थिए । वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले स्वागत मन्तव्य राखेका थिए । मिडिया सेक्रेटरी एसके गुरुङले उपस्थित पत्रकारलाई परिचय गराए । संस्थाका अध्यक्ष र आमा समूहकी अध्यक्ष सन्ध्या गुरुङले पत्रकारहरूलाई मायाको चिनो प्रदान गरेका थिए ।
सो अवसरमा तमु धीं यूकेले नेपाल पत्रकार महासंघ यूकेको नवनिर्वाचित अध्यक्ष विमला सेनेसहित कार्यसमितिलाई रूपमा स्वागत तथा सम्मान गरेको थियो । यसैगरी, नेपालबाट आएकी नेपाल प्रेस युनियनकी उपमहासचिव दिलिपाश्री अधिकारी, इन्टरनेसनल ट्रेनर एन्ड कोच इन्द्रबहादुर गुरुङ, साइकोलोजिस्ट एन्ड इनर्जी हिलर राजिश्वरी श्रेष्ठ गुरुङ र छोरा आकाशा हिलर रोनाल्ड गुरुङ तथा कलाकार लक्ष्मी गुरुङलाई पनि सम्मान गरिएको थियो ।
तमु धीं यूकेले मेला सम्पन्न गर्न उपाध्यक्ष परशु गुरुङको संयोजकत्वमा ७० जना रहेको आयजक समिति गठन गरेको थियो । अन्त्यमा पत्रकारले राखेको जिज्ञासाको संयोजक र अध्यक्षले जवाफ दिएका थिए ।
मेलाका प्रमुख प्रायोजकहरू नेपाली बियर, भरान हेल्थ केयर, एनआरएनए यूके, वाईबीसी, मोमो स्टेसन, गोर्खा ग्रोसरी, होली काउ, मोमो किङ, आईआरओ सुसी, कभी कफी रहेका छन् ।
सो अवसरमा तमु धीं यूके संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, पूर्वअध्यक्ष एवं एनआरएनए यूके अध्यक्ष हितकाजी गुरुङ, पूर्व अध्यक्षहरू ज्ञाम गुरुङ र नन्दजंग गुरुङ, एनआरएनए आइसीसी सल्लाहकार सूर्य गुरुङ तथा आइसीसी सदस्यहरू ले.रि. चन्द्रबहादुर गुरुङ र दिलरास गुरुङ, काउन्सिलर धनबहादुर सार्कीसहित तमु धीं यूकेका ट्रस्टी, सल्लाहकार, आमा समूहका अध्यक्ष सन्ध्या गुरुङ तथा पदाधिकारी, इकाई समिति अध्यक्षलगायत सहभागी थिए ।
तमु धीं यूकेले लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा सन् २००९ देखि ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नाराका साथ मेला गर्दै आएको छ । पत्रकार सम्मेलनमा दुई दर्जनभन्दा बढी पत्रकारको उपस्थिति थियो ।
यो पनि पढ्नुहोस्:
बेलायतमा हुने १५औँ नेपाली मेलाको तयारी अन्तिम चरणमा: संयोजक गुरुङ
नेपाली मेलाको तयारी ८० प्रतिशत पूरा भइसकेको छ : हरि गुरुङ [अन्तर्वार्ता भिडियोसहित]
१५औँ नेपाली मेलाबारे नेपाली दूतावास र तमु धीं युकेबीच अन्तरक्रिया
गोर्खाकपको समीक्षा र नेपाली मेलाको पूर्वतयारीबारे तमु धीं यूकेको बैठक