लन्डन । अल्डरसट फुटबल क्लबमा ब्रिटिस भेट्रेन र रशमोर इलाकामा रहेका लेबर पार्टीमा आबद्ध भूपू आर्मफोर्सेस रिटार्यड भेट्रेन तथा लेबर पार्टीका नेता साथै बेलायतका सम्भावित प्रधानमन्त्री सर केयर स्टारमरसँग जलपान समारोह भएको छ ।
प्रत्यक्ष जलपान समारोहसँगै ब्रिटिस भेट्रेनहरू ५ वटा टेबलमा र गोर्खा भेट्रेनहरू एउटा टेबलमा गरि ६ वटा राउन्ड टेबल राखिएको थियो । स्टारमरले हरेक टेबलमा पुगेर छलफल गरेका थिए ।
ब्रिटिस गोर्खा भेट्रेनका तर्फबाट तीन जनालाई आमन्त्रण गरिएको थियो। एनआरएनए आईसीसीका सदस्य तथा गोर्खा टास्क फोर्स चिफ कोअर्डनेटर ओमप्रसाद थापा काउचा, ग्रेटर रशमोर नेपाली कम्युनिटीका उपाध्यक्ष उत्तर गुरुङ र ९३ वर्षीय ले.रि. पूर्णबहादुर गुरुङलाई आमन्त्रण गरिएको थियो ।
सोही अवसरमा उत्तर गुरुङले रशमोरबासी गोर्खा नेपाली कम्युनिटीको विषयमा कुराहरू राखेका थिए । ओमप्रसाद थापा काउचाले गोर्खाहरूबारे अहिले चलिरहेको दुई सरकारबीचको वार्ताप्रति वर्तमान सरकार गम्भीर नभएको बताए । गोर्खाहरूको असमान पेन्सन, वेलफेयर, इमिग्रेसनलगायत विषयमा पनि कुरा राखेका थिए ।
ब्रिटिस गोर्खा नेपाली कम्युनिटीले गोर्खाहरूको सेटल्मेन्ट अधिकार तत्कालीन प्रधानमन्त्री टोनी ब्लेयरका पालामा घोषणा भएको कुरा कहिल्यै नभुल्ने थापाले बताए । लेभर पार्टीले गोर्खाहरूप्रति केही भए पनि न्याय हुने काम गरेको र आगामी निर्वाचनमा बहुमतसहित विजयीका लागि शुभकामना दिए । आवासीय भिषाका लागि हालमा लाग्ने शुल्क कटौती गर्नेबारे पनि गम्भीर छलफल भएको थियो ।
अल्डरसट, फान्ब्रो क्षेत्रमा लेबर पार्टीका उम्मेदवार एलेक्स बेकर र यही क्षेत्रबाट १०९ वर्षसम्म एकछत्र अधिकार जमाएका कन्जरभेटिभ पार्टीको उम्मेदवार लियो डकर्टीबीच कडा प्रतिस्पर्धा हुने सम्भावना छ । दुवै नेताहरूको समर्थनमा नेपालीहरूको विभाजन देखिन्छ । सो क्रममा प्रमुख अतिथिलाई अल्डरसट फुटबल रंगशाला अवलोकन गराइएको थियो । त्यसपछि जलपानका साथ कार्यक्रम सम्पन्न भएको थियो ।