लन्डन । तमु धीं यूकेको आयोजनामा गत २६ मेमा सम्पन्न गोर्खाकपको समीक्षा र २५ अगस्टमा हुन लागेको नेपाली मेलाको पूर्वतयारीबारे बैठक सम्पन्न भएको छ । आइतबार तमु धीं यूकेको आफ्नै भवनमा अध्यक्ष हरि गुरुङको अध्यक्षतामा बैठक बसेको हो ।
महासचिव डा. विशाल गुरुङले सञ्चालन गरेको बैठकमा वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले स्वागत मन्तव्य राखेका थिए । अध्यक्ष गुरुङले बैठकको महत्वबारे जानकारी दिएका थिए ।
पहिलो चरणमा गोर्खाकपको समीक्षा रिपोर्ट संयोजक तथा खेलकुद सचिव क्याप्टेन दीपक घलेले पावर प्वाइन्टमार्फत प्रस्तुत गरेको थिए । संस्थाका कोषाध्यक्ष दिलमाया गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । त्यसपछि अध्यक्ष र संयोजकले उपस्थित भएका सदस्यहरूले राखेका जिज्ञासाको जवाफ दिएका थिए । अध्यक्षले पहिलो चरण कार्यक्रम समापन गरे ।
दोस्रो चरणमा २५ अगस्टमा क्याम्प्टन पार्क रेसकोर्स लन्डनमा आयोजना हुन गइरहेको नेपाली मेलाको पूर्वतयारीबारे संयोजक तथा उपाध्यक्ष परशु गुरुङले पावर प्वाइन्ट प्रस्तुति गरे । प्रस्तुतिपश्चात् बैठकमा उठेका जिज्ञासा र सल्लाह सुझाव आदानप्रदान भएको थियो ।
त्यसपछि अध्यक्ष गुरुङले उपस्थित सबैलाई धन्यवाद दिँदै बैठकलाई समापन गरेको संयोजक तथा उपाध्यक्ष परशु गुरुङले जानकारी दिए ।
बैठकमा भव्य रूपमा गोर्खाकप सम्पन्न गराउने संयोजक तथा खेलकुद सचिव घलेलाई अध्यक्ष गुरुङले खादा र क्रेगी लगाएर बधाई दिएका थिए । नेपालबाट आएका लोकदोहोरी गायक राजन गुरुङ र उनकी धर्मपत्नीलाई पनि अध्यक्ष र आमा समूहकी अध्यक्ष सन्ध्या गुरुङले सम्मान गरेका थिए ।
सो अवसरमा अध्यक्ष हरि गुरुङ र आमा समूहकी अध्यक्ष सन्ध्या गुरुङको वैवाहिक बन्धन जोडिएको ३३ वर्ष पूरा भएको अवसरमा केक काटेर शुभकामना प्रदान गरिएको थियो ।