आस्फोर्ड । भूपू ब्रिटिस गोर्खा सेना रामबहादुर बुरामगरको अन्त्येष्टि गरिएको छ । आस्फोर्डस्थित चेरिङ क्रिमिटोरियममा १२ जुलाई २०२४ गते भूपू ब्रिटिस गोर्खा सेना रामबहादुरको अन्त्येष्टि गरिएको हो । त्यसक्रममा मलामीहरुको बाक्लो उपस्थिति थियो ।
अन्त्येष्टि कार्यक्रमको सम्पूर्ण अभिभारा मगर संघ केन्ट ब्रान्चका अध्यक्ष क्या. नानीबाबु मगर र समितिका सदस्यहरुले सम्हालेका थिए । स्व. बुरामगरको पार्थिक शरीरलाई क्यारिजमा राखेर हिँडाउँदाको दृश्य मन छुने खालको थियो । ब्रिगेड अफ गोर्खाजको सबैभन्दा धेरै भर्ती भएको ईन्टेक भएर होला, १०० जनाभन्दा बढी नम्बरीहरु नै देखिन्थे ।
क्यारिजबाट बिस्तारै २ छोरा र आफन्तहरुले कफिनलाई बोकेर, ब्याक पाईपको धूनसँगै क्रिमिटोरियम हलमा लगियो । भन्ते गुरुको मन्त्र वाचनपछि कार्यक्रम क्या. नानीबाबुले संचालन गरेका थिए । स्व. भेनाज्यूकाबारे क्या. जितबहादुर घर्तीले बोलेका थिए । नम्बरीका अध्यक्ष दिलबहादुर जीसीले बोल्ने क्रममा धेरै भावुक भएर छोटोमा मन्तव्यमै सकाए । स्व. बुरामगर ६ गोर्खा राफल्सका चर्चित खेलाडी थिए ।
नब्बेको दशकमा उनले विभिन्न दौडहरुमा भाग लिएर थुप्रै मेडलहरु हात पारेका थिए । ६ गोर्खाको बी कम्पनीमा कार्यरत थिए । उनको तत्कालीन प्लुटन कमान्डर कमान्डर क्या. डेमबहादुर गुरुङसँग गोर्खा मिडियाले सोधेको थियो,'तपाईंको एक कर्मठ र नामी खेलाडी रामबहादुरको अल्पायुमा निधन भयो, कस्तो लागिरहेछ ?
क्या. डेमबहादुर, 'धेरै याद छ, म सँग रामको । धेरै दुःख लाग्यो । चाहेर पनि फ्यूनरलमा उपस्थित हुन सकिनँ । कारण म बाहिर थिएँ । आग्लो, लामो खुट्टा भएको अति राम्रो दौडिने जवान । रामको बेलामा पल्टनकै नाम कहलिएको थियो । क्रसकन्ट्री अति राम्रो कुद्थ्यो । खदरेश पनि राम्रो थियो । ईन्टर युनिट, मेजर युनिट, ल्यान्ड फोर्सेस च्याम्पियनसिपहरुमा धेरै भाग लिएर पल्टनको नाम रोशन बनाएका थिए । युके आएपछि पनि फोनमा कुराकानी भैरहन्थ्यो । पल्टनको मात्रै नभएर चितवनमा हाम्रो घर पनि नजिकै थियो । उहाँजस्तो व्यक्तिको निधनले अति नै मर्माहित छु ।'
नम्बरी बलबहादुर थापाका अनुसार राम असल तेक्वान्दो खेलाडी पनि थिए । ब्ल्याकबेल्ट डान वानसम्म गरेका थिए । स्व. रामबहादुरको उपचार हुँदै गर्दा विलियम हार्भी हस्पिटल, केन्टमा ६३ वर्षको उमेरमा गत जून २५ का दिन देहान्त भएको थियो । परिवारमा श्रीमती, २ छोरा र बुहारी छन् ।
१९८० सालमा भर्ती भएका "ईन्टेक १९८०" मा ब्रिगेडकै इतिहासमा ६५६ जना भर्ती (सबैभन्दा धेरै) भएर रेकर्ड तोडेका थिए । त्यसैगरी स्व. रामबहादुरको अन्त्येष्टि कार्यक्रममा पनि नम्बरीहरु कोच नै बुक गरेर १०० जनाभन्दा बढी उपस्थित भए । भूपू ब्रिटिस गोर्खाहरुको कुनै पनि नम्बरीको फ्यूनरलमा त्यत्ति धेरै नम्बरीको जमात विगतमा कहीं नदेखिएको सहभागीले बताएका छन् ।